नेपाली समाजको विकासक्रमसँगै धर्म प्राप्तिको लागि भएपनि हाम्रा पुर्खाले बाटो, घाटो, भरिया बास बस्ने स्थान, पानीका मूल मुहान आदिमा पिपल, बर, स्वामी, मेल लगायत जातका बिरुवा लगाउने र चौतारी बनाउने कार्यहरू प्रशस्तै थिए जुन कुरा हाम्रो समाजका लागि धार्मिक तथा पवित्र कार्य मानिन्थ्यो। वर, पिपल र स्वामीको विवाह गर्ने शनिबारको दिन बिहान बिहान गएर पिपलको फेदमा पानी चढाउने कार्यले बिरुवा हुर्काउन र बढ्नलाई मद्दत पुगेको हुन्छ भने पिपलको फेदमा धागोले बाँधिएकोले बोक्रा निकाल्न काट्न हुँदैन भनेर भनिन्थ्यो।
प्राकृतिक संरक्षणको लागि धर्मसँग जोडेर पूजा गर्ने चलन थियो। ताल, पोखरी, बोटबिरुवा संरक्षणको लागि धार्मिक कार्यको रुपमा थियो। जीवमा सर्प, पंक्षी आदिको पूजा गरेर प्रकृतिक प्रतिको आस्थालाई धर्मसँग जोडिएको छ। जुन समयमा मानिस कानुन, विज्ञान लगायतका विषय भन्दा धर्मको नामले बढी विश्वास गर्ने गर्थे। यसरी प्राचीन सभ्यतादेखि मानिसले जैविक विविधता, पारिस्थितिक प्रणाली, खाद्य चक्र र वातावरणीय सेवा लगायतका विषयमा मानव समुदायको लागि अपरिहार्य भएको कुरा धार्मिक कार्यको नामले प्राकृतिक संरक्षणमा गरिने कार्यले प्रष्ट पारेको छ।
वेदमा पनि उल्लेख गरिएको छ ‘त्यो वृक्ष जसले आफ्ना पातसहितको बोझ उठाउँदै प्रचण्डकर्मीको ताप र शीतको पीडालाई पनि सहन गर्दछ र अर्काको सुखको लागि आफ्नो शरीर अर्पण गर्दछ।’ त्यस बन्दनी तरु वृक्षलाई नमस्कार छ। भनेर हाम्रा धर्म ग्रन्थका माध्यमबाट पनि बोट बिरुवा, सिमसार, ताल, पोखरी, जीव, वनस्पति, वृक्ष लगायतलाई बचाउनु पर्दछ जसमा हामी मानव समुदायको जीवनको लागि अपरिहार्य भएको कुरा प्रष्ट पारिएको छ।
वर्तमान अवस्थामा वृक्षारोपण कार्यलाई सरकारी स्तरबाट, गैरसरकारी संस्था, स्थानीय समुदाय र व्यक्तिगत रुपमा पनि वृक्षारोपण मार्फत वन क्षयीकरण र वन विनाशलाई न्यूनीकरण गर्ने कार्यले प्राथमिकता पाएको छ। वृक्षारोपण गर्दा यथास्थिति प्रणाली र परम्परागत शैलीबाट हुने गरेका वृक्षारोपण भन्दा वर्तमान अवस्थाको आवश्यकता अनुसार वृक्षारोपणलाई केही सुधार गर्नुपर्ने देखिन्छ यस वर्ष यति धेरै बिरुवा रोपियो भन्दा पनि गतवर्ष रोपिएको बिरुवाको अवस्था के छ? भन्नेतिर पनि ध्यान दिनुपर्ने र विगतको निर्णय र वृक्षारोपणको स्थानको अवलोकन र समीक्षापछि मात्र वृक्षारोपणको नयाँ योजना बनाउँदा राम्रो होला कि? तसर्थ प्रक्रियामुखी अभियान भन्दा पनि परिणाममुखी हुनुपर्दछ।
खाद्य वनस्पति बिरुवाको संरक्षण तथा वृक्षरोपणः
हालसम्म अधिकांश स्थानमा मसला, सिसौ, टिक, बकाइनो, लहरे पिपल लगायत जातका बिरुवाहरू रोप्ने गरिएको पाइन्छ यसले गर्दा वन क्षेत्र हरियाली हुन्छ, वन अतिक्रमणमा न्यूनीकरण हुन्छ। तर जंगली जनावर, चरा अन्य जीवजन्तुको लागि वन वास मात्र भयो उनीहरुको गाँस नभएको कारणले गाउँ बस्ती घर आँगनमा समेत आएर कृषकको खाद्यबाली नष्ट गर्न थालेको पाइन्छ। बाँदर, बधेल, न्याउरी मुसा, मयुर लगायतका वन्यजन्तुले निकै दुःख दिएको कारण समुदायले आफ्नो थातथलो समेत छोड्दै गएको घटना प्रशस्तै छन्। जसको लागि कुसुम, खनियो, जामुन सँगै फलफुलका बिरुवाहरू समेत बेलौती, आँप, कटहर आदि प्रशस्त लगाउन सके जनावारबाट हुने क्षति कम गर्न सकिन्छ। त्यसैगरी वन व्यवस्थापन गर्दा पनि वनको मुख्य प्रजाति साललाई मात्र संरक्षण गर्ने अरु प्रजाति क्या मुनो, बोट धाइरो, राजवृक्ष, साज आदिको कुकाठको नामले सबै काट्ने र सालको मात्र वन बनाउने प्रणालीले पनि अन्य वनस्पति हराउँदै, मासिदै र नासिदै गएका छन्। एउटै प्रजातिको वन बनाउँदा पनि कुनै दिन साल प्रजातिमा रोग देखा पर्यो भने साल मात्र भएकोले साल मर्ने र वन खाली हुने अवस्था पनि नहोला भन्न सकिन्न। कुनै समयमा नेपाल सरकारले सिसौको बिरुवा मात्र वृक्षारोपण गर्ने अभियान सञ्चालन गर्यो तर पछि सिसौमा व्यापक रोग देखा परेपछि सबै सिसौ मर्यो। त्यसबाट सरकार, निजी क्षेत्र र समुदायले समेत ठूलो क्षति व्यहोर्नु परेको घटनाबाट पनि वर्तमानमा पाठ सिक्नुपर्दछ। स्थानीय समुदायको धर्म संस्कृति मूल्य मान्यता समेतलाई ध्यानमा राख्दै वनस्पतिसँगको सम्बन्धलाई जोगाउनु पर्दछ जस्तै चेपाङ जातिको सम्बन्ध चिरी र चमेरो सँग रहेको पाइन्छ त्यसैगरी सिमसार क्षेत्रमा खाद्य वनस्पतिहरूमा जलुको, न्युरो लगायतका वनस्पति प्रशस्त पाइन्छन्। तिनीहरूको संरक्षण व्यवस्थापन गर्ने परम्परादेखि खाँदै बिक्री गर्दै गुजारा चलाउँदै आएका समुदायलाई त्यसको बिक्री वितरणको सुविधासहितको अधिकार दिने र पटेर लगायतको वनस्पतिबाट गुन्द्री, ढकिया( मौनी) लगायतका सामग्री बनाउन उत्प्रेरणा दिने र उत्पादनको लागि लगानी मैत्री वातावरण बनाउन हयोग पु¥याउनुपर्दछ। जसले गर्दा रैथाने बासीहरूको जीविकोपार्जनमा सुधार आउन मद्दत मिल्छ भने रैथाने वनस्पतिहरूको संरक्षण सहितको प्रवर्धनले दिगो विकास लक्ष्य पूरा गर्न पनि सहयोग पुर्याउँदछ। विकासको लागि पनि मिश्रित समुदायको बस्तीमा विकास छिटो र दिगो हुन्छ भने वनको विकासको लागि पनि मिश्रित वन हुनु स्वास्थ्य बन हो।
सिमसार तथा पानीको मुहान संरक्षण र स्रोत वृद्धि हुने खालका बिरुवा लगाउने :
नेपाल सरकारले सागरनाथ वन प्रयोजना अन्तर्गत मसला जातका बिरुवाहरू मात्र रोपण गरेको कारणले विशेषगरी बारा, पर्सा, रौतहड लगायतका जिल्लामा पानी मुहान सुक्ने इनारमा पानीको सतह वर्षायाममा समेत वृद्धि नहुने तराई मधेस राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको अध्ययनले समेत मसाला एकल जातको बिरुवाले पानीको मात्रा अत्याधिक शोषण गर्ने कारणले पानीको स्रोतमा कमी आएको कुरा स्वीकार गरेको छ। तसर्थ पानी मुहान मूल कुवा लगायतको आसपास सदाबहार खालका बिरुवा लगाउने जसले गर्दा जमिन मुनि चिस्यान कायम रहन्छ। जस्तै बर, पिपल, स्वामी लगायतका बिरुवा लगाउन उपयुक्त हुन्छ।
सिमसार क्षेत्र जैविक विविधताको लागि बढी महत्वपूर्ण क्षेत्र त्यस स्थानको अवस्थालाई राख्नुपर्दछ पंक्षी संरक्षणको हिसाबले पनि ताल घोल नदी पोखरीमा स्थानीय मात्र नभई पाहुना चरा पनि आउने भएकोले आन्तरिक पर्यटनको लागि पनि सिमसारलाई असर नगर्ने वनस्पतिहरूको वृक्षरोपण गर्नुपर्दछ। यस्तो संवेदनशील स्थान व्यवस्थापनको लागि विषय विशेषज्ञहरूको राय सल्लाहबाट वृक्षारोपण गर्न उपयुक्त हुन्छ र दिगो विकासमा पनि मद्दत पुग्दछ यस्ता स्थानहरुमा वन व्यवस्थापन गर्दा पनि झाडीसफाई बाहेकका कार्यहरू नगर्दा उचित हुन्छ।
लोपन्मुख प्रजातिको वृक्षारोपण :
स्थानीय समुदायको बुढापाकाहरूसँगको छलफलबाट पहिले भएका वनस्पति रुखहरू अहिले लोप हुन लागेका वा भइसकेकाको नाम संकलन गर्ने र तिनी प्रजातिहरूको बिउ बिरुवा संकलन गर्ने नर्सरी बनाउने र बिरुवा लगाउने काम पनि सुरु गर्नुपर्दछ। जस्तै सतिसाल, विजयशाल, चाप, बेल, सिमल, खयर, रक्त चन्दन, काठको भाडा बनाउने साधन लगायतका बिरुवा र गैरकाष्ठ वन पैदावार, जडीबुटीहरूको प्रजातिको बिउ बाट समेत नर्सरी बनाई व्यापक वृक्षरोपण गर्नुपर्ने समय भएको छ पहिचानको लागि मात्र नभई अबको पुस्तालाई व्यावसायिक उत्पादनको लागि समेत वन उद्यम सञ्चालनको लागि समेत कच्चा पदार्थको पर्याप्ततामा ध्यान दिनु आवश्यक छ। वन क्षेत्रमा भएका रहेका त्यस्ता दुर्लभ वनस्पतिहरुलाई दिगो संरक्षण संकलन विधि समेत उपभोक्तालाई जानकारी दिनुपर्ने हुन्छ। वृक्षरोपण गर्दा माटो, हावापानी, भिरालोपन, खुल्ला चरिचरण, डडेलो, बिरुवा चोरी हुने कुरालाई समेत अध्ययन गरेर मात्र वृक्षारोपण कार्य गर्नुपर्दछ। अन्यथा वृक्षरोपण गर्ने प्रक्रिया पूरा गर्ने अर्को वर्ष परिणाम खोज्दा शून्य हुने अवस्थाबाट पनि सचेत हुन पर्दछ।
नदी कटान, नदी उकास र भिरालोको लागि प्रजाति छनोट :
वृक्षारोपण गर्दा स्थान, ठाउँ, अवस्था र उम्रन सक्ने क्षमता लगायतका विषयलाई विस्तृत अध्ययन गरेर मात्र बिरुवा छनोट गर्नुपर्दछ। वृक्षारोपण गर्ने भनेर सबै ठाउँमा सबै प्रकारका एकै नाश एकै प्रजातिहरू रोक्नु हुँदैन। नदी कटान जस्तो स्थानमा सकेसम्म छिटो सार्ने अर्को वर्षको सानोतिनो भेलबाडीले पनि क्षति नपुर्याउने खालको बिरुवा लगाउनु पर्ने हुन्छ। नदी कटान जमिनमा तटबन्ध समेत हुनेगरी भविष्यमा कृषियोग्य भूमि र बस्तीलाई समेत सुरक्षा हुने खालका प्रजाति वनस्पति छान्नुपर्दछ। जस्तै काँस, बाँस, अम्रिसो, बाबियो लगायतका बिरुवा लगाउन सकिन्छ। वर्षाको समयमा बाढीले माटो बगाउनबाट रोक्नु प्रथम महत्त्वपूर्ण विषय हो भने फागुन चैतको हावाले माटोको माथिल्लो भाग उडाउनाले माटोको तल्लो भाग नरम तथा कमलो भएको कारणले वर्षमा माटो बगाउन बाडीलाई सजिलो हुन्छ त्यसको लागि माथिल्लो सतह बचाउनको लागि दुबो खर गाँस कांश बाँस अमृसो लगायतको गाँजलाई नै रोपण गर्नुपर्दछ। यस्तो जमिनलाई संरक्षण नगरेमा वर्षायाममा व्यापक धनजनको क्षतिको सामना गर्नुपर्ने हुन्छ अर्कोतर्फ वृक्षारोपण गरेर जमिन सुरक्षित भएपछि वन क्षेत्र नजिकका समुदायले अतिक्रमण पनि गर्न सक्ने भएकोले स्थानीय सरकारले नगर वन वा समुदायलाई संरक्षण र व्यवस्थापन गर्ने गरी सामुदायिक वनको रुपमा हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन ।
सौन्दर्य जातका बिरुवाको स्थापना :
पालिकाको बाटोको दुवैतिर स्थानीय समुदाय र पालिकाको सहकार्यमा सदाबहार र सौन्दर्य जातको फुलका बिरुवाहरू लगाउन अनिवार्य गर्ने पार्क, विद्यालय, मठ मन्दिर र सार्वजनिक स्थानमा समेत यस्ता बिरुवाको विकास गर्न सके बढ्दै गएको तापक्रमबाट आतिएका समुदायलाई छहारी बस्न पनि हुने हरियाली र सौन्दर्यको कारणले बस्तीहरू पनि रमणीय देखिन्छ। यस्तो कार्यक्रमका लागि व्यक्तिगत रुपमा घरका सदस्यलाई उनीहरूको मृत्यु भएका सदस्यहरूको नाममा मृतकको नाम, जन्म र मृत्यु मिति समेत उल्लेख गरेर एक एक वटा बिरुवा पार्क विद्यालय आदि स्थानमा लगाउन प्रोत्साहन गर्ने हो भने सरकारी लगानी पनि कम हुने र संरक्षण समेत प्रभावकारी हुने हुँदा यस्ता विषयमा स्थानीय सरकार, स्थानीय समुदाय र विद्यालयहरूले समेत योजना बनाउन थाल्नु पर्दछ
अन्तमा
स्थानीय समुदायले व्यावसायिक उत्पादन गर्दै गरेको व्यवसायलाई समेत टेवा पुग्ने गरी वनको पुनस्र्थापना गर्नुपर्दछ। जसले गर्दा व्यावसायिक उद्यमीलाई सहयोग पुग्नेछ। जस्तै व्यावसायिक मौरी पालन गर्ने कृषकको लागि चिउरी, लिची, कटहर लगायतका बिरुवा लगाउनाले मौरीले रस संकलनमा सहजता भई मह उत्पादनमा योगदान पुग्दछ भने पशुपालनको लागि मेन्दोला, भटमासे, इपिलि, बकाइनु लगायत डालेघाँस लगाउनाले बाख्रापालनमा मद्दत पुग्ने छ। जुन घाँस बाख्राको लागि प्रोटिनसहितको मिश्रित घाँसले बाख्रा उत्पादनमा वृद्धि हुन्छ। वन क्षेत्रको स्याउला काट्ने भाँच्ने काम समेत रोकथाम हुन गई वन क्षयिकरणमा न्यूनीकरण हुन्छ र वन अतिक्रमण समेत न्यूनीकरण हुन पुग्छ। व्यावसायिक पशु पाल्ने कृषकका लागि स्टाइलो, नेपियर लगायतका बहुवर्षीय घाँस उत्पादन गर्न सके पशुपालन व्यवसायलाई समेत राहतको महसुस गर्न सकिन्छ यसका लागि स्थानीय सरकार, वन कार्यालय, कृषि ज्ञान केन्द्र र पशुसेवा कार्यालयबाट संयुक्त योजना बनाई कार्यान्वयन गर्न सके स्थानीय स्वरोजगारलाई वृद्धि विकास गर्न सकिन्छ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाको नियमित विचार लेखक तथा ग्रिन फाउण्डेशन नवलपुरको अध्यक्ष हुन्।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१