चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ । गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती सरुवा गरिएको हो ।
प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड(ग) बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ । चनौली वितरण केन्द्रमा माग अनुसारको विद्युत सप्लाई हुन नसकेको भनेर केन्द्र प्रमुख श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।
प्राधिकरणको ब्यापक आलोचना भएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैं चितवन आएका थिए । साउन १२ गते चितवन आएका शाक्य समस्या भएको चनौली वितरण केन्द्र पुग्दा केन्द्र प्रमुख श्रेष्ठ जिल्लामा नै भएर पनि उपस्थित भएका थिएनन् ।
श्रेष्ठ कार्यालयमा नभएपछि शाक्यले अन्य इन्जिनियरहरुसँग अवस्थाको बारेमा जानकारी लिएका थिए । पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१