-अविनाश पन्थी , नेपालको अनुपम प्राकृतिक सुन्दरता, विविध भौगोलिक वनावट र समृद्ध-बहुल सांस्कृतिक सम्पदाले गर्दा नेपालमा पर्यापर्यटन (Ecotourism) को ठूलो सम्भावना रहेको छ।विश्वको सर्वोच्च शिखर सगरमाथादेखि पहाडका मनोरम दृश्य र तराईका समथर फाँटयुक्त घना जंगलसम्म फैलिएको जैविक विविधताले हरेक वर्ष हजारौं पर्यटकलाई आकर्षित गर्छ।पर्यापर्यटनले स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउन, प्राकृतिक वातावरणको संरक्षण गर्न र देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।तर, यसको दिगो विकासका लागि पर्याप्त पूर्वाधार र उचित नीतिगत मार्गदर्शन आवश्यक हुन्छ।
नेपालका प्रमुख पर्यटकीय गन्तव्य (खुम्बु क्षेत्र, अन्नपूर्ण सर्किट, चितवन राष्ट्रिय निकुञ्ज) मा रहेका इको-लज, होमस्टे र रिसोर्टहरूले पर्यटकलाई स्थानीय संस्कृति र वातावरणसँग घुलमिल हुने अवसर प्रदान गरेका छन्।सामुदायिक होमस्टेले स्थानीय अर्थव्यवस्थालाई प्रत्यक्ष टेवा पुर्याएको छ।आजकाल त झन् फार्म स्टेहरुमा आन्तरिक र बाह्य पर्यटकहरुको रुची बढ्दो छ।
नेपालमा पदयात्रा मार्गहरूको विस्तृत सञ्जाल छ। जुन विश्वभर प्रख्यात छन्।यी मार्गहरूमा चिया घर (Teahouses) र लजहरूको उपलब्धताले पर्यटकलाई सुविधा पुर्याएको छ।यद्यपि पर्याप्त पूर्वाधार निर्माण हुन सकेको छैन।सरकारले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरू स्थापना गरी जैविक विविधताको संरक्षणमा जोड दिएको छ।यी क्षेत्रहरूमा पर्यटकका लागि सूचना केन्द्र, गाइड सेवा र सुरक्षाका प्रबन्धहरू छन्।
पर्यटन विकासका क्षेत्रमा लगानी र आकर्षण बढ्दै गर्दा पर्यापर्यटनका लागि पूर्वाधारको विकास असमान देखिन्छ।शहरी क्षेत्र र लोकप्रिय पदयात्रा मार्गहरूमा तुलनात्मक रूपमा राम्रो पूर्वाधार (जस्तै: होटेल, लज, यातायात) भए पनि, दुर्गम र सम्भावित पर्यटकीय गन्तव्यहरूमा आधारभूत सुविधाको पनि अभाव छ। ग्रामिण पर्यटनमा भए गरेका वातावरणमैत्री पूर्वाधारको रुपरेखा बिगारेर कंक्रिटका संरचना बनाउने।सीमसार पोखरीहरुमा मोटर वोट चलाउने।प्राकृतिक पदयात्राका मार्गहरुमा सिमेन्टेड सिंडीहरुको निर्माण जस्ता कार्यहरुले गर्दा प्राकृतिक संरचनामा आकर्षित हुने पर्यटकको रुची कम हुँदै जान्छ।भने पर्यावरणमा समेत नकारात्मक असर हुने गरेको पाईन्छ।
दुर्गम क्षेत्रहरूमा अपर्याप्त सडक सञ्जाल र सिमित हवाई सेवाका कारण पर्यटकको पहुँचलाई कठिन बनाएको छ।यद्यपि मौसममा आधारित उडान रद्द हुनु सामान्य समस्या हो। धेरैजसो पर्यटकीय क्षेत्रमा स्वच्छ ऊर्जा र खानेपानीको अभाव छ।यसले वातावरणीय प्रभाव बढाउनुका साथै पर्यटकलाई असुविधा पनि हुन्छ। दुर्गम क्षेत्रहरूमा इन्टरनेट र मोबाइल सञ्जालको पहुँच सीमित छ। जसले पर्यटकको सुरक्षा र सूचनामा असर पार्न सक्छ। बढ्दो पर्यटकीय गतिविधिसँगै फोहोर उत्पादनमा वृद्धि भएको छ। विशेष गरी पदयात्रा मार्गहरूमा यसको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदूषण बढेको छ। पर्यापर्यटनसँग सम्बन्धित गाइड, स्थानीय उद्यमी र सेवा प्रदायकहरूमा आवश्यक तालिम तथा क्षमताको कमी जस्ता समस्याका कारण पर्यापर्टनको समय अनुकूल लाभ लिन सकिएको छैन।
नेपालको पर्यापर्यटनको दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधारको निर्माण र प्रवर्द्धन अत्यन्तै महत्वपूर्ण छ।यसले केवल पर्यावरणको संरक्षण मात्र गर्दैन, बरु दीर्घकालमा पर्यटन व्यवसायलाई नै दिगो र आकर्षक बनाउँछ।परम्परागत पूर्वाधार निर्माणले वातावरणमा नकारात्मक असर पार्न सक्छ। जस्तै: प्राकृतिक स्रोतको अत्यधिक दोहन, प्रदूषण वृद्धि र जैविक विविधतामा क्षति पुर्याउँछ। वातावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन सके यी चुनौतीहरूलाई सम्बोधन गर्दै पर्यटनको सकारात्मक प्रभावलाई बढावा दिन्छ।
पर्यामैत्री पूर्वाधार विकास:
इको-लज र होमस्टे निर्माणमा स्थानीय सामग्री, नवीकरणीय ऊर्जा (सौर्य ऊर्जा) र वर्षाको पानी संकलन प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्ने। प्रत्येक पर्यटकीय गन्तव्यमा प्रभावकारी फोहोर संकलन, पुनः प्रयोग र प्रशोधन प्रणालीको विकास गर्ने।प्लास्टिकको प्रयोगमा कडाई गर्ने। दुर्गम क्षेत्रमा सौर्य, लघु-जलविद्युत जस्ता नवीकरणीय ऊर्जा प्रविधिमा लगानी गर्ने।सौर ऊर्जा, लघु-जलविद्युत, र अन्य नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगले जीवाश्म इन्धनमाथिको निर्भरता घटाउँछ।यसले कार्बन फुटप्रिन्ट कम गर्नुका साथै दुर्गम क्षेत्रमा विद्युतको पहुँच सुनिश्चित गर्छ।
प्राकृतिक स्रोतको संरक्षण:
वातावरणमैत्री पूर्वाधारले निर्माण सामग्रीको छनोटदेखि लिएर दैनिक सञ्चालनसम्म प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोगमा जोड दिन्छ।ढुंगा, माटो, काठ जस्ता स्थानीय रूपमा उपलब्ध नवीकरणीय सामग्रीको प्रयोगले ढुवानी खर्च र कार्बन उत्सर्जन घटाउँछ।यसले स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ। वर्षाको पानी संकलन (Rainwater harvesting), ग्रेवाटर रिसाइक्लिङ्ग (Greywater recycling), र पानी बचत गर्ने प्रविधिहरूको प्रयोगले खानेपानीको अभाव हुने क्षेत्रमा ठूलो राहत दिन्छ। उदाहरणका लागि, पदयात्रा मार्गका लजहरूमा पानीको किफायती प्रयोग अपरिहार्य छ।
प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापन:
पर्यटकीय गतिविधिले फोहोर र प्रदूषण बढाउँछ।वातावरणमैत्री पूर्वाधार निर्माण हुन सके यसलाई सम्बोधन गर्छ। प्रभावकारी फोहोर व्यवस्थापन का लागि थ्री आर (Reduce, Reuse, Recycle) को सिद्धान्तमा आधारित फोहोर व्यवस्थापन प्रणाली, कम्पोष्टिङ, र सुरक्षित ढल निकास प्रणालीको स्थापनाले वातावरणलाई स्वच्छ राख्न मद्दत गर्छ। वातावरणीय मापदण्डहरूको पालना गरी प्रदूषण उत्सर्जन गर्ने सवारी साधन र उपकरणको प्रयोगलाई निरुत्साहित गर्ने।शान्त र स्वच्छ वातावरणले पर्यटकलाई अझ बढी आकर्षित गर्छ।
जैविक विविधता र इकोसिस्टमको संरक्षण:
पर्यावरणमैत्री पूर्वाधारले निर्माण र सञ्चालनका क्रममा जैविक विविधतामा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्छ। पूर्वाधार निर्माण गर्दा वन्यजन्तुको वासस्थान वा संवेदनशील इकोसिस्टममा क्षति नपुग्ने गरी योजना बनाउने।भूक्षय नियन्त्रणका लागि स्थानीय वनस्पतिहरू रोप्ने र जैविक विविधताको प्रवर्द्धनमा ध्यान दिने। प्राकृतिक भू-भागलाई सकेसम्म कम विचलित गर्दै, वातावरणसँग घुलमिल हुने गरी संरचनाहरू निर्माण गर्ने।
नीतिगत सुधार र नियमन:
संघीय, प्रादेशिक र स्थानीय सरकारबीच समन्वय गरी एकीकृत पर्यटन योजना तर्जुमा गर्ने।पर्यटकबाट लिइने शुल्क (जस्तै: प्रवेश शुल्क, पदयात्रा अनुमति शुल्क) लाई पूर्वाधार विकास र संरक्षणमा नै खर्च गर्ने। पर्यापर्यटनका गतिविधिहरूको वातावरणीय र सामाजिक प्रभावको नियमित अनुगमन गरी आवश्यक सुधार गर्ने।बर्ड वाचिङ, बटरफ्लाइ वाचिङ, वनस्पति अध्ययन जस्ता विशिष्ट रुचि भएका पर्यटकका लागि प्याकेज विकास गर्ने। स्थानीय संस्कृति, परम्परा, र चाडपर्वहरूलाई पर्यापर्यटनसँग जोडेर अद्वितीय अनुभव प्रदान गर्ने।
सुरुमा केही महँगो देखिए पनि, वातावरणमैत्री पूर्वाधारले दीर्घकालमा आर्थिक लाभ प्रदान गर्छ।ऊर्जा र पानीको कुशल प्रयोगले लामो समयमा सञ्चालन खर्च घटाउँछ। आजका धेरै पर्यटकहरू वातावरणीय रूपमा सचेत छन् र वातावरणमैत्री गन्तव्यहरूलाई प्राथमिकता दिन्छन्।यसले नेपालको पर्यापर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउँछ। वातावरणमैत्री गन्तव्यको रूपमा नेपालको छवि सुदृढ हुन्छ, जसले जिम्मेवार पर्यटनलाई आकर्षित गर्छ। वातावरणमैत्री पूर्वाधारले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउँछ। वातावरणमैत्री निर्माण प्रविधि र सञ्चालनका लागि नयाँ सीप र रोजगारीका अवसरहरू सिर्जना हुन्छन्। स्वच्छ वातावरण र प्राकृतिक स्रोतको संरक्षणले स्थानीय बासिन्दाको स्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउँछ। स्थानीय वास्तुकला र निर्माण प्रविधिलाई अपनाउँदा सांस्कृतिक सम्पदाको पनि जगेर्ना हुन्छ।
नेपाल, जहाँ प्राकृतिक सुन्दरता नै प्रमुख पर्यटकीय आकर्षण हो। त्यहाँ वातावरणमैत्री पूर्वाधारको विकास अपरिहार्य छ।यसले हाम्रो अनमोल प्राकृतिक सम्पदालाई जोगाउँदै पर्यटनबाट अधिकतम लाभ लिन मद्दत गर्छ र भावी पुस्ताका लागि पनि दिगो विकासको मार्ग प्रशस्त गर्छ। नेपालमा पर्यापर्यटनको भविष्य उज्ज्वल छ।यसलाई दिगो बनाउन तत्काल वातावरणमैत्री पूर्वाधार विकास र संरक्षणका उपायहरू अपनाउनु अपरिहार्य छ।स्थानीय समुदायलाई सहभागी बनाउने, वातावरणीय हिसाबबाट संवेदनशील हुने र बलियो नीतिगत ढाँचाले मात्र नेपालको पर्यापर्यटनलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धात्मक र दिगो बनाउन सक्छ।यसले प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताका लागि पनि पर्यटनको लाभ सुनिश्चित गर्नेछ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१