कावासाेती । मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आफ्नै घरमा भएको आगजनीपछि सामाजिक सञ्जालमार्फत हृदयविदारक अनुभूति सार्वजनिक गरेका छन्। देश अराजक र मानवीय विपत्तिमा परिरहेको अवस्थामा व्यक्तिगत रूपमा ठूलो क्षति व्यहोरे पनि उनले जनताको पक्षमा दृढ भएर उभिनुपर्ने बताउँदै आफ्नो पीडादायी अनुभव बाँडेका हुन्।
उनले भनेका छन्, “मेरा ९० वर्षे बुबा र २० महिनाको नातिलाई त्यो भयानक दृश्य नदेखाउन म प्रयत्नशील छु। मेरो धनभन्दा पनि इतिहासका सम्झनाहरू खरानी भए, जुन अब कहिल्यै देख्न वा पाउन सक्दिनँ।”
अधिकारिले दुःखको बीचमा पनि जनताको लागि सोच्ने संस्कारले आफूलाई बलियो बनाएको उल्लेख गर्दै भने, “म अभिभावक पनि हुँ। भित्र रोए पनि बाहिर हाँस्नु र हसाउनुपर्ने हुन्छ भन्ने सम्झेको छु।”
देशको अस्थिरता, भ्रष्टाचार, र युवाको पलायन नै हालको आन्दोलनको मूल जड भएको उनले स्पष्ट पारे। तर जेन्जी पुस्तालाई अघि सारेर विभिन्न शक्तिकेन्द्रले आन्दोलनलाई भड्काएको र अबोध विद्यार्थीलाई स्वार्थ पूर्तिका लागि प्रयोग गरेको आरोप पनि लगाए।
उनले भने, “आज मेरो घर जलेको मात्र होइन, त्यो मध्यबिन्दुका जनताको पनि घर थियो। समाजमा भाइचारा र मानवता हराउँदै गएको छ।”
माओवादी विद्रोहसँग तुलना गर्दै उनले अहिलेको आन्दोलन नेतृत्वविहीन र अराजक रूपमा अघि बढेको बताए। जनप्रतिनिधि स्वयंले उत्तेजित अभिव्यक्ति दिँदा अवस्था झन् बिग्रिएको उनको भनाइ छ।
अन्त्यमा नगर प्रमुख अधिकारीले सबैलाई मुलुकलाई सहि दिशातर्फ लैजान सहयोग गर्न अनुरोध गर्दै भने, “यदि आज देश संकटमा गयो भने युगौंसम्म जेन्जी पुस्तामाथि दोष देखाइनेछ र शक्तिकेन्द्रले हाम्रो सार्वभौमसत्ता तहसनहस बनाउनेछन्।”
उनले आफ्नो सन्देशमा “जय देश, जय नेपाली, जय मानवता” भन्दै अपीलसमेत गरेका छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१