अनि तपाईं आफै भन्नुहुनेछ–‘लकडाउन’लाई धन्यवाद !


लक्ष्मी प्रसाद पंगेनी

हामीले नेपालबन्द निकै भोग्यौं । वाक्कदिक्क हुने गरी । त्यसैले नेपालबन्द हाम्रो लागि कुनै नौलो विषय भएन । तर अहिले विश्वमा फैलिएको ‘कोविड–१९ अर्थात् कोरोना भाइरस’को महामारीका कारण नेपाल लगायत विश्वका धेरै देश ‘लकडाउन’ अर्थात् बन्दाबन्दीको अवस्थामा छ । यो ‘लकडाउन’ भने हाम्रो लागि नौलो विषय बनेर आयो । अहिले हामी घरभित्र थुनिएर रहेको अवस्था छ । अत्यावश्यक सेवाबाहेक उद्योग, कलकारखाना, यातायात, कार्यालय ,व्यवसाय , शिक्षालय आदि बन्द छन् । हालसम्म यो महामारीको औषधी बनिनसकेको कारण मानिसहरुलाई यसले आतंकित बनाएको छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका वैज्ञानिकहरु यो रोगको औषधीको खोजीमा छन् । विभिन्न परिक्षणहरु भैरहेका छन् । तथापि सफलता हात परिसकेको छैन । चिकित्सक तथा विज्ञहरुले शरीरको रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमता वृद्धि, आत्मबल वृद्धि, सरसफाईमा जोड, पौष्टिक खानेकुरामा जोड, जीवनशैलीमा परिवर्तन जस्ता सुझावहरु यो रोगसंग लड्ने उपायहरुको रुपमा प्रेषित गरेको पाइन्छ ।
यो लेख तयार पार्दासम्म कोरोना भाइरसको कारण नेपालमा कसैको पनि मृत्यु भैसकेको छैन । अझै पनि हामी सुरक्षित नै छौं । तथापि सुरक्षात्मक उपाय भने अबलम्बन गर्न नितान्त जरुरी छ । यो ‘लकडाउन’ समयमा सबै नेपाली आफ्नै घरमा सुरक्षित बस्नुपर्ने हुन्छ । यो निषेधाज्ञा नेपालीको, नेपालीद्वारा नेपालीहरु कै लागि हो भनेर बुझ्नु पर्छ । अति जरुरी काममा बाहेक घर बाहिर निस्कनु हुन्न । कसैको घरमा पाहुना लाग्न वा कतै घुम्न पनि निस्कन हुँदैन । यदि तपाइँ सिमा नाकाबाट स्वदेश आउंदै हुनुहुन्छ भने सरकारले तोकेको निश्चित ‘क्वारेन्टाइन’ स्थलमा निश्चित समय बस्नु पर्छ । भागेर अन्यत्र जाने प्रयास गर्नु हुँदैन । सरकारले हाम्रै लागि यो काम गरेको हो भनेर बुझ्नुपर्छ । सरकारलाई सहयोग गर्नु नागरिकको मुख्य भूमिका पनि हो । यस विषम परिस्थितिलाई सामना गर्न हामी सबैको पहल र साथ सहयोग आवश्यक पर्दछ । हामीले कोरोना भाइरसका सम्वन्धमा जानकारी लिनुपर्छ तर अनावश्यक हल्लाको पछि भने लाग्नु हुँदैन ।

यी तथ्यहरुलाई मनन गरौँ
कोरोना भाइरसको संक्रमणबाट बच्न हामी आफै सजग हुन जरुरी छ । भिडभाडमा जान हुँदैन । बाहिर जानै परे मास्क अनिवार्य लगाउनुपर्छ । नियमित व्यक्तिगत सरसफाईमा अत्यन्त ध्यान दिनुपर्छ । शाकाहारी भोजनको सेवन गर्नुपर्छ । कोरोना भाइरस सङ्क्रमितमध्ये ९० प्रतिशत उपचारपछि घर फर्केका छन् । त्यसैले यो रोग लाग्ने वित्तिकै सबै सङ्क्रमित सबै मर्दैनन् । त्यसैले आत्मबल बढाउनुस् । शारिरिक सक्रियता बढाउनुसु । यसको लागि नियमित बिहान योग, ध्यान, प्राणायाम, व्यायाम गरौँ । नियमित उमालेको मन तातो पानी पिउनुस् । सकारात्मक बन्नुसु । समस्यालाई सामान्यरुपमा लिनुस् । जस्तै विपत आउँछ, जान्छ, विगतमा भूकम्प आयो अनि गयो तर सुरक्षाको पूर्व तयारी भने गर्नुपर्छ । एउटै घटनालाई बारम्बार मस्तिष्कमा दोहोर्याईरहंदा यसले झन् असर पार्नसक्छ । शरीरको प्रतिरोधात्मक शक्ति बढाउन तुलसी, कागती, मरिच, अदुवा, बेसार, ज्वानो, जिम्मु, दालचिनी, असुरो, तेजपत्ता, आदिको काँडा वा झोल बनाएर पिउन सकिन्छ । पोषिलो भनिने खानेकुरा खाँदैमा एकाएक हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति बढ्ने होइन । तिनीहरुलाई मिलाएर नियमित सन्तुलित किसिमले सेवन गर्नुपर्छ । विश्वमा मानिस खान नपाएर होइन खान नजानेर रोगी भएका छन् भन्ने कुरो बुझ्नुस् ।
प्रकृतिलाई दोहन होइन, यसको संरक्षण र प्रवर्धन गर्दै यसको सदुपयोग गरौँ । प्रकृतिका सबै जीवजन्तु, प्राणीको उत्तिकै महत्व र अस्तित्व छ । यिनको संरक्षण गरौँ । अहिले मानिसले आधुनिकताको नाममा जे पनि गर्ने अनि जे पनि खाने गरेका छन् । यो धर्तीमा पाइने सबै जीवलाई बाँच्ने अधिकार छ । हाम्रो स्वार्थको कारण तिनीहरुलाई मार्न र खान हुन्न भन्ने कुरा बुझ्नुपर्छ । जथाभावी र जे पायो त्यही खाए कै कारण आज मानिसले यो महामारी खेप्नु परेको हो । साना भुसुनादेखि ठूलाठूला जीवजन्तु तथा वनस्पति पारिस्थितिक प्रणाली सन्तुलन राख्न उत्तिकै महत्वपूर्ण छन् । प्राकृति माथि विजय प्राप्त गर्दै गर्दा जलवायु परिवर्तन र यसको असर संगसंगै आएको छ । विकास र आविष्कार संगसंगै विनास अएको छ । जब हामीले हाम्रो जीवनशैली र व्यवहारलाई नाटकीय परिवर्तन गर्न सक्दैनौ, यस्ता समस्याहरु बारबार रोहोरिरहने छन् । सोच्नुस् त– प्लेग रोग कसरी आयो ? एड्स रोग कसरी आयो ? सास भाइरस कसरी आयो ? जीका भाइरस कसरी आयो ? इबोला भाइरस कसरी आयो ? डेंगु कसरी आयो ? मलेरिया, दादुरा रोग कसरी आए ? मानिस मानसिक रोगबाट किन पिडित छ ? मानिस तनाबमा किन छ ? क्यान्सर रोग कसरी आयो? मधुमेह, उच्च रक्तचाप, मुटुरोग कसरी आयो ? यस्ता रोगहरु अनगिन्ति छन् । के यस्ता रोग आफै आए ? के यी रोग प्रकृतिमा पहिल्यै थिए ? यस्ता रोगहरु हाम्रै विवेकहीन क्रियाकलाप, व्यवाहार, आहार, विहार र जीवनशैलीबाट आएका होइनन् ?
जीवजन्तुको मासु खाएर बलियो हुने मान्यता पनि गलत भएको छ । मानिसले खाने भनेको सात्विक अर्थात् प्राकृत आहार नै हो । शरीरको प्रतिरोधत्माक शक्ति बढाउन पहिला स्वस्थ वातावरण चाहिन्छ । त्यसपछि मिसावट र विषादीरहित सन्तुलित खाना आवश्यक पर्दछ । नियमित कम्तिमा एक घण्टा पसिना आउने गरि बिहान शारीरिक व्यायाम गर्नुपर्छ । के हामीले यो कुरा हाम्रो जीवनमा नियमित अवलम्बन गर्न सक्छौं त ? हामी आजका आधुनिक र व्यस्त मानिस । सबै काम प्रविधिले गर्छ । खानेकुरा ’रेडीमेड’ छ । घरमा बनेको खाना मन पर्दैन । ठोस(मासु), तरल(मादक पदार्थ), ग्यास(धुम्रपान) युक्त अप्राकृतिक खाना मनपर्छ । यसले हाम्रो शरीरको प्राकृतिक संरचनालाई बिगारिदिन्छ । शरीरको प्रतिरोधात्मक शक्ति क्षीण हुँदै जान्छ । अनि हामीले सामान्य रोगसंग पनि प्रतिवाद गर्न सक्दैनौ । यसको लागि ब्रोइरल कुखुरालाई हेरे पुग्छ । यो कुखुरालाई खाना, दाना, औषधीदेखि लिएर सबै थोक दिइन्छ तर यो बलियो र स्वस्थ हुँदैन ।

अब यसो गर्नुस्
लकडाउनको समयमा शारीरिकभन्दा पनि मानसिक र तनावका कारण देखापर्ने रोगका लक्षणहरु देखा पर्न सक्छन् । रुघा लाग्दैमा ’कोरोना त लागेको होइन’ भनेर मानसिक तनाव बढ्छ । त्यसकारण समस्या परिहाल्यो भने विश्वसनीय स्वास्थ्यकर्मीबाट आवश्यक सल्लाह, परामर्श र सही सुचना लिनुपर्छ । यो विषम परिस्थिति चुनौतिमात्र होइन अवसर पनि हो भनेर स्विकार गर्नुस् । शरीरको प्रतिरोधात्मक शक्ति वृद्धि गर्ने किसिमको आहार विहारको अवलम्बन गर्नुस् । अनावश्यक हल्लाको पछि नलाग्नुस् । अध्ययात्मिक हुनुहुन्छ भने भगवान सर्वव्यापी छनु, घरबाटै प्रार्थना गर्नुस् । लकडाउनको समयमा घर बाहिर ननिस्कनु भनेको कोठाभित्र मात्रै बस्नु र सुतिरहनु भनेको होइन । मास्क लगाइरहनु भनेको घरभित्रै बस्दा पनि लगाइरहनु भनेको होइन । हामी घरबाहिर निस्केर घाम ताप्न सक्छौं, कम्पाउण्ड वरपर, बगैंचा आदिमा गई टहलिन सक्छौं । चौबिसै घण्टा मोवाईलमा मात्रै नभुल्ने, जथाभावी केही चिज नछुने, अपरिचित र सङ्क्रमित व्यक्ति नजिक नजाने, पैसा वा कुनैपनि सामान र वस्तु छोएपछि, हात आँखा नाक वा मुखमा लैजानु अघि राम्रोसँग साबुनपानीले वा स्यानिटाईजरले हात सफा गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, खाना कम तर पोषणयुक्त खाने, एक घण्टा योग, व्यायाम र प्राणायाम गर्न समय खर्चने, सकारात्मक सोचको विकास गर्ने, खेतवारी वा करेसाबारीमा काम गर्ने, परिवारमा गफगाफ गरेर र मनोरञ्जनात्मक ढंगले रमाइलो गरि बस्ने, एकान्तमा नबस्ने, पुस्तक पढ्ने, साथीहरूलाई फोन गर्ने, कथा कविता लेख्ने, चित्र कोर्ने, ‘युट्युव’मा रमाइलो तथा पारिवारिक ‘फिल्म’ हेर्ने, भान्सामा खाना बनाउन सिक्ने सिकाउने, संगीत सिक्ने, कुनै स्वास्थ्य समस्या भए परामर्श लिनेजस्ता व्यवहार अपनाउने हो भने समय ‘पास’ हुन्छ, कोरोना पनि लाग्दैन । मानसिक समस्या पनि देखापर्दैन ।
के थाहा, यो ‘लकडाउन’ले तपाईलाई लेखक, साहित्यकार, चित्रकार, योग शिक्षक, अनुसन्धानकर्ता, संगीतकार, कुशल नेता एवं प्रशासक, निष्ठावान कर्मचारी, असल व्यवसायी, कृषक, अभिभावक, गृहिणी, पति÷पत्नी, छोरा÷छोरी÷बुहारी, अनुशासित एवं लगनशिल विद्यार्थी वा सकारात्मक सोच सहितको सभ्य, स्वस्थ, आत्मनिर्भर एवं राष्ट्रप्रेमी नागरिक पो बनाउँछ कि ? कम्तिमा यो ‘लकडाउन’मा अबलम्बन गरेका उपयोगी दिनचर्या आगामी दिनमा पनि निरन्तरता दिन सके तपाईंको जीवनमा पक्कै पनि नाटकीय परिवर्तन आउने छ । अनि तपाई आफै भन्नुहुनेछ–‘लकडाउन’ मेरो लागि अवसर बनेर आयो, ‘लकडाउन‘लाई धन्यवाद !!!

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution