लोपोन्मुख ‘कोलवृक्ष’ संरक्षित क्षेत्र पर्यटकीय गन्तव्य बन्दै


मोहन पौडेल

परासी, रासस । नवलपरासी  बर्दघाट सुस्ता पश्चिमको सरावल गाउँपालिका–२ जावास्थित लोपोन्मुख वनस्पति कोलवृक्ष बगैँचा प्राचीन ककरपत्त नगर  क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले यस क्षेत्रलाई संरक्षण गरी पर्यटकीय स्थलको रूपमा स्थापित गर्न थालेकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । प्राचीन कोलीय गणराज्यको एक शहर र बुद्धकालीन स्थल मानिने कोलवृक्ष क्षेत्रमा उक्त गाउँपालिकाले पुरातात्विक उत्खनन् गर्दैछ ।

बुद्धकालीन लोपोन्मुख वनस्पति ‘कोलवृक्ष’ रहेको उक्त स्थानको पुरातात्विक महत्व उजागर गर्दै नमूना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले उत्खनन् गर्न थालिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले राससलाई बताउनुभयो । केही वर्षदेखि यस क्षेत्रको संरक्षण र पर्यटकीय पूर्वाधारहरू निर्माण गर्दै आएकामा यो क्षेत्र प्राचीन कोलीय गणराज्यको एक शहर ककरपत्त नगर समेत भएको बौद्धग्रन्थमा उल्लेख रहेकाले यसको उत्खनन् गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “यहाँ बौद्धकालिन इतिहाससँग मिल्दाजुल्दा इँट्टा, मूर्ति, भाँडाकुँडासमेत भेटिएकोले उत्खनन्को आवश्यकता देखिएको हो”, अध्यक्ष चौधरीले भन्नुभयो ।

चालु आर्थिक वर्षमैै यस क्षेत्रको उत्खनन् गर्ने गरी गाउँपालिकाले बजेट विनियोजन गर्नाका साथै पुरातत्व विभागसँग समन्वय गरिरहेको उहाँको भनाइ थियो । बुुद्धकालमा कुष्ठरोग निवारणमा प्रयोग भएको कोलवृक्ष यहाँ मात्र पाइने र कोलवन रहेको क्षेत्र प्राचीन कोलीय गणराज्यको एक शहर ककरपत्त नगर रहेको बुद्धग्रन्थमा उल्लेख गरिएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई ककरपत्त नगर घोषणा गरेको जनाइएको छ ।

पुरातत्व क्षेत्रका अध्ययेता डा.कौशलेन्द्र श्रीवास्तवका अनुसार प्राचीन कालमा बनारसबाट स्वनिर्वासित भएका कुष्ठरोगी राजा राम र कपिलनगरका त्यस्तै रोग लागेकी शाक्यरानी प्रिया यस क्षेत्रको कोलवनमा निर्वासित जीवन बिताउँदै कोलको फल खाने र लेप लगाउने गरेर कुष्ठरोग निवारण गरेको बुद्धग्रन्थमा उल्लेख छ । राजा रामले पछि यही कोलवृक्ष फँडानी गरी राज्य बसाएको र उनकै नामबाट रामग्राम राज्य रहन पुगेको तथा यसै वृक्षको नामबाट प्राचीन कोलीय गणराज्य रहन पुगेको उक्त ग्रन्थमा उल्लेख छ ।
हाल यो क्षेत्र रामग्रामको नजिक रहेको र कोलवृक्ष यहाँ बाहेक अन्यत्र नपाइने भएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई गौरवको संरक्षित क्षेत्रको रूपमा उच्च प्राथमिकता दिएर संरक्षण, प्रवर्धन र पर्यटकीय विकास गर्न लागिपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । कोलवृक्षको अनुसन्धान जारी छ । जापानलगायत अन्य देशका अनुसन्धानकर्ता यसमा संलग्न छन् । स्थानीय भाषामा आकोल भनेर चिन्ने यस वनस्पतिको उत्पत्ति पनि नेपालमै भएको जिकिर गरिएको छ । कोलवृक्ष कुष्ठरोग, छालासम्बन्धी रोग, मधुमेह, उच्च रक्तचापजस्ता रोगको उपचारमा प्रयोग गरिएको कथन पनि पाइन्छ ।

जावामा कोलवृक्ष बगैँचाको रूपमा छ भने गाउँको चारैतिर पनि यो वनस्पति देख्न सकिन्छ । गाउँभरि नै यसको रुख पाइने भएकाले गाउँपालिकाले कोलवृक्षको गणना गर्ने तयारी गरेको छ । यो रुख रोप्नु नपर्ने र आफै उत्पत्ति हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँबाट कोलको बिरुवा रामग्राम स्तुप र लुम्बिनीमा पनि लगेर रोपिएको तर त्यहाँ सफल नभएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।

गाउँपालिकाले कोलवृक्ष संरक्षण गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्न अहिलेसम्म रु एक करोडभन्दा बढी लगानी गरिसकेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार यस क्षेत्रको समग्र विकासका लागि विस्तृत गुरुयोजना निर्माण गरिएको छ । करोडौँको योजना रहेकाले प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक हुने उहाँको भनाइ थियो ।

हाल उक्त स्थानमा ठूलो बुद्धको प्रतिमा स्थापना गरिनाका साथै वनभोज स्थल, ट्रष्ट, पर्यटक बस्ने स्थल निर्माण गरिएको छ । यहाँको पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जनमा जोड दिन होम स्टे(आवास घर) सञ्चालनको तयारी तथा बहुद्देश्यीय सभाहल निर्माणको काम पनि भइरहेको छ । होम स्टे सञ्चालनका लागि स्थानीयवासीलाई तालीम दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

आगामी वर्ष उक्त स्थलसम्म पुग्ने सडक स्तरोन्नति, प्रवेशद्धार, बौद्ध विहार र उद्यान निर्माण गर्ने तयारी छ । यसैगरी सोही स्थानमा रहेको ऐतिहासिक बुद्धसरोवर ताललाई सुन्दर बनाएर डुङ्गा सञ्चालन गर्ने, प्राचीन इनार र कोटही माई मन्दिरको संरक्षण गरी पर्यटक आकर्षित गर्नेजस्ता पूर्वाधार निर्माण गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले बताउनुभयो । यो क्षेत्र प्राचीन बुद्धकालीन स्थल नै भएकोले लुम्बिनी, रामग्रामसँग जोडेर एकिकृत विकास गरिनुपर्नेमा जोड दिँदै उहाँले यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिनुभयो ।

यहाँ रहेको बुद्ध सरोवर तालको पनि छुटृै विशेषता छ । तालमा साइबेरियनलगायत विश्वका विभिन्न स्थानबाट आउने लोपोन्मुख चरा अवालेकन गर्न सकिन्छ । झण्डै पाँच बिघा जमिनमा फैलिएको यो ताल पनि रमणीय छ । कहिल्यै पानी नसुकेको यो तालमा विगतमा सुनको डुङ्गामा भाँडाकुँडा आउने र गाउँघरमा हुने विवाहलगायत अन्य उत्सवमा प्रयोग गर्ने गरिएको किम्वदन्ती रहेको स्थानीय मीननारायण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूजा तथा उत्सवहरूमा भाँडाकुँडा आवश्यक पर्दा देवीको पूजापाठ गरेपछि डुङ्गामा भाँडाकुँडा आउने गरेको र काम सकिएपछि फेरि बुझाउने गरिएकोमा एक पटक उक्त भाँडा नबुझाएपछि डुङ्गा निस्कन छोडेको किम्वदन्ती रहेको छ” गाउँपालिकाकै धरोहरको रूपमा रहेको जावाक्षेत्र पर्यटकीयस्थल बन्ने भएपछि स्थानीयवासीमा पनि खुशी छाएको छ ।

यहाँको पर्यटन विकास हुन सके स्थानीयवासीको आयआर्जन बढने, रोजगारीको अवसर सिर्जना हुने तथा जीवनस्तरमा समेत परिवर्तन आउने अपेक्षा गरिएको कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सकिए विश्वकै लागि नमूना पर्यटकीय गन्तव्य हुनाका साथै खोज अनुसन्धानकर्ताका लागि पनि गन्तव्य बन्ने विश्वास गरिएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • कोरोनासगँको जम्काभेट !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution