
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।यो अभियानअन्तर्गत यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उनले बताए ।‘गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आफै खादै’कार्यक्रम सञ्चालन भइरहेको छ’, अध्यक्ष राईले भने, ‘यो कार्यक्रमअन्तर्गत महिलालाई भाले र पोथी कुखुरा वितरण गरेका छौँ । उहाँहरूले आफैँ पालेर खान सक्नुहुनेछ । महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।
‘हाम्रो वडाका १७ गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेका छौँ’, वडाध्यक्ष तामाङले भने, ‘यो कार्यक्रमले उनीहरूलाई लाभ पुगेको छ । यसलाई हामी निरन्तरता दिन्छौँ । यो कार्यक्रमले महिलाको पोषणको क्षेत्रमा सहजता थपेको छ ।’गाउँपालिकाले सञ्चालन गरेको आफैँ पाल्दै खादै कार्यक्रमले सहज भएको स्थानीय महिला रमिला तामाङले बताइन् । यसरी पालेको कुखुराबाट घरमै ताजा अण्डा खान पाइने भएकाले कार्यक्रम लाभदायक रहेको उनको भनाइ छ । यसबाहेक गाउँपालिका तथा वडा कार्यालयबाट अन्य विभिन्न खालका सहयोग पनि पाइरहेको उनले बताइन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१