विराटनगर – सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो ।
मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।
प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । एसपी अधिकारीका अनुसार, हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।
मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’
स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ ।
हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् ।
यसैबीच, हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन थालेका छन् ।
मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समूदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन । साभार ः onlinekhabar बाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१