काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनेर चिनिने ३३ वर्षीय तामाङले नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए ।
प्रहरीको सर्वा्धिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थियो । उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।
‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ थापाले भने । थापाका अनुसार उनको दायाँ खुट्टाको घुँडा मुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङमाथि ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो । उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजायँपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१