
पवित्रा पराजुली
चोरमारा । नवलपरासी (पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा पछिल्लो चार महिनामा ३५ वटा उजुरी परेको छ । यस आर्थिक वर्षको साउनदेखि असोज सम्म ३५ वटा उजुरी दर्ता भएको न्यायिक समितिमा कार्तिक महिनामा भने कुनै उजुरी परेको छैन् ।
लकडाउनको समयमा न्यायिक समितिमा केही कम उजुरी परेको भएपनि लकडाउन पछि समितिमा परेको उजुरीमाथि छानविन, छलफल, मेलमिलाप तथा किनारा लगाउन चाप बढेको मध्यविन्दु नगरपालिका मेलमिलाप संयोजक सरिता केसीले बताउनुभयो ।
न्यायिक समितिमा आउने उजुरीहरुमा घरभित्रका झगडा, श्रीमान–श्रीमतीबीचको सम्बन्ध, जग्गा साँध समबन्धी विवाद, कुलो समबन्धी बिबाद, बाटोको बिबाद,प्रदुषण फैलियको, रकम समयमा नतिरेको लगायत उजुरीहरु हुने गरेका छन् ।
‘यहाँ आउने धेरै जसो उजुरी चाँहि घरभित्रैका विषयमा हुने गरेका छन् । श्रीमान श्रीमतीको सम्वन्ध, अंशबण्डा, कुटपिट, हिंसाजस्ता विषयमा बढी उजुरी आउने गर्दछन् ।’ मध्यविन्दु नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक ओमकुमारी महत्तोले भन्नुभयो –‘ लकडाउनको समय देखिका उजुरीमाथिको छलफल भइरहेकोले अहिले चाप समेत बढेको छ । ’
यस आर्थिक वर्षमा आएको ३५ उजुरी मध्ये न्यायिक समितिबाट १६ वटा उजुरीमा मेलमिलाप भएको छ भने १९ वटा उजुरी प्रक्रियामा रहेको छ । जसमा पति पत्नि बीचको विवाद १४ उजुरी परेकोमा ८ वटा मेलमिलाप र ६ वटा पक्रियामा, पारिवारीक विवादको २ वटा उजुरी परेकोमा २ वटा मेलमिलाप, जग्गा साँध सम्बन्धि विवाद ११ वटा परेकोमा ३ वटामा मेलमिलाप र ८ वटा पक्रिया, लेनदेन सम्बन्धि विवाद २ वटा उजुरी परेकोमा २ वटा पक्रियामा, बाटोको विवाद १ वटा उजुरी परेकोमा १ वटा पक्रियामा, प्रदुषण फैलाएको सम्बन्धि उजुरी ३ वटा परेकोमा २ वटा मेलमिलाप र १ वटा पक्रियामा, पोखरीको विवाद सम्बन्धि उजुरी १ वटा परेकोमा १ वटा मेलमिलाप, खानेपानी सम्बन्धि विवाद १ वटा उजुरी परेकोमा १ वटा प्रक्रियामा रहेको मेलमिलाप संयोजक केसीले बताउनुभयो ।
गत आर्थिक बर्ष २०७६/७७ मा ६५ वटा उजुरी दर्ता भएका थियो । जसमध्ये ३५ वटा मेलमिलाप भएको थियो भने २५ वटा प्रक्रियामा रहेका छन् । ५ वटा उजुरीहरु भने थप न्यायिक प्रक्रियाको लागि अन्य निकाय गएको केसीले बताउनुभयो । गत आर्थिक वर्षमा सबै भन्दा वढी पतिपत्नि बीचको विवाद सम्बन्धि ३३ वटा उजुरी न्यायिक समितिमा परेको थियो । जसमा १८ वटामा मेलमिलाप र १० वटा पक्रियामा रहेका छन् भने ५ वटा उजुरी थप न्यायिक पक्रियाको लागि अन्य निकायमा गएको केसीले बताउनुभयो ।