विनयी खोलाबाट वार्षीक चार लाख २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने


तिर्थराज डुम्रे
चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोला र गंगटे खोलाबाट अगामी दुई वर्ष सम्म प्रति वर्ष करिव चार लाख ५० हजार घनमिटर नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न मिल्ने प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदनले देखाएको छ ।


प्रारम्भिक प्रतिवेदन तयार गर्न विनयी खोलालाई ६ खण्डमा विभाजन गरिएको थियो भने गंगटे खोलाको बगर क्षेत्रमा वातावरणीय परीक्षण गरिएको थियो । प्रतिवेदन अनुसार विनयी खोलाको ६ वटा खण्डबाट जम्मा चार लाख २७ हजार ६ सय ७९ दशमलव ४४ घनमिटर र गंगटे खोलाबाट २१ हजार ९ सय १५ दशमलव ३३ घनमिटर गरि कुल चार लाख ४९ हजार ६ सय ५४ दशमलव ७७ घनमिटर नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न मिल्छ ।


वातावरणीय परीक्षणको क्रममा विनयी खोलालाई ६ खण्डमा विभाजन गरिएको छ । जसमध्ये विनयी खोलाको हाइवे पुल तलबाट ईट्टा भट्टा सम्मबाट ५४ हजार सात सय ८२ दशमलव ४७ घनमिटर, विनयी खोलाको हाइवे पुल माथिबाट सि.जी. सिमेन्ट उद्योग पूर्व सम्मबाट ७६ हजार पाँच सय ६६ दशमलव ८० घनमिटर, विनयी खोलाको चोखाघाट देखि महाविर क्रसर पश्चिमसम्म ७४ हजार दुई सय ७६ दशमलव ७० घनमिटर, विनयी खोलाको महाविर क्रसर पश्चिमदेखि सिलौटेघाट पुल तलसम्म ८१ हजार घनमिटर , विनयी खोलाको सिलौटेघाट पुलबाट माथि देखि दुम्कट्टा पुच्छरसम्म र विनयीखोलाको गौरीझोक पुच्छर देखि मसान मजुवा सम्म ७६ हजार ६ सय २३ दशमलव ६० घनमिटर नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न मिल्नेछ ।


विनयीत्रिवेणी गाउँपालिकाको विनयी खोला र गंगटे खोलाबाट नदीजन्य पदार्थ संकलन तथा उत्खनन्को लागि तयार पारिएको वातावरणीय परीक्षण अध्ययनको मस्यौदा प्रतिवेदनको आज सार्वजनिक सुनुवाई गर्दै सो जानकारी दिइएको हो ।
विगतमा जिल्ला समन्वय समिति मार्फत वातावरणीय परीक्षण गरि स्वीकृत हुदै आएकोमा वातावरण संरक्षण नियावली, २०७७ ले वातावरणीय परीक्षणको लागि स्थानीय तहले कार्यविधि निर्माण गरी स्वीकृत गर्ने अधिकार प्रत्यायोजन गरेको छ । सोही अधिकार बमोजिम विनयी त्रिवेणी गाउँकार्यपालिकाले कार्यावधि पास गरी वातावरणीय परीक्षण गरेको हो । दैनिक तिन सय घनमिटर भन्दा कम उत्खनन् गर्नको लागि वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधान छ ।

हाइवे पुलबाट दक्षिण तर्फ एक किलोमिटर र उत्तर तर्फ पाँच सय मिटर सम्मको क्षेत्रमा उत्खनन् गर्न नपाईने प्रतिवेदन तयार गर्ने पिस रिसर्च एण्ड डेभलपमेण्ट प्रा.लि.का विश्व केसीले जानकारी दिनुभयो । प्रतिवेदनमा उत्खनन् कार्यको लागि कामदार वा व्यक्तिबाट सामान्य औजार जस्तै साबेल, हथौडा वा त्यस्तै औजारको प्रयोगबाट उत्खनन् गर्ने, ठुलाठुला मेशिनरी डोजर, ब्याक आदी प्रयोग गर्न निषेध गर्ने उल्लेख छ । केसी अनुसार वातावरणीय हिसावले संवेदनशील क्षेत्रहरु भन्दा २० मिटर परबाट मात्र उत्खनन् गर्ने, तटबन्धनबाट कम्तीमा पचास मिटर छाडेर मात्र संकलन तथा उत्खनन् गर्ने, नदीमा पानी भैइरहेको वा बगिरहेको क्षेत्रबाट श्रोत ननिकाल्ने, नदीको धार परिवर्तन हुनेगरी श्रोत संकलन नगर्ने, नदीको पानीको सतह भन्दा गहिरो हुने गरी श्रोत उत्खनन् नगर्ने लगायतको संकलन, उत्खनन् र ढुवानी (कार्य र विधि) तय गरिएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले कार्यविधि अनुसार काम भए नभएको भन्ने विषयमा समुदाय स्वयम् पनि जिम्मेबार बन्न आवश्यक रहेको बताउनुभयो । खोलामा कति लम्बाईमा कति गहिराई सम्म कहाँ कहाँबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाइन्छ भन्ने विषय उल्लेख भएको भन्दै उहाँले सोको अध्ययन गरी आवश्यक सुझावहरु दिन समेत आग्रह गर्नुभयो ।


गाउँपालिका उपाध्यक्ष एवम् पालिका स्तरिय अनुगमन समितिका संयोजक मिनाकुमारी रानाले सबैपक्षको सहयोगले वातावरणीय रुपमा कुनैपनि हानी नहुनेगरी नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने बताउनुभयो । त्यसको लागि गाउँपालिकाले तय गरेको कार्यविधि, वातावरीणय परिक्षण अध्ययन प्रतिवेदन अनुसार काम गराउन ठेक्केदार कम्पनीहरु संग गाउँपालिकाको तर्फबाट नियमित अनुगमन र सुझाव पेश गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले विगतमा जिल्ला समन्वय समितिमा रहेको अधिकार अहिले स्थानीय तहमा आएको यसरी सार्वजनिक सुनुवाई गर्दा स्थानीयलाई पूर्वसुचना हुने भन्दै कार्याविधि निर्माणमा केही ढिलाई भएकोले वातावरणीय परीक्षणमा ढिलाई भएको बताउनुभयो । गाउँपालिकाको मुख्य स्रोतको रुपमा रहेको नदीजन्य पदार्थको ठेक्का प्रक्रियाको लागि गाउँपालिकाको तर्फबाट प्रक्रियालाई चाडो अगाडी बढाइरहेको उहाँले बताउनुभयो । सार्वजनिक सुनुवाईमा स्थानीयहरुले खोलाबाट उत्खनन् गर्न पाइने चौडाई र गहिराई सहितको विषयमा जिज्ञासा राखेका थिए । अब अन्तिम प्रतिवेदन तयार भएपछि गाउँकार्यपालिकाबाट स्वीकृत गरिनेछ ।

सार्वजनिकि सुनुवाई कार्यक्रममा गाउँकार्यपालिकाका सदस्य, नदी आसपासका स्थानीय सामुदायिक वनका प्रतिनिधि, स्थानीय बासिन्दा र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कावासोतीमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु
  • २५ वर्षपछि नेपाल गण्डक नहरको बृहत सरसफाई
  • कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ
  • भ्रष्टचार नियन्त्रणका लागि नागरिक सचेत हुनुपर्छ : प्रजिअ पंगेनी
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution