
चितवन।लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा भोलि (शनिबार) दिउँसो चितवनमा हुँदैछ ।भरतपुरस्थित गेष्टहाउस चौरमा दिउँसो १२ः३० बजेदेखि आमसभा सुरु हुने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनका अनुसार आमसभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
आमसभालाई सम्बोधनका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो हेलिकप्टरमार्फत चितवन आउँदैछन् । उनी चितवन आएलगत्तै पत्नीशोकमा रहेका कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङसंग भेट गर्नेछन् । त्यसलगत्तै आमसभामा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि आमसभालाई सम्बोधन गर्न चितवन आउँदैछन् । प्रचण्ड हाल गोरखामा छन् । उनी गोरखा २ बाट उम्मेदवार बनेका छन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि आमसभालाई सम्बोधन गर्न चितवन आउँदैछन् । आमसभालाई भव्य बनाउन जिल्लाका सबै ठाउँबाट नेता तथा कार्यकर्ताहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेस सभापति खनालले भने–‘जिल्लाका सबै ठाउँबाट नेता कार्यकर्ताहरुलाई बोलाएका छौं, आमसभालाई व्यवस्थित गर्न कुनै कसर बाँकी राखिने छैन ।’
यस्तै नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले माओवादीका सबै तहतप्काका नेता कार्यकर्ताहरुलाई आमसभामा सहभागि हुन आह्वान गरिएको बताए । उनले भोलि हुने आमसभा भव्य र व्यवस्थित हुने बताए ।नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारीले आफ्नो पार्टीको तर्फबाट पनि सबैमा निमन्त्रणा गरिएको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१