
चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा बुधबार नगरको विभिन्न विद्यालयबाट आएका बालबालिकाले नगर प्रमुख भिमलाल अधिकारीसंग विद्यालय शिक्षामा भोग्नु परेको समस्या र आफ्ना जिज्ञासा व्यक्त गरे । नगरपालिका भित्र सञ्चालित माध्यामिक र आधारभूत तह सम्म सञ्चालनमा रहेका संस्थागत र सामुदायिक विद्यालयमा अध्ययन गर्ने एक सय बढी विद्यार्थीले नगर प्रमुख संग निशुल्क शिक्षाको कार्यान्वयन, विद्यालयको भौतिक अवस्था, अध्ययनको वातावरण बारे जानकारी मात्रै गराएनन् नगरको समग्र शैक्षिक अवस्था सुधारको लागि तपाईंको योजना के छ भन्ने प्रश्न गरे । मध्यविन्दु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार नगरपालिकामा बालबालिका संग मेयर कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा सहभागी मध्ये ४४ जना विद्यार्थीले आफ्नो जिज्ञासा र प्रश्न प्रत्यक्ष रुपमा नगर प्रमुख भिमलाल अधिकारी समक्ष राखेका थिए । मध्यविन्दु नगरपालिका– १४ मा रहेको हुप्सेकोट आधारभूत विद्यालयकाको कक्षा ५ मा अध्ययन गर्ने दशरथ परियार ले पहाडी क्षेत्रमा सञ्चालित विद्यालयमा खानेपानीको अभाव देखि विद्यालयको टिन चुहिदाँ पढ्ने कक्षा कोठाको अभाव भएको सम्म समस्या नगर प्रमुख समक्ष राखे । मध्यविन्दु–१४ को रत्नराज्यलक्ष्मी माध्यामिक विद्यालयमा अध्ययन गर्ने जयन्ती भण्डारीले युग अनुसारको शिक्षाको बहस भइरहदा विद्यालयमा आईसिटी कक्षा कोठा कै अभावमा सञ्चालन हुन नसकेको बताईन् । पहाडी क्षेत्रमा विद्यालय अध्ययन कै लागि दुई घण्टा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था विद्यार्थीले नगर प्रमुख समक्ष राखेका थिए । विद्यार्थीको गुनासो सुनेपछि नगर प्रमुख अधिकारीले विद्यालयको चुहिने टिनको छानो तत्काल फेर्ने प्रतिबद्धता मात्रै गरेनन् सम्बन्धि शाखालाई आवश्यक निर्देशन दिए । नगरपालिकाको पहाडी क्षेत्रमा विद्यार्थीहरुले भोग्नु परेको समस्या सामाधानको लागि नगरपालिकाको तर्फबाट आवश्यक पहल हुने भन्दै अधिकारीले मध्यविन्दु १४ मा विद्यालय सञ्चालनको लागि हाल घरधुरी अनुसार अनिवार्य रुपमा बर्षेनी रकम संकलन गर्ने कार्यको अन्त्य गर्ने विषयमा नगरपालिकाले आवश्यक निर्णय गर्ने बताए ।
नगर प्रमुख अधिकारीले नगरपालिकाको सबै विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई समान र गुणस्तरिय शिक्षा प्रदान गर्ने दायित्व नगरपालिकाको भएको भन्दै त्यसको लागि नगर प्रमुखको रुपमा सो कार्यको नेतृत्व बहन गर्ने बताएका थिए । कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका छात्रा विद्यार्थीहरुले सेनेटरी प्याडको गुणस्तरियता विषयमा नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए भने संस्थागत विद्यालयबाट सहभागी छात्राहरुले विद्यालयकै आधारमा नगरपालिकाले छात्रा विद्यार्थीलाई प्रदान गर्ने सेनेटरी प्याडबाट बञ्चीत बन्ने वातावरणको अन्त्य गर्न नगरपालिका समक्ष अनुरोध गरे । छात्रा विद्यार्थीको गुनासो र चासोलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले सेनेटरी प्याडको गुणस्तरियताको विषयमा यस अगाडी प्राप्त गुनासोको आधारमा त्यस सम्बन्धमा आवश्यक निर्देशन सम्बन्धित शिक्षा शाखालाई दिएको बताउनुभयो । उहाँले नगरपालिकाले विद्यार्थीहरुले प्राप्त गर्न सक्ने सुविधाको सन्दर्भमा विभेद नगर्ने भन्दै संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई समेत निशुल्क सेनेटरी प्याडको व्यवस्थापन नगरपालिकाबाट हुने गरी व्यवस्थापन भइरहेको बताउनुभयो । सहभागीले विद्यालय शिक्षा उमेरका सहपाठीले विद्यार्थीले विद्यालय छाड्ने समस्या देखि लागुऔषधको दुव्र्यसनि, बाल विवाह न्यूनिकरणमा नगरपालिकाको योजना, शिक्षकको दरबन्दी, निशुल्क शिक्षाको कार्यान्वयन बारे प्रश्नहरु गरे । संविधानले शुल्क लिन नपाउने व्यवस्था गरेको सामुदायिक विद्यालयमा शुल्क लिएको र विद्यालय बीच शुल्कमा एकरुकता नभएको उनिहरुको गुनासो थियो ।
नगर प्रमुख अधिकारीले निशुल्क शिक्षालाई मैलिक हकको रुपमा संविधानमा व्यवस्था गरिएपनि आवश्यक स्रोत र साधनको अभावमा अभिभावकबाट सहयोगको रुपमा सामुदायिक विद्यालयहरुले शुल्क लिनु अवस्था विद्यमान रहेको बताए । विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी संघिय सरकारले उपलब्ध नगराउदा मैलिक हकको रुपमा व्यवस्था भएको निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको तितो यर्थाथ रहेको उनले बताए । विद्यालयहरुले संकलन गर्ने शुल्क र त्यसको खर्च लगायतको विषयमा नगरपालिकाले नियमित विद्यालय अनुगमन गर्ने कार्ययोजनामा नगरपालिका रहेको उनले बताए ।
विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरुले विद्यालयमा पुस्तकालयको नभएको, कम्प्युटर नहुदाँ प्रयोगात्मक सिकाई कमजोर बनेको, शुद्ध पानीको उपलब्धता, शौचालय नभएको तथा टाढा रहेको, खेल मैदान देखि करेसाबारी सम्म स्थापनाको विषयमा प्रश्न र जिज्ञासा राखेका थिए भने केही विद्यार्थीले विद्यालय बस नहुँदा समस्या भएको भन्दै विद्यालय बस उपलब्ध गराउन समेत माग गरे ।
विद्यार्थीका सवालहरुको सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले प्राथमिकताको आधारमा विद्यालय सुधार योजना निर्माण गरी समस्याहरुको सामाधान गर्दै जाने बताए । नगरपालिकाको पहिलो प्राथमिकता विद्यालयमा बालमैत्री र शिक्षण सिकाई मैत्री वातावरण निर्माण गर्नु भएको बताए । उनले तत्काल विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्थापन, फर्निचर सामाग्रीको व्यवस्थापन, आवश्यक कक्षा कोठाको सुनिश्चिता, शौचालय निर्माण, पुस्तकालय तथा प्रयोगशाला निर्माणका लागि नगरपालिकाले योजना सहित काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले नगरपालिकाले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त संगै कार्यक्रममा राखेका गुनासो तथा समस्या र नगर प्रमुखबाट व्यक्त भएका सवालहरु समाधान हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले कार्यक्रममा उठेका अधिकाम्स सवालहरुको सम्बोधन नगर प्रमुखले गरेको भन्दै नगर उपप्रमुखको रुपमा शिक्षा क्षेत्रको बिकास र बालअधिकारको रक्षाको लागि सदैव बालबालिका संगै रहने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले कार्यक्रममा उठेका विषयको सम्बोधन संगै नगर प्रमुखको कार्यक्रमको समयमा दिएका निर्देशनको आवश्यक कार्यान्वयनमा प्रतिबद्धता जनाए ।
शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले विद्यार्थी र नगर प्रमुख बीचको कार्यक्रमले स्थानीय तह र विद्यार्थी बीचको सम्बन्ध प्रगाढ बनाउनुको साथै नगरको शिक्षा क्षेत्रको बिकासको लागि मार्ग दर्शन समेत हुने बताए । कार्यक्रममा सहभागी शिक्षक मध्ये मन्तव्य राखेका शिक्षकहरुले कार्यक्रम उपलब्धी पूर्ण रहेको भन्दै त्यसको निरन्तरताको लागि नगरपालिकालाई अनुरोध गरेका थिए ।
दुई चरणमा सञ्चालन भएको कार्यक्रमको औपचारिक शत्र शिक्षा अधिकृत कृष्ण रेग्मीले गर्नु भएको थियो भने टेलिभिजन तथा रेडियो कार्यक्रम छायांकन कार्यक्रमको सहजिकरण दर्पण एफ.एम.का स्टेसन म्यानेजर तिर्थराज डुम्रेले गरेका थिए । छायांकन भएको कार्यक्रम मुकुन्दसेन टेलिभिजन, बुद्धदर्शन टेलिभिजन र दर्पण एफ.एम.बाट प्रशारण हुनेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१