
धान बालीमात्रै लगाउँदै आएका दिलमाया परियारले काँक्रोबाट मनग्ने आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिकरूपमा काँक्रोखेती लगाउँदै आएकी छन् । ‘दुई कठ्ठामा लगाएको काँक्रोबाट खर्च कटाएर वर्षमा करिब दुई लाख आम्दानी हुने गरेको छ’, उनले भनिन्, ‘यसरी गाउँमै आम्दानी लिन सकिने सोचाइ पहिल्यै आएको भए श्रीमान्लाई विदेश पठाउनुपर्ने थिएन, मेहेनत गर्ने हो भने विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गर्न सकिने रहेछ ।’यस क्षेत्रमा १५ कठ्ठामा काँक्रो लगाएका किसानले खर्च कटाएर वर्षमा छ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडौं पठाउने गर्दछन् । किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् ।हुप्सेकोट गाउँपालिकाको वडा नं १, ३ र ४ वडामा काँक्रोखेती हुँदै आएको छ । यहाँको करिब दुई सय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रोखेती लगाउँदै आएका छन् ।समूह र व्यवसाय दर्ता गरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरीलगायतका सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए ।गाउँपालिका क्षेत्रबाट उत्पादन हुने तरकारीजन्य वस्तुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष पाण्डेको भनाइ छ ।