
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले ९ माघ आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको ५ प्रतिशतले हुने १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरिसकेको छ ।यस्तै सर्वसाधारणलाई छुट्याएको जारी पूँजीको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयााँ बराबरको २१ लाख कित्ताको १० प्रतिशतले हुने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
त्यसैगरी कम्पनीले १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ४२ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।कम्पनीको आईपीओमा १२ माघसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि २३ माघसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।कम्पनीले कास्कीको मादी गाउँपालिकाबाट बग्ने मादी नदीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनको अनुमानित प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार भने आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१