
चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलब एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र आह्वान गरिएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम सुरु गरिएको हो । पहिलो चरणको काम अन्तिममा पुगेलगत्तै दोस्रो चरणको कामको थालिएको छ । पहिलो चरणमा महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी थियो भने दोस्रोचरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही वैशाखको पहिलो सातासम्ममा सकिने छ । दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षमा सम्पन्न हुने छ । दोस्रो चरणमा विभिन्न ठाउँमा आठ वटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदै छ । पहिलो चरणमा सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरिएको छ । महानगर प्रमुख दाहालका अनुसार पहिलो चरणमा मूल्यअभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार तीन सयमा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभिले काम गरिरहेको छ । दोस्रो चरणमा रु २६ करोड ५० लाखको बोलपत्र आह्वान गरिएको छ ।
उहाँले भन्नुभयो, “पहिलोको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो वनाउँदै छौँ ।” पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको छ । दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिँदै छ । महानगरप्रमुख दाहालले महानगरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एशियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप उज्यालो सहर बनाउन लागिएको बताउनुभयो । यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उहाँले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ’उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताउनुभयो । (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१