चोरमारा । मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बालबालिकालाई संस्कार सहितको शिक्षा प्रदान गर्न अभिभावकहरु स्वयम् जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । बालबालिकाको पहिलो पाठशाला घर भएको भन्दै उहाँले परिवार भित्र बालबालिकालाई सिकाउने संस्कार, गरिने व्यवहारले उसको शिक्षामा प्रभाव पार्ने भएकाले घरभित्र नै शैक्षिक वातावरण तयार गर्न अभिभावकहरुलाई अनुरोध गर्नुभयो । मध्यविन्दु नगरपालिका–१२ को सरस्वती नमूना आधारभूत विद्यालयमा आईतबार भएको अभिभावक शिक्षा कार्यक्रममा नगर प्रमुख अधिकारीले विगतको शिक्षण सिकाईको अनुभवबाट संस्कार सहितको खुशी शिक्षामा नगरपालिका केन्द्रीत भएको बताउनुभयो ।
“हामीले बालबालिकालाई अंक धेरै ल्याउन, पैसा कमाउन मात्रै सिकायौं । उसले पैसा त चिन्यो तर घर, परिवार, आफन्त र समाज भुल्यो ।” नगरप्रमुख अधिकारीले भन्नुभयो –“अब हामीले बालबालिकालाई खुशी हुन सिकाउनुपर्छ । घरमा नै तपाईंहरुले त्यो वातावरण तयार गर्नुपर्छ ।” विद्यालयका अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा लक्ष्मण भण्डारीले अभिभावकहरुलाई बालमैत्री शिक्षा, अभिभावकको भूमिका, उनिहरुको पढाईप्रतिको रुचि बृद्धि लगायतको विषयमा अभिमुखिकरण गर्नुभयो । बालबालिकाले अभिभावकहरुबाट धेरै कुराहरु सिक्ने भएकाले उनिहरुसंग बोल्दा, प्रस्तुत हुदाँ उनिहरुमा सकरात्मकता आउने किसिमको गतिविधि गर्न अनुरोध गर्नुभयो । पछिल्लो समय बालबालिकामा बढ्दो मोवाईलको प्रयोग कम गर्न अभिभावकहरुले पनि मोवाईलको प्रयोग कम गर्ने उनिहरुसंग खेल्ने, संगै पढ्ने जस्ता कार्यहरु गर्नुपर्ने बताउनुभयो ।
विद्यालयमा कार्यरत शिक्षक, व्यवस्थापन समिति र अभिभावक शिक्षक समितिको मात्रै पहलबाट समग्र शैक्षिक अवस्था सुधार हुन नसक्ने हुदाँ विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक जनकराज पोखरेलले बताउनुभयो । अभिभावकहरुलाई पनि विद्यार्थीको शिक्षण सिकाईमा आवद्ध गराउन सक्दा उनिहरुको समग्र शैक्षिक अवस्था सुधार हुने विश्वास विद्यालयले लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपलाल अर्यालले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१