
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु. २६ अर्ब भन्दा धेरै राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीले आर्थिक वर्ष २०७९÷०८० मा रु. २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजश्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।
आन्तरिक राजश्व कार्यालय कावासोतीले सबैभन्दा धेरै अन्तशुल्क तर्फ रु. २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा आय कर तर्फ रु. ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु. ३८ करोड २५ लाख ६५ हजार , व्याज रु. ६ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा तर्फ रु. ४ करोड ३० लाख २० हजार, घर बहाल कर तर्फ रु. १ करोड ५३ लाख ४४ हजार राजश्व संकलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।
आर्थिक वर्ष २०७९÷०८० मा आन्तरिक राजश्व कार्यालय कावासोतीलाई कुल रु. ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजश्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो । उक्त लक्ष्यको आधारमा गत आर्थिक वर्षमा ८१ दशमलब ८९ प्रतिशत राजश्व संकलन भएको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।
कुल लक्ष्यको ९६ प्रतिशत अन्तशुल्क तर्फ मात्रै राजश्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिएको भएपनि अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तशुल्कको सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा प्रभाव परेको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो । ‘अर्थतन्त्रमा आएको संकुचनले आम्दानीमा कमी ,घर जग्गा लगायतका कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजश्व सङ्कलनमा समेत केही कमी देखिएको छ’ प्रमुख कर अधिकृत पन्थीले भन्नुभयो ।
लक्ष्य अनुसार राजश्व सङ्कलनमा केही कम देखिएपनि देशैभरिका राजश्व कार्यालयको तुलनामा आन्तरिक राजश्व कार्यालय कावासोतीको अवस्था राम्रो रहेको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।
प्रमुख कर अधिकृत पन्थीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९मा रु. २४ अर्ब ११ करोड, १२ लाख १ हजार राजश्व संकलन भएको थियो । यस भन्दा गत आर्थिक वर्षमा रु. २ अर्ब २० करोड ७२ हजार राजश्व बढी संकलन भएको छ । ‘हाम्रोमा राजश्व सङ्कलनको दर बढ्दो रहेको छ, गत आर्थिक वर्षमा समेत कुल राजश्व सङ्कलनको रकममा वृद्धि देखिएको छ, यो राम्रो पक्ष हो’ प्रमुख कर अधिकृत पन्थीले भन्नुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१