
मीनाक्षी कंडेल ,कावासोती । पूर्वी नवलपरासी (नवलपुर) मा केही दिनयता आँखा पाक्ने रोग फैलिरहेको छ । आँखामा सङ्क्रमण देखिएपछि मध्यविन्दु जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ । जिल्लाका सबै सरकारी तथा निजी अस्पतालमा दैनिक दुई सय सम्म आँखाका बिरामी देखा पर्ने गरेको स्वास्थ्य कार्यालय नवलपुरको तथ्याड्ढमा छ । केही दिनदेखि आँखा पाक्ने रोग फैलिएपछि यसको प्रभाव जिल्लाको विद्यार्थीहरूमा समेत देखा परेको छ । अहिले बालबालिकामा आँखा पाक्ने समस्या देखिएको पछि विद्यालयको पढाइ समेत प्रभावित बनेको छ । दैनिक रूपमा आँखा पाक्ने समस्या भएपछि विद्यालयमा विद्यार्थीको संख्या क्रमिक रूपमा घट्दै गएको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताए ।
जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले आँखाको समस्या दिनदिनै बढ्दै गएकोले आँखाका बिरामीले सामान्य चेकजाँचपछि घरमै बसेर उपचार गर्न सकिने हुँदा सङ्क्रमितका बिरामी भिडभाडमा नजान अनुरोध गरेका छन् । नवलपुरमा आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अहिले जिल्लाका सबै पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छन् । जिल्लाको देवचुली अस्पताल, गैँडाकोट नगर अस्पताल, मध्यविन्दु जिल्ला अस्पताल, मध्यविन्दु नगर अस्पताल र जिल्लाको निजी अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीहरूमध्ये ९० प्रतिशतमा आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को सङ्क्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।
मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार दैनिक अस्पतालको बहिंरग सेवामा आँखाको उपचारका लागि आएका ९० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को सङ्क्रमण देखिएको बताए । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको सङ्क्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय सङ्क्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिएको चिकित्सकहरू बताउँछन् । यो रोग लाग्दा सङ्क्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा सङ्क्रमण सर्छ । त्यसैले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ।
सरकारी कार्यालयमा छैन् सर्तकता
कावासोती । नवलपुरमा पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ । यस रोगको सङ्क्रमण फैलन सक्ने भन्दै बिभिन्न पालिकाका बिद्यालयले केही दिनका लागि पठनपाठन कार्य नै स्थगित गरेका छ । तर आँखा पाक्ने रोगको सङ्क्रमण बिद्यालय मात्र नभई भिडभाड हुने सरकारी कार्यलयमा पनि यसको जोखिम उत्तिकै देखिएको छ । मंगलबार समाचार संकलनको लागी मालपोत कार्यालय, जिल्ला प्रशासन, यातयात ब्यवस्था कार्यालयमा पुग्दा कुनै सतर्कता अपनाईएको देखिएको छैन् । भिडभाड हुने सरकारी कार्यालयमा सर्तकता नअपनाए सम्म बिद्यालय मात्रै बन्द गरेर यो रोग नियन्त्रण नहुँने कावासोतीका गोबिन्द थापाले बताए । उनले भने– अहिले बिद्यालय त बन्द भएको छ तर सरकारी कार्यालय र बैंकमा भिड छ रोग त त्यहाँबाट पनि सर्छ यो सबै क्षेत्रमा सर्तकता अपनाउन जरुरी छ । आँखा पाक्ने रोग यतिबेला सबैै उमेर समुहका ब्यक्तिमा देखिएको र जोखिम पनि सबैमा रहेको देखिन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१