
पर्वत । करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ ।सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्र अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन् । विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो । उनीहरूले पटक–पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह गर्दै आएका छन् ।पन्ध्र शय्याको उक्त अस्पताल बन्द भएको दुई दशक बित्दा पनि सञ्चालनमा कसैले चासो दिएका छैनन् । त्यतिबेला अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । विशेषज्ञ सुविधासहित सबै खालका शल्यक्रियासमेत हुने अस्पतालबाट तत्कालीन अवस्थामा पर्वत, स्याङ्जा र गुल्मीका सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा निर्माण गरेको उक्त अस्पतालका चार भवन र फर्निचर अहिले जीर्ण बनेका छन् ।
“अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह गर्यौँ”, प्रदेशसभा सदस्य मित्रलाल बस्यालले भने “सञ्चालनमा कसैले चासो दिएनन् ।” अस्पातललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरूले महँंगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटने उनको भनाइ छ । गाउँलेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदिएको बताएका छन् ।
रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१