चितवन । चितवनको पहाडी क्षेत्र चौकीडांँडाबाट सञ्चालित प्याराग्लाइडिङ सेवा पुनः सञ्चालनमा आउने भएको छ । वर्षा र सहज सडकको व्यवस्था नभएकोले हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले गत असार १५ बाट सेवा बन्द गरेको थियो । कच्ची र साँघुरो बाटो र वर्षामा सानोतिनो पहिरोको कारण समस्या भएकोले चौकी डाँडाबाट उडान भर्न समस्याले भएकोले सेवा स्थगित गर्नुपरेको कम्पनीका अध्यक्ष विजय घलेले जानकारी दिनुभयो ।
मुग्लिन नारायणगढ सडकखण्डको भोर्ले भन्ने स्थानबाट ९ किलोमिटर उकालो कच्ची बाटो भएर चौकीडाँडा पुग्न सकिन्छ । गत वैशाख १ गतेदेखि जिल्लामा व्यावसायिक उडान गर्दै आएको कम्पनीले बर्षाले असहज भएपछि गत असार १५ गतेदेखि उडान रोकेको थियो ।‘भदौको अन्तिम सातादेखि प्याराग्लाइडिङ पुनः उडान गर्न सकिन्छ भन्ने सोच थियो, तर डाँडामा जाने सडक बर्खाले बिगारेको र मर्मतका लागि ढिलाइ भएकाले जान सकिएन ।’ अध्यक्ष घलेले भन्नुभयो ।’ सडक मर्मत र विस्तारको काम भएपनि सम्पन्न गर्न ढिलाइ भएका कारण उडान सेवामा समेत ढिलाइ भएको घलेको भनाई छ । पर्यटकीय सिजन र मौसम पनि सफा भएकोले मङ्सिर १५ गतेबाट उडान शुरु गर्न लागिएको उहाँले बताउनु भयो । ‘यसअघि चार वटा पाइलटले उडान भर्दै आएका थिए घलेले भन्नुभयो, सडक सहज र पर्यटकको सङ्ख्या वृद्धि भयो भने उडान सङ्ख्या पनि थप्नेछौँ ।’
सफारी पर्यटनमा परिचित चितवनमा प्याराग्लाइडिङ उडान हुने भएपछि यहाँका व्यवसायीहरू खुसी भएका थिए । चितवनको चौकीडांँडा बाट तनहुँको देवघाटमा प्यारासुट सहित अवतरण हुँदा दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा हुने विश्वास लिइएको थियो । भोर्लेबाट कविलास जाने सडक भरतपुर महानगरपालिकाले ठेक्का लगाए पनि बजेटको अभाव भन्दै कामले गति लिन नसक्दा उडान सेवामा समेत असर परेको हो ।
अहिले भने कम्पनी आफैँले बर्षाले बिगारेका ठाउँहरूको मर्मत गरेर फोर ह्वील सवारी लैजान सक्ने बनाउँदैछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा) का महासचिवसमेत रहेका सञ्चालक शैलेन्द्र राउतले आफूहरू सडक सहज हुनेबित्तिकै प्याराग्लाइडिङ उडान नियमित गर्न सहज हुने बताउनु भयो । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने घोषणा गरेर प्याराग्लाइडिङलाई प्रमुख पर्यटकीय क्रियाकलाप भित्र समेटेको छ । तर, दशैं अगाडि नै सञ्चालन हुनुपर्ने प्याराग्लाइडिङका लागि आएका समस्याहरू समाधान गर्ने विषयमा भने सहयोग नपाएको व्यवसायीहरूको गुनासो छ ।
कम्पनीले चौकीडाँडामा नै रिसोर्ट पनि सञ्चालन गर्ने बताउँदै आएको छ । ‘यसको डिजाइन स्टक्चरिङ्गको काम हुंँदैछ अध्यक्ष घलेले भन्नुभयो, सडक सहज हुने बित्तिकै रिसोर्ट निर्माणको काम पनि सहज हुन्छ ।’ चितवनमा पहिलो पटक प्याराग्लाइडिङ गर्न अनुमति लिएको उडान शुभारम्भको उद्घाटन गत वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको हो ।
प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विघा जग्गा कम्पनीले लिइसकेको छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नोटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । यस अनुसार सिधै ५ हजार मिटर माथिसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ ।प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराइन्छ । सो ठाउँमा पनि केही रुखहरू काट्ने काम अगाडि बढाइएको छ । पर्यटकहरूको चितवन बसाइलाई लम्ब्याउन यसले टेवा दिने विश्वास लिइएको अध्यक्ष घलेले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१