काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्। बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा पर्नेछन्। सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेकाउक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट किम मंगलबार चीन प्रवेश गरेका हुन्। किम जोङ उन भने सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए।उत्तर कोरियाको पुरानो र सीमित हवाईजहाजहरूको तुलनामा, बुलेटप्रुफ रेलहरू नेताका लागि सुरक्षित, आरामदायी र सुविधासम्पन्न मानिन्छन्। ती रेलहरूमा करिब १० देखि १५ वटा डब्बा रहने गर्छन्। ती रेलहरूमा ठूलो संख्यामा सुरक्षा टोली, खाना तथा सञ्चार सुविधा, बैठक कक्ष र आराम गर्न मिल्ने ठाउँहरू रहेका हुन्छन्।
दुईवटा बख्तरबन्द मर्सिडिज गाडी अट्ने डब्बा पनि रहने बताइन्छ। हवाइजहाजमा यात्रा गर्दा आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङ पनि रेलमा यात्रा गर्ने गर्थे। किम जोङ उनले सन् २०११ मा सत्तामा आएयता चीन, भियतनाम र रुस भ्रमणका लागि रेल प्रयोग गर्दै आएका छन्।
रुस यात्रा गर्दा उत्तर कोरियाको रेललाई सीमामा रुसी रेलमार्गको फरक गेजअनुसार मिलाउन आवश्यक हुने रेल विज्ञ बताउँछन्। तर चीनमा भने यस्तो आवश्यक पर्दैन। चीन प्रवेश गरेपछि त्यहाँको स्थानीय इन्जिनियरले रेल तान्ने गर्छन्, जसले चिनियाँ सिग्नल प्रणाली बुझ्छन्।
चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार सेप्टेम्बर ३ मा भव्य सैन्य परेडसहित कार्यक्रम आयोजना गरिँदैछ। यस कार्यक्रममार्फत जापानी आक्रमणविरुद्धको चीनको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजय हासिल भएको ८० वर्ष पूरा भएको दिनलाई स्मरण गरिनेछ। यससँगै विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, संसद प्रमुख, उपप्रधानमन्त्री, उच्च तहका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा पूर्व राजनीतिज्ञहरूलाई समेत चीन सरकारले विजय दिवसको समारोहमा सहभागी हुन निमन्त्रण दिएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१