फुटबल प्रशिक्षक मेघराजः जुन क्लब समात्यो, त्यहीँ उपाधि


२९ कात्तिक, काठमाडौं । खेलाडी जीवनमा धेरै खाले जोखिम हुन्छन् । त्यही जोखिमको चक्रब्युहमा परेर कतिपयले आफ्नो खेल करिअर अन्त्य गर्नुपर्ने बाध्यता पनि आउँछ । यसकै एक प्रतिनिधि पात्र हुन्, मेघराज केसी ।

पहिलोपटक राष्ट्रिय फुटबल टिममा छानिँदा मेघराज मात्र १७ वर्षका थिए । उनको खेल कौशलले सबैलाई प्रभावित बनाएको थियो र सबैले उनलाई फ्यूचर स्टारका रुपमा हेरेका थिए ।

तर, एउटा आकस्मिक घटनाले उनको राष्ट्रिय टिमबाट नमिठो बहिर्गमन भयो ।

त्यसबेला अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापा थिए भने महासचिव थिए लोकबहादुर शाही । दशैं–तिहारको छुट्टीमा महासचिव शाहीले नेपाली टिमलाई भारतमा खेल्ने व्यवस्था मिलाए । मेघराज पनि भारतको गुवाहटी पुगे । तर, प्रतियोगिता सकिएपछि घर फकिँदाको त्रासदीपूर्ण यात्राले उनको खेल जीवनमै पूर्णविराम लगाइदियो । आखिर के भएको थियो त त्यो यात्रामा ?

मेघराज सम्झिन्छन्, ‘भारतमा खेलेर फर्किने क्रममा झण्डै ४८ घण्टा बसमा यात्रा गर्नु पर्‍यो । त्यो अवधिभर पूरै टिमका सदस्यहरुले मुखमा पानी पनि हाल्न पाएनन् । विर्तामोड आइसकेपछि झगडा पर्‍यो ।’

त्यतिबेला टिमको नेतृत्व एन्फाका महासचिव शाहीले गरेका थिए भने म्यानेजरमा सन्जिव मिश्र र प्रशिक्षकमा मिलन हाडा थिए ।

झगडा पर्नुको कारण खोल्दै मेघराज भन्छन्, ‘राति झापामा आएर बास बस्यौं । भोलिपल्ट उठिसकेपछि परिस्थिति अर्कै भयो । लोकबहादुर त्यहाँबाट हिँडिसकेछन् । उनी भद्रपुरमा प्लेन चढेर काठमाडौं आउन हिँडेका रहेछन् । मिलन हाडा र सञ्जिव मिश्रलाई केटाहरुलाई गाडीमा लिएर आउनु र हिजो खाएको होटलको पैसा उनीहरुलाई नै तिर्न लगाउनु भनेका रहेछन् ।’

‘राष्ट्रिय टिमबाट खेल्न गएका हामीलाई होटलको पैसा पनि आफैं तिनुपर्ने भएपछि झोक चल्ने भइहाल्यो । त्यही झोकमा मनोज थापा र मैले सन्जिबर मिलनलाई हल्का चार्ज गर्‍यौं । लोकबहादुरको पनि व्याडलक । प्लेन नपाएर उनी पनि होटलमा फर्किए । त्यसपछि उनले त झन् बढि (धुलाई) भेटे ।’

जसोतसो झगडा साम्य भएपछि सबै गाडीमै काठमाडौंसम्म आए । काठमाडौं आउनासाथ मेघराजमाथि एन्फाको मेघ गर्जियो । त्यसबेला नेपालका मुख्य प्रशिक्षक थिए, विराटकृष्ण श्रेष्ठ । एन्फा अध्यक्ष थापा र महासचिव शाहीले घटनामा दोषी मान्दै उनलाई लिखित माफी माग्न उर्दी जारी गर्‍यो ।

झोकी मेघराजले के माफी माग्थे ? आफ्नो गल्ती नभएको भन्दै माफी नमाग्ने अडान लिए । अन्तत उनले टिम नै छाड्नुपर्‍यो । यसरी उनको राष्ट्रिय फुटबल टिमसँग छोटो समयमा ‘पारपाचुके’ भयो ।

भन्छन्, ‘विराटकृष्ण सरले मलाई बोलाएर एन्फासँग तिमीले लिखित रुपमा माफी माग्नु पर्छ भन्नुभयो तर, मैले माफी माग्नुको साटो टिम नै छाडिदिएँ ।’

तर, उनी फुटबलबाट टाढा भएर बस्न भने सकेनन् । त्यसको करिब ५ वर्षसम्म उनले क्लबबाट फुटबल खेले ।

परिवार र पढाइ छाडेर फुटबलमा

फुटबलमय माहोल रहेको जावलाखेलमा मेघराज जन्मिएका हुन् । परिवारका सदस्यहरु भने खेलकुदमैत्री थिएनन् । घरबाट बाहिर निस्किने बित्तिकै फुटबल खेलिरहेको देख्दा मेघराजको खुट्टा सक्सकाउन थालिहाल्थे । ‘म सानो छँदा जावलाखेल चौरमा ठूला दाईहरु एकापट्टि फुटबल र अर्कोपट्टि भलिबल खेल्ने गर्नुहुन्थ्यो । त्यसैले मेरो मन पनि खेलकुदतिर तानियो,’ मेघराज भन्छन् ।

सानो उमेरदेखि नै निकै फुर्तिला मेघराजले अन्डर फोर फिट, अन्डर फाइभ फिटको प्रतियोगिताहरु खेल्न पाए ।

स–साना प्रतियोगिताले नै उनलाई निखार्दै लगे । तर उनको परिवार भने उनी खेलतिर बरालिएको रुचाउँदैनथे । परिवारका कान्छा छोरा भएकाले सबैले पुल्पुल्याएका थिए । घरको काम केही गर्नुपर्थेन ।

तर, फुटबल खेल्न भने सबैको आँखा छल्नुपर्थ्यो । उनी भन्छन्, ‘सबैले पढ् पढ् मात्रै भन्नुहुन्थ्यो । मैले चाहिँ फुटबल र पढाईलाई सँगै लाने सोच राखेको थिएँ ।’

एसएससी दिएर कलेज जान थालेपछि ए डिभिजन लिग सुरु भयो । फुटबलले गर्दा उनको पढाईलाई असर गर्‍यो । अन्ततः पढाईलाई दोस्रो प्राथमिकतामा राखेर फुटबलमै आफूलाई केन्द्रित गरे ।

यसबाट परिवारसँग उनको द्वन्द्व उत्पन्न भयो ।

मेघराजको परिवारका दुईवटा घर थिए । २०४९ सालतिरको कुरा हो । उनका ३ जना दिदीहरुको बिहे भइसकेको थियो । उनी दाइको परिवार र आमासँग एउटा घरमा बस्थे । परिवारको कचकचले फुटबल खेल्न गाह्रो भएपछि उनी आफ्ना सामान लिएर अर्को घरमा सरे र एक्लै बस्न थाले ।

मेघराज थप्छन्, ‘त्यहाँदेखि अहिलेसम्म छुट्टै बसिरहेको छु । फुटबलकै कारण मैले पढाईलाई तिलाञ्जली दिएँ भने परिवारसँग पनि एक्लिएँ ।’

तर, यसरी अगाडि बढाएको फुटबल करिअर नमिठो तरिकाले अन्त्य भएको थियो । पछि पढाई छोडेकोमा पछुतो हुन थाल्यो । अनि, पढाईलाई फेरि जोडे । प्रशिक्षकको सी देखि ए लाइसेन्स लिए ।

गोलकिपरदेखि फरवार्डसम्म

मेघराजलाई जावलाखेलको मैदानले फुटबल खेल्न सिकाएको हो । उनी त्यही मैदानमा लडिबुडी गर्दै हुर्किए । पछि जावलाखेलको क्लबमा ट्रेनिङ पनि लिए । त्यही क्रममा ललितपुरले क्षेत्रीय खेल खेल्न छनोटको आह्वान गरेको थियो । मेघराज त्यसमा सहभागी मात्र भएनन्, सफलता पनि पाए ।

‘त्यतिबेला २० जनाको स्क्वाडमा १०–११ जना त राष्ट्रिय खेलाडी नै थिए । राजुकाजी शाक्यदेखि लिएर दिपक अमात्यसम्म हुनुहुन्थ्यो’ मेघराजले सुनाए ।

ललितपुर जिल्ला फुटबल टिममा छानिँदै उनले प्रतियोगिताभर खेले । त्यसपछि लिग भयो र उनी जावलाखेल क्लबमै फर्किए ।

मेघराज दुई वटा फरक पोजिसनबाट फुटबल खेल्ने गर्दथे । सुरुवाती समयमा उनले गोलकिपरको भूमिका निभाए । पछि फरवार्डमा जमे ।

गणेश थापालाई संकटमा साथ

मेघराजको राष्ट्रिय टिमबाट बहिर्गमनमा तत्कालिन एन्फा अध्यक्ष गणेश थापाको पनि भूमिका थियो । तर, उनै थापालाई अप्ठ्यारो पर्दा मेघराजले साथ दिए । यो २०५७ सालको कुरा हो ।

त्यतिबेला एन्फा अध्यक्ष थापा र उपाध्यक्ष गीता राणाबीच तीव्र विवाद थियो । राणाको समूहले थापाले स्थापना गरेको एन्फा एकेडेमीको पहिलो ब्याचलाई पनि खारेज गरिदिएको थियो । गृह मन्त्रालयले पनि एकेडेमीका बच्चालाई खेल्न कुनै पनि मैदान नदिनू भनेर उर्दी नै जारी गरिदियो । त्यसपछि थापा संकटमा परेका थिए । उनलाई साथ दिने कोही थिएनन् ।

मेघराजलाई जावलाखेलको मैदानले फुटबल खेल्न सिकाएको हो । उनी त्यही मैदानमा लडिबुडी गर्दै हुर्किए । पछि जावलाखेलको क्लबमा ट्रेनिङ पनि लिए । त्यही क्रममा ललितपुरले क्षेत्रीय खेल खेल्न छनोटको आह्वान गरेको थियो । मेघराज त्यसमा सहभागी मात्र भएनन्, सफलता पनि पाए ।

मेघराज सम्झिन्छन्, ‘आफूसँग कोही मान्छे नभएपछि थापाले मलाई फोन गरेर सहयोग माग्नुभयो ।’

‘आफु त फुटबललाई माया गर्ने मान्छे, को गणेश थापा ? को गीता राणा ? मतलब भएन । एन्फा एकेडेमीको पहिलो ब्याचलाई ट्रेनिङ गराउने प्रस्ताव आएपछि सहर्ष स्वीकारेँ,’ उनी भन्छन् ।

थापाले एन्फाको पहिलो ब्याचका बच्चाहरुलाई लगनखेलको एउटा घर भाडामा लिएर राखेका थिए । मेघराजले होस्टेल इन्चार्ज र फुटबल प्रशिक्षकको दोहोरो भूमिकामा बच्चाहरुलाई हेरे । बिहान ५ बजेदेखि राति १० बजेसम्म उनी बच्चाहरुकै लागि खटिरहेकै हुन्थे ।

अर्को संकटमा पनि थापालाई मेघराजले साथ दिएका छन् । २०६२–०६३ पछि लडाईँ छोडेर माओवादी शान्ति प्रक्रियामा आयो । माओवादी शक्तिमा आएपछि थापा अप्ठ्यारोमा परे । माओवादीले आफ्नै फुटबल टिम बनाउने भनेर लाग्यो र ४५ दिनका लागि एन्फासँग प्रशिक्षक माग्यो । तर, पठाउने कसलाई ?

थापाको आग्रहमा मेघराज यस निम्ति पनि तयार भए । ‘माओवादीको लागि ट्रेनिङ दिन जानुपर्‍यो । ४५ दिनको मात्र हो । तीन जनाले १५–१५ दिन गरेर ४५ दिन पुर्‍याइदेउ न भनेर अनुरोध गर्नुभयो,’ उनी भन्छन्, ‘हाम्रो दिमागमा माओवादीको अर्कै छाप थियो । एन्फाका तीन प्रशिक्षक किशोर केसी, डिकेन सुवाल र ममध्ये सबैभन्दा जुनियर म । उहाँहरुले भन्नुभयो, ‘मेघराज भाइ तिमी १५ दिन गएर आउ, त्यसपछि हामी जाउँला । मनमा चिसो पस्यो तर जानु नै थियो, गएँ ।’

शक्तिखोर जान्छु भनेर उनी बाइकमा चितवन घुँइकिए तर, बाटोमा उनको मोबाइल हरायो । अब जाने कहाँ ? अर्को आपत् । उनलाई शक्तिखोरको डिभिजन सेकेन्ड सञ्जिव भन्ने व्यक्तिको नम्बर दिएर थापाले पठाएका थिए । उनी सौराह चोकमा पुगे तर, उनीसँग सञ्जिवको नम्बर भएन ।

गणेश थापाको नम्बर चाहिँ कण्ठै थियो । उनले थापालाई ल्यान्डलाइनबाट फोन गरे । थापाले उताबाट पहल गरेपछि एक व्यक्ति लिन आए ।

मेघराजले शक्तिखोरमा १५ दिन बिताएपछि सहमतिअनुसार घर फर्किने दिन आयो । उनी खुशी थिए । काठमाडौंमा रहेका थापालाई फोन घुमाए तर, फोन लागेन । फेरि थप १५ दिन बसे ।

त्यसपछि थापाको फोन उठ्यो । उनी सिंगापुर गएर आएका रहेछन् । मेघराजले कुरा राख्न नपाउँदै थापाले भनिहाले, ‘३० दिन बसिहाल्यौ, अब १५ दिन पनि बसेर आऊ ।’ मेघराजले काट्न सकेनन् ।

शक्तिखोरको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यतिबेलासम्म दिमागमा माओवादीको डर हटिसकेको थियो । मैले त्यहाँ आफ्नै प्रकारको फुटबल माहोल बनाएको थिएँ । सुरुमा जाँदा हराएको मोबाइल पनि ३५ दिनपछि भेटियो ।’

त्यसबेला माओवादी फुटबल टिमलाई पीएलए स्पोर्टस् भनेर नामकरण पनि मेघराजले नै गरेका थिए । चितवन जिल्ला लिगमा भाग लिँदै पीएलए पहिलो हुन सफल भयो । अनि त मेघराजको तारिफै तारिफ ।

जता पनि सफल

४५ दिनको समयअवधि सिध्याएर उनी काठमाडौं फर्किए । त्यसको १ हप्तापछि राष्ट्रिय प्रतियोगिता हुने भयो । त्यो प्रतियोगितामा माओवादीले भाग लिने भएपछि नेपाली सेनाले के गर्छ भन्ने व्यापक चर्चा भइरहेको थियो । पछि आर्मीले त्यो प्रतियोगिता नै नखेल्ने घोषणा गर्‍यो ।

माओवादीले खेल्ने भएपछि फेरि टिम हेर्न मेघराजलाई नै फोन आयो । उनले पनि सहजै स्वीकारे । चितवन गएर एक हप्ता अभ्यास गराए र टिम लिएर काठमाडौं आए । प्रतिायोगितामा पीएलए तेस्रो भयो । टिम फर्कियो, उनी घर बसे । तर, त्यसको १० दिन नबित्दै थापाको फोन आयो ।

फेरि पीएलएलाई प्रशिक्षण दिन चितवन जानुपर्ने भयो । यसपाली उनले पीएलएसँग सर्त राखे ।

‘महिनाको २० दिन ट्रेनिङ गराउँछु, १० दिन चाहिँ काठमाडौं आउँछु’ यो शर्त माओवादीले पनि स्वीकारे । त्यसपछि आयो पैसाको कुरा । उनलाई माओवादीबाट सोधियो, ‘पैसा कति दिनुपर्छ गुरु ?’

पहिले ४५ दिन प्रशिक्षण गराउँदा त एन्फाले उसको रेटमा पैसा दिएको थियो । अब माओवादीसँग कति पैसा माग्ने ? उनले कुनै डिमान्ड गर्न सकेनन् । ‘तपाईहरुको इच्छाले जति दिए पनि हुन्छ,’ भनिदिए ।

पीएलएले खर्च पनि राम्रै गरेको थियो । त्यही अनुसारको फुटबल टिम पनि बन्यो । त्यो टिमले मोफसलका धेरै प्रतियोगिताको उपाधि जित्न सफल भयो । मेघराज पनि सन्तुष्ट बने । ‘त्यहाँ गएर मलाई पनि फाइदा भयो । त्यो २ वर्षको अवधि मेरो लागि एक प्रकारको सिकाई जस्तै थियो’ उनी भन्छन् ।

२०६६ सालमा ए डभिजन लिग हुने भएपछि मेघराज चितवनबाट काठमाडौं आए । जावलाखेलको आफ्नै क्लबमा ट्रेनिङ गराउने सोचिरहेका थिए तर, क्लबले प्रशिक्षक राखिसकेको रहेछ ।

उनी क्लबविहीन भए । बेकारमा पीएलए छोडेर आएको जस्तो भयो । तर, लिग सुरु भएको करिब एक महिनापछि मछिन्द्र क्लब हेर्ने मौका पाए । त्यो अहवसर तत्कालिन प्रशिक्षक ध्रुव केसीले मिलाइदिएका थिए ।

‘पारिवारिक समस्याले ध्रुव केसीलाई बीचैबाट क्लब छोड्नुपर्ने भएछ । त्यसपछि मेरो जिम्मामा आयो । लिगको अन्तिम ७ वटा म्याच बाँकी थियो । मेरै प्रशिक्षणमा मछिन्द्रले ६ वटा खेल जित्यो,’ उनी गर्वका साथ सुनाउँछन् ।

त्यसबेला मछिन्द्र तेस्रो स्थानमा उक्लिएको थियो । तर सातौं खेलमा भने नमिठो घटना भयो, जसले गर्दा उनले चटक्कै क्लब छाडेर हिँडे ।

उक्त खेलमा मछिन्द्र र एपीएफ भिड्दै थिए । विभागीय टिम एपीएफ रेलिगेसनमा पर्ने निश्चित जस्तै थियो । रेलिगेसनबाट जोगिन एपीएफले मछिन्द्रलाई ७ गोल हान्नु पर्ने थियो ।

असामान्य रुपमा एपीएफले सातै गोल हान्यो ।

मेघराज भन्छन्, ‘मैदानमा मछिन्द्रको कोही अफिसियल पनि आएनन्, खेलाडीले पनि मन लगाएर खेलेनन् । खेलको ५ मिनेटभित्रै मछिन्द्रले २ गोल खायो । यस्तो भएपछि मैले सेटिङ सबै बुझिहालेँ ।’

त्यसपछि मछिन्द्रको म्यानेजमेन्टलाई धन्यवाद दिँदै उनले ‘अब आइन्दा मलाई कोचका लागि नबोलाउनु होला’ भन्दै हिँडे ।

त्यसपछि थ्रीस्टारबाट अफर आयो । त्यसबेलाको लिग च्याम्यिन थ्रीस्टारले बोलाउँदा सुरुमा त उनलाई विश्वास नै लागेको थिएन । थ्रीस्टारका अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई ‘जोक नगर्नु है’ भनेर जवाफ फर्काएका थिए । ‘उहाँले सिधैं थ्रीस्टार हेर्ने हो त ? भन्नुभयो । मलाई त जिस्केको जस्तो लाग्यो । लिग च्याम्पियन क्लबले एक्कासी प्रस्ताव गर्दा कसरी पत्याउनु ?’ मेघराज भन्छन् ।

तर, यो कुनै ठट्टा थिएन । उनी तीन दिनपछि थ्रीस्टार गए । उनले सोचेजस्तो अवस्थामा थ्रीस्टार थिएन । क्लब नामी थियो, टिम गतिलो थिएन । तत्कालिन प्रशिक्षक बालगोपाल महर्जनले थ्रीस्टारमा भएको राष्ट्रिय टिमका खेलाडी जति सबै लिएर मनाङ मस्र्याङ्दी गएका थिए । बाँकी खेलाडी पनि उपेन्द्रमान सिंहले हिमालयन शेर्पामा लगेका थिए । तर, मेघराजले हरेस खाएनन् ।

नयाँ जोस निकाल्न लागि परे । उनी भन्छन् ‘संकटको अवस्थामा मलाई बोलाइएको रहेछ । त्यसपछि म टिम बनाउनेतर्फ लागेँ । राजकुमार घिसिङ, प्रदीप महर्जन, विष्णु सुनार जस्ता खेलाडी बोलाएर टिम बनाए ।’

केही दिनको अभ्यासपछि मेघराज टिम लिएर भारतको गुवाहटी प्रस्थान गरे । गुवाहाटीमा थ्रीस्टारले एक गोल पनि नगरी फाइनलसम्मको यात्रा गर्‍यो । समूह चरणको खेलमा ३ वटामध्ये सबैमा गोलरहित बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा पनि गोलरहित खेल्दै पेनाल्टीबाट जित निकाल्यो । तर फाइनलमा बंगलादेशी टिमसँग ३–० ले पराजित भयो ।

मेघराजले २०६६ को अन्तिमदेखि २०६९ सालसम्म करिब २ वर्ष थ्रीस्टारको प्रशिक्षक भएर काम गरे । यो अवधिमा थ्रीस्टारले थुप्रै प्रतियोगिताको उपाधि उचाल्यो । उनी भन्छन्, ‘त्यतिबेला मेरो पालामा मनाङ र थ्रीस्टारको ९ वटा जति खेल भयो । कुनै खेलमा थ्रीस्टार पराजित भएन ।’

थ्रीस्टारले मनाङलाई पराजित गर्ने सिलसिला ब्रिटिस गोर्खा कपको फाइनलदेखि सुरु भएको थियो । लगत्तै पोखरामा आहा रारा गोल्डकप भयो । सेमिफाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै थ्रस्टारले फाइनल यात्रा तय गरेको थियो । फाइनलमा मनाङलाई माथ खुवाउँदै उपाधि उचाल्यो । थ्रीस्टारका खेलाडी लिएर टिम बनाएका प्रशिक्षक बालगोपाललाई मनाङले बर्खास्त नै गरेको थियो ।

दुई वर्ष थ्रीस्टारमा बिताएर उनी हिमालयन शेर्पा गए । त्यहाँ पनि फिक्सिङ काण्ड भएपछि फ्रेन्ड्स क्लब पुगे ।

घुम्दै फिर्दै थ्रीस्टारमै

फ्रेन्ड्स क्लब छोडेपछि मेघराज विभागीय टिम नेपाल आर्मीमा आवद्ध भए । आर्मीमा पनि उनले उपाधिको रेकर्ड राखे । त्यो २ वर्षे अवधिमा थ्रीस्टार र मनाङले आर्मीलाई कुनै खेलमा पनि पराजित गर्न सकेन ।

‘आर्मीले उपाधि जित्न नसकेको लामो समय भइसकेको रहेछ । म आबद्ध भएपछि पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भयौं । करिब २ वर्षसम्म आयोजना भएका फुटबल प्रतियोगिताको उपाधि ७० प्रतिशत आर्मीले जितेको थियो’ मेघराज भन्छन् ।

उनले जति क्लब चहारे सबैमा सफल भए । उनमा पनि आत्मविश्वास बढ्यो । आर्मीपछि उनी अहिले दोस्रो पटक थ्रीस्टार क्लब सम्हाल्न आइपुगेका छन् । त्यो बेला थ्रीस्टार एएफसी कपको छनोटका लागि तयारी गर्दै थियो ।

उनले थीस्टारलाई एएफसी कपमा पुर्‍याए, जुन उनको लागि मात्रै नभएर देशकै लागि गौरवको कुरा थियो । ‘हामी मंगोलियामा एएफसी कप छनोट खेल्न गयौं । दोस्रो चरणमा पुगेका थियौं तर, एन्फाको लापारबाहीको कारण हामीले दोस्रो चरण खेल्ने अवसर गुमायौं,’ उनी भन्छन् ।

दोस्रो पटक क्लबको जिम्मा लिएपछि पनि मेघराजले थीस्टारलाई थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउन सफल भएका छन् । भारतको बोर्डोलोई ट्रफीदेखि मोफसलमा भएको ७० प्रतिशत प्रतियोगिताको उपाधि थ्रीस्टारले जित्न सफल भएको थियो ।

अहिलेसम्म उनी थ्रीस्टारमै छन् । यसपाली उनको लक्ष्य भनेको थ्रीस्टारलाई लिग च्याम्पियन बनाउनु हो । त्यसै अनुसार मेहनत गर्दैछन् । उनी भन्छन्, ‘मलाई अन्य क्लबबाट पनि बोलाइएको थियो तर, गइनँ ।’

५० पुगेपछि सन्यास

मेघराज अहिले ४५ वर्षका भए । अब पाँच वर्षपछि प्रशिक्षकबाट सन्न्यास लिने उनको योजना छ । तर, पनि फुटबलबाट भने टाढा हुने छैनन् । ‘म आफ्नो जिन्दगी आफ्नै स्टाइलमा विताउने छु तर, फुटबलमै हुनेछु । खेलाडी र प्रशिक्षकपछि फुटबलको अर्को बाटो पनि छ ।’

उनी नेपालमा राम्रो र स्तरीय खालको एकेडेमी खोल्ने तयारीमा छन् । त्यसका लागि तयारीमा जुटिसकेका छन् । ‘आफू ५० वर्ष पूरा भएपछि एउटा राम्रो एकेडेमी सञ्चालन गर्ने मेरो लक्ष्य छ’ उनले भने ।

उनले आफ्नो योजना यसरी सुनाए, ‘मैले एकेडेमी चलाएको करिब १० वर्षपछि १०० जना खेलाडी उत्पादन हुनेछन् । त्यसमा ५–६ जना राष्ट्रिय टिममा पर्न सफल हुनेछन् । ५०–६० जनाले ए डिभिजन खेल्नेछन् । उनीहरुले गर्वका साथ भन्नेछन् कि यो एकेडेमीको प्रोडक्ट हुँ ।’

हेटौंडामा ४० रोपनी जग्गा खोजेर एकेडेमी खोल्ने उनको योजना छ । ‘अहिले नेपालमा जेजति फुटबल एकेडेमी छन्, कुनै पनि गतिला छैनन् । कसैले पैसा कमाउन चलाई रहेका छन्, कसैले देखाउन’ मेघराजले कुरा टुंग्याउँदै भने, तर, कसैले पनि राम्रा प्रोडक्ट निकाल्न सकेका छैनन्

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
  • कृषि सेवाहरुको पहुंच बढाउनका लागि मध्यविन्दु नगरपालिकामा अन्तक्रिया
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution