


पार्टीका कुनै वैधानिक संघ संगठनहरुको अधिवेशन, नेतृत्व परिवर्तनको लागि विधान हुन्छ । नीति, नियम, विधि प्रक्रियाबाट मात्र सम्भव हुन्छ। एउटा अधिवेशन भएर पार्टीको सर्कुलर (अपानि) वडा कमिटीमा नपुग्दै नेतृत्व परिवर्तनको हावा चल्नु स्वचालित हो वा परिचालित हो भन्ने विषय पछि प्रष्ट हुँदै गर्ला।
बेलुका सुत्ने बेलामा शान्त भएको पार्टी, विहान उषाकिरण नलाग्दै बग्रेल्ती नेतृत्वको आलोचना पनि एउटा वर्गीय शत्रुले भन्दा बढी गर्न सक्ने। कार्यकर्ताले आलोचना भन्दा अगाडि आत्माआलोचनाको पद्धतिलाई किन बिर्सिएको होला?
भनिन्छ नि लुतो आयो भने सडकमा नाङ्गो भएर लुतो कन्याएर सन्चो हुँदैन, त्यसलाई मेडिकलमा गएर सम्बन्धित औषधि प्रयोग गरेपछि मात्र निको हुन्छ भन्ने कुरा पार्टी शिक्षाको नर्सरी तहको विषय हो।

नेतृत्व असफल भइरहँदा मेरो भूमिका के थियो र कति पुरा गर्न सकेँ भन्ने विषयमा आफूले ऐना हेर्नु सब भन्दा उत्तम चरित्र हो।
राष्ट्र, राष्ट्रियता र जनतन्त्रका सवालमा विदेशी शक्ति केन्द्रसँग सम्झौता हिन संघर्ष गर्दा भेनेजुयलाको राष्ट्रपति मडुरो, पाकिस्तानका पूर्व राष्ट्रपति इब्राहिम माथी हाल सम्म भएको अमानवीय पासविक आक्रमण जस्तै गरी वर्तमान पार्टी नेतृत्व माथि भएको आक्रमण, अमानवीय व्यवहार, सम्पूर्ण पार्टी कार्यालय खरानी बन्नु पार्टी कार्यकर्ताको घरमा समेत आगो लगाउने आतङ्कारी शक्तिलाई साक्षी राखेर नेतृत्वलाई नाङ्गेझार पार्नु कुन कम्युनिस्ट पार्टीको नैतिकता भित्र पर्छ कमरेड ? तत्काल राहत उद्धार, सहानुभुति, सहयोग, सद्भाव, वर्गिय सम्बन्ध सबैलाई तिलाञ्जली दिएर पार्टी भित्र कस्तो आचारण र व्यवहार सद्भावको बिउ रोप्दै छौ कमरेड ?
स्मरण रहोस अहिले उसलाई खाने बाघले, म पनि नेतृत्वमा पुगेभने मलाई पनि छोड्दैन भन्ने हेक्का राख्न जरुरी छ।
राजनीति इतिहास सधै सरल रेखामा मात्र अगाडि बढ्दैन भन्ने कुरा आज सम्मको अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको अवस्थाबाट पनि प्रष्ट हुन्छ।
स्वयं कार्ल माक्र्सकै नेतृत्वमा जर्मनमा भएको क्रान्ति ७२ दिन पछि प्रतिगमन भएपछि माक्र्सलाई खुइलाउने काम भएन बरु भएका कमी कमजोरीलाई औँल्याउने स्विकार गर्ने र नदोहो¥याउने प्रतिबद्धता भयो। सत्ता कब्जापछि प्रतिक्रियावादीहरुका हतियार र सम्पत्ति (नगद) पार्टीले कब्जा नगरेको कुरा बाट कति क्षति व्यहोर्न परेको थियो। पार्टी अधिवेशन, महाधिवेशन, भेला, सम्मेलन र बैठकहरूमा सवाल केन्द्रित बहस नै आजको आवश्यकता छ।

बहसका विषयहरूः
१) पार्टीका दस्ताबेजले अवसरवादी, विसर्जनवादी र प्रतिक्रियावादी भनेका शक्ति सँग सत्ता स्वार्थ केन्द्रित गठबन्धन नै पार्टीको लागि धोका हो। आफूसँग स्पष्ट बहुमत नभएपछि अर्काको सहारामा बैशाखी टेकेर गरिने सरकार सञ्चालन कार्यकर्ता र जनताको लागि पार्टी सरकारमा छ भन्ने तर परिणाममुखी, जनमुखी कार्य गर्न नसक्नु नै वर्तमान अवस्थालाई मलजल पु¥याउनु हो।
पार्टी सरकारमा गएर केहि थान राजदूत पायो, केहि थान प्रहरी, कर्मचारी, ठेकेदार पायो होला। तर भाद्र २३, २४ गतेको आतङ्कको विषय, कुनै जानकारी नभएको हो वा अमेरिका र भारतबाट खतरा हुन्छ भनेर बोल्न नसक्ने राजदूत कसरी पार्टीको कोटाबाट परेका हुन ?
अझ अचम्मको विषय त माओवादी सेना र नेपाली सेना समायोजन भएर बनेपछि नेपालको गणतन्त्रमाथि नै धावा बोल्दा, ती कथित माओवादी नामबाट सेनामा पसेकाहरुकोबाट प्रचण्डलाई समेत पूर्व जानकारी नगराउनु भनेको १५ वर्षको राजनीति, प्रशिक्षण, विचार, सिद्धान्त र नेतृत्व रक्षाका विषयमा नेपाली सेनाले विचारलाई भुत्ते र नुनको सोझो मात्र गर्न बाध्य बनाएको प्रस्ट हुन्छ। आवश्यकता परे बर्दी फालेर गणतन्त्र रक्षाको लागि नयाँ इतिहास रच्न सक्नु पर्थ्यो।
वामदेव गौतम, स्वर्गीय खुमबहादुर खड्का लगायतले पार्टीको तर्फबाट थुप्रै पुलिसलाई जागिरमा अवसर दिए तर आज तिनीहरूबाट नै नेतृत्वको सुरक्षाको भुमिका निष्कृय देखिनुले पार्टीको तर्फबाट राजदूत बनाएर, प्रहरीमा जागिर लगाएर, पार्टी संगठनलाई बल पुग्दैन भन्ने कुरा २३, २४ को विद्रोहले थप प्रस्ट पारेको छ।
तसर्थ मनमोहन अधिकारीको सरकार अल्पमतमा भए पनि एक्लो भए पनि उसले गरेका निर्णयले आज सम्मको लागि नेपाली जनतामा गहिरो र अमिट छापको कारण पार्टी विकासको मुख्य स्रोत हो। पार्टी संयुक्त सरकारमा जाँदा संगठनको वृद्धि विकास तथा जनता र पार्टीको बिचको अवस्था कति बेला राम्रो छ ? सरकारमा हुँदा कि प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्दा ? यो विषय तल्लो तहसँग बसेर छलफल गर्नु पर्छ। आज सम्म कुनै पनि कम्युनिस्ट पार्टी कुनै पनि देशमा अर्काको समर्थन बैसाखी टेकेर सरकार संचालन गरेको इतिहास छैन। चाहे त्यो छिमेकी देश भारत होस् वा क्युबामा फिडेल क्याष्ट्रो नै होस उनीहरु स्पष्ट बहुमत नहुँदा सम्म सरकारमा गएका छैनन्।
देश गम्भीर संकटमा पर्दछ भने देशभक्त, प्रजातन्त्रवादी र वामपन्थी शक्तिहरूको बिच निश्चित समय सम्मका लागि राष्ट्रिय सरकारको आवश्यकता निश्चित परिस्थिति कारणले निर्माण हुन सक्छ। नेतृत्वको बहस कसैलाई खुसी पार्नकै लागि हुने, इगो, प्रतिशोध र पूर्वाग्रही हुने वा राक्षसको संज्ञा दिने र कसैको लागि भगवान मानेर देवत्वकरण गर्ने प्रवृत्ति यि दुवै पार्टीका लागि घातक हुन। त्यसकारणले कम्युनिस्ट पार्टी भित्र आत्मआलोचना र आलोचना एउटै सिक्काका दुई पाटा हुन् भन्ने कुरा बिर्सनु हुँदैन। भर्खरै महाधिवेशन सम्पन्न गरेर फेरि नेतृत्व परिवर्तनको विषय बाहिर हस्तान्तरण गर्न आयोग बनाएर पुन नेतृत्व बदल्ने हो भने, फेरि ६ महिना पछि अर्को पक्षले त्यही प्रवृत्ति, प्रक्रिया र व्यवहार अपनायो भने फेरि नेतृत्व बदल्ने? अनि पार्टी नेतृत्व बदल्ने खेल बाहेक अर्को सम्भावना केही होला?
तसर्थ बुढी मरिन् भन्ने पिर होइन काल पल्कियो भन्ने तिर ध्यान दिनु पर्ला? सक्ने र सकिने खेलमा नलाग्नुहोस् अर्को महाधिवेशन सम्म पार्टी र जनता प्रति इमानदार भएर जिम्मेवारी पुरा गर्नु नै उत्तम चरित्र हो। कम्युनिस्ट शैली छलफलमा व्यापकता, निर्णयमा एकता र कार्यन्वयनमा व्यापक हो।
२) नेतृत्वको आचरण, व्यवहार र जीवनशैलीमा सुधार–
पार्टी कम्युनिस्ट, सर्वहारावर्गको नेतृत्व गर्ने, किसान, मजदुर, गरिब, विपन्न वर्गको मुक्तिका लागि बलिदान दिने भन्ने कुरा पार्टी दस्तावेजमा व्याख्या गर्ने तर नेतृत्वको व्यवहार, आचरण, जीवनशैली, कार्यशैली र जनतासँग सम्पर्कको अवस्था भने युवराज, धिराज भन्दा कमको हाइफाइ छैन। नेतृत्वलाई सामान्य कार्यकर्ता, मजदुर, किसानले भेट्न त के देख्न र समस्या, अवस्थाको विषयमा बोल्ने अवसर पाउदैनन् महङ्गा गाडीवाला, घाटी देखि कान हुदै नाडी सम्म पहेलो रङ्ग धातुधारीहरुको कब्जा हुन्छ। एर्पोटबाट स्कर्टिङ गरेर बडो तामझामका साथ सम्बोधन गर्ने, मानौ कुनै समस्याको समाधान आफैँसँग मात्र छ भने झैँ जयजयकार गर्ने, समृद्धिका कुरा गर्ने र बाहिर वास्तविक जनतासँग पुग्न नेतृत्वलाई समय नै नहुने ।
साँझको राजशी भोजन ठुला ठुला होटेल र रेस्टुरेन्टमा भयो। आज जिवनको अन्तिम भोज भए झैको सत्कारले किसान, मजदुर, गरिब सर्वहारा त्यहा जान त के विचराहरु हेर्न पनि डराउँछ। त्यहाँ भित्र तिनै गरिब, विपन्न वर्गको स्वतन्त्रता, हक अधिकार र मुक्तिका विषयमा घण्टौँ प्रशिक्षण र भाषण हुने गरेको छ।
नेपालमा अत्यन्त गरिबीको संख्या १७% देखि २०% मात्र छ, त्यतिका लागि मात्र योजना बनाउने हो भने ठुलो संख्या निम्न मध्यम, मध्यम वर्ग छुट्न पुग्दछ। तसर्थ विपन्न केन्द्रि सँगै बाँकी रहेकाहरुको पनि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन योजना निर्माणमा स्थानीय नेतृत्वको भूमिकालाई बढी जिम्मेवार बनाउने कार्यन्वयनको प्रभावकारितामा पार्टी कार्यकर्ता र जनतासँग नङ र मासुको सम्बन्ध स्थापना कायम गर्न सके गुम्दै गएको विश्वास पनि सुधार हुन सक्छ।
विकासको सवालमा बाटो बनाउनु अघि त्यहाँ भरीयाको जीविकोपार्जनमा सहयोग थियो भने बाटो बनेपछि भरियाहरुको लागि वैकल्पिक रोजगारको विषयमा गम्भीर हुन नसके विकासले निम्त्याएको बेरोजगारीको कारणले ति भरियाहरू नै पार्टी नेतृत्व प्रति आक्रोश पोख्न सक्छन्। यो एउटा उदाहरण मात्र हो तसर्थ विकास अगाडि त्यसले निम्त्याउने विनाश, बेरोजगार र वातावरणीय सन्तुलनको विषयमा स्थानीय नेतृत्वलाई बढी ज्ञान हुने भएकोले योजना निर्माण देखि कार्यान्वयन र अनुगमनको जिम्मा सरकारी संयन्त्र भन्दा पनि स्थानीय नेतृत्वलाई बढी जिम्मेवारी र उत्तरदायी इमान्दार बनाउनु संगै बटन टु टप को अवधारणाको विकास गर्ने ।
जसरी एउटा असल आमाले असल सन्तान दिन्छी भने असल कार्यकर्ताले असल समाज बनाउन सक्छ र असल समाजले असल राष्ट्र निर्माणमा योगदान पु¥याउँछ। तसर्थ सादा जिवन उच्च विचार गरौ सकिदैन भने पनि सादा जिवन असल (सकारात्मक) विचारबाट सञ्चालित हौ। अर्कोलाई असल भएको देख्न चाहनेले पहिला तिमी असल बन, अर्कोलाई बोक्न चाहनेले आफ्नो खुट्टा दह्रो टेक , अर्काेलाई सहि गन्तव्यमा पु¥याउनेले पहिला आफ्नो गन्तव्यको ठेगान गर।
भियतनाम अमेरिकी साम्राज्यसंग युद्ध गर्दा ५० वर्ष पछि भियतनामी जनतासँग अमेरिकाका भाडाका सिपाहीले घुँडा टेक्न बाध्य भई भियतनाम स्वतन्त्रता स्वघोषणा गर्दै विशाल कार्यक्रम राख्ने आयोजना भयो जुन कार्यक्रममा भियतनामी जनताहरू बाटो भरीका लागि खानेकुरा पानीको व्यवस्था गरेर पैदल, गाडी गरेर भियतनामको राजधानी आइपुगे जहाँ होचिमिन्हले सम्बोधन गर्ने कुरा आयो। को हो होचिमिन्ह? कस्तो छ होला ? कस्तो कपडा लगाएको होला ? भनेर दर्शकहरु होचिमिन्हलाई हेर्न अटाई नअटाई ठेलमेल, घचडाघचढ गरी बसेका थिए । केही वक्ता पछि होचिमिन्ह बोल्ने बेला भयो । त्यहि भित्रबाट मैलो सर्ट, फाटेको पाइन्ट, चप्पल, झुसे दाह्री, चाउरी परेको अनुहार लिएर माईक अगाडी आउदा हो विचरा मेरो घरमा खेत खन्न गएको गियो । एउटा हो भन्छ, अर्कोले बैठकमा आउनु है भन्न मैले घाँस काटेको ठाउमा गएर घाँस काट्न सघाएका मान्छे पो रहेछन्। त्यहि सर्ट थियो, त्यहि पाइन्ट थियो भनेर सहभागी खासखुस गर्दै थिए।
होचिमिन्हले भियतनामी जनताले ५० वर्ष सम्म भियतनामी कम्युनिस्ट पार्टीलाई सहयोग गर्दै युद्ध मोर्चा संचालन गरेर आज देश स्वतन्त्र बनाएकोमा धन्यवाद दिँदै गर्दा उनले भने– अबको एक वर्षमा सबै भियतनामी जनताले एकमाना खाना लाउन स्वास्थ्य, शिक्षाको लागि कुनै चिन्ता गर्नु पर्दैन। त्यो सब पूर्ण गरेपछि मात्र मैले लगाएको कपडा, युद्धभरि नै लगाएर अझ एक वर्ष अझ यो कपडा नै लगाउँछु र अहिले बोलेको संकल्प पुरा गरेपछि मात्र नयाँ कपडा लगाएर फेरि तपाईंलाई भेट्ने छु। तसर्थ आज सम्मको युद्ध अमेरिकी भाडाका सिपाहीसँग थियो भने अबको युद्ध हाम्रो भोकमरी, गरिबी, अभावको विरुद्धमा हो। अब सबै जनता, जनसेना, पार्टी कार्यकर्ताहरु, व्यापक उत्पादनमा सहभागी भएर १ वर्षमा हामीलाई खाने उत्पादन गरेर दोस्रो वर्ष बढी भएको अन्न निर्यात गरेर मुद्रा आर्जन गर्नु पर्दछ। तसर्थ युद्धमा इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुभयो, अब त्यसरी नै उत्पादनमा जोडिने मेरो पनि प्रतिबद्धतासंगै सबै कमरेडसँग अनुरोध गर्दछु भनेको नेताले अहिले संसारमा धान, गहुँ निर्यात गर्ने राष्ट्रमा पर्दछ।
कम्युनिस्टहरु जे बोलेको हो त्यो गर्ने हो। गर्न नसक्ने कुरा कहिल्यै गर्ने होइन। जनतालाई ढाट्नु भनेको जनतासँगको सम्बन्ध तोड्नु हो। जनतामा व्यापक गरिबी अभाव छ, तसर्थ हामी यो गर्छौँ, त्यो गर्छौँ भनेर सस्तो लोकप्रियताका लागि झुटा आश्वासनले जनताले नेतृत्व प्रति विश्वास तोड्दै जान्छन् र अन्तमा ब्यालेटको सर्मथनमा समेत विश्वास नगरेपछि पार्टीको कार्यशैली सुधार, जनतासँग इमानदार व्यवहार नेतृत्वका कार्यकर्ता र जनता बिचको त्रिकोणात्मक तथा सम्बन्ध प्रक्रियामुखी नभई परिणाममुखी हुनुपर्दछ। नेतृत्वले कार्यकर्ता, विद्यार्थी, सेना, प्रहरीलाई व्यापक उत्पादनमा जोडिने नीति, विधि र प्रविधि मिलाउनुपर्दछ।
अन्तमा नेतृत्व परिवर्तन गर्नुपर्ने फागुन २१ को चुनाव पराजयको मुख्य कारण हो भने उक्त समय सम्म तहगत संरचनाका नेतृत्व सबै जिम्मेवार भएकोले नैतिकताको आधारमा हो भने सबैले आफू आफ्नो जिम्मेवारी र भूमिकाबाट बाहिरिनु पर्छ र मात्र माथिल्लो नेतृत्व प्रति प्रश्न उठाउनु पर्छ।
पार्टी भनेको कुनै एउटा व्यक्ति होइन, संगठित संस्था भएकोले संरचना अनुसारको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। मिठो मिठो मेरो भागमा तितो तितो तेरो भागमा। अर्थात सफलतामा वाहा वाहा, लोकप्रियता, नाकाबन्दी अडान, सुरुङमार्ग, चुच्चे नक्सा लगायतको लोकप्रियता पार्टीले गर्दा भन्ने, अपजस, असफलता, पराजय अध्यक्षले मात्र गरेर भएको हो भन्ने भाष्य निर्माण किमार्थ न्यायसँगत हुदैन । पार्टी, सत्ता र शक्तिमा हुँदा अवसरको लागि जयजयकार गर्ने र प्रतिकूल/पराजय हुँदा चमेना गृह देखि हस्ताक्षर सम्मका हर्कत देखाउने प्रवृत्ति पनि राजनीतिक चरित्रहीनको उच्चतम पराकाष्ठाको नमुना मात्र हो।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१