


हो आज उ मर्यो, ठिक भयो उसको शरीरले आराम र आत्माले शान्ति पाएछ।
जिउँदो लास विसाउने ठाउँ नपाएर बग्रेल्ती समस्या लिएर सधै पसिनाले भिज्थ्यो पिडाले असाध्यै हुन्थ्यो। ठिक भयो आज उ मरेछ हाडखोरले पनि आराम पाए । भौतारिने मन र आत्माले दिर्घकालिन रूपमा विश्राम लिएछ। आज सबैले खुसी मनाउनु पर्छ। उत्सव गर्नु पर्दछ विचराले अब घर घर, गाउँ गाउँ समस्या र पिडाको भारी बोकेर कृत्रिम मुस्कान लिएर हिड्न नपर्ने भयो विचराको दुखै हरण भयो।
फेरी उ त्यो किन रोएको होला? अब मेरो पैसा कसले तिर्ला भनेर रोएको विचरा उसको मायाले होइन, उसको पैसा आउँदैन भनेर पैसाको पिरले रोएको। मरेको लास छोपेको कात्रो उठाएर, लासको मुख हेरेर फुल चढाउँदै छ अर्कोले विचरा मर्ने दिन सम्म उसलाई सराप्दै कस्तो अभागी दुःखी कङ्गाल भनेर जीवन भरी नै राम्रो सँग बोलेन आज कात्रो उघारी उघारी अनुहार हेर्ने कत्रो रहर होला? विचरा दिन भरी पसीनाले भिज्थ्यो, रातभरी आसुले सिरानी भिजायो। मर्ने बेलामा बिस्ताराको तन्ना पिसाबले भिजायो, कसैले आसु पुछेन कसैले तन्ना फेरि दिएनन् तर आज नयाँ गुन्द्री नयाँ कात्रोमा बेरिएको छ। धन्य छ तेरो भौतिक शरिरलाई विचरा कयौ दिन रात डाको छोडेर रुन मन लागेको बेलामा बाथरुमको धारा खोलेर मन हल्का हलुङ्गो हुने गरी चिच्याएर रोएको थियो। रोएको अरुले सुन्छन कि भनेर ।
भगवानले पनि न्याय नै गरे, जीवन भर अन्याय गरे पनि आज भने उसलाई न्याय गरे छन्। यो भौतिक संसार बाट बिदा गराएछन् ठिक गरेछन धन्यवाद दिनु पर्छ। तसर्थ सबैले खुशियाली मनाउनु पर्दछ। यो समाजको लागी पनि जिउदो लासले आज सदाको लागी बिदा मागेछ। जब मानिस अर्कोको नजरमा राम्रो बन्ने चाहना राख्दैन तब मात्र मानिस स्वतन्त्र रुपमा बाच्न सफल हुन्छ।

मानिस सबैका लागी र सधै का लागी राम्रो बन्न सक्दैन यो हाम्रो जिवन को कटु सत्य हो। तिमी सबै को नजरमा, सबैको व्यवहार मा असल बन्छु भन्ने कल्पना गरेको भए तिमी सधै नराम्रो र असफल व्यक्ति हो। दार्शनिक सुकरातले सधै असल प्रवचन गरे अन्त्यमा हेमलक विष पिएर मर्नु पर्यो। महात्मा गान्धी जिवन भरी अहिंसावादी आन्दोलन को नेतृत्व गरे, अन्यमा गोली लागेर हिंसा बाट मर्नु पर्यो। भिमसेन थापा इमान्दार बफादारी योद्दा थिए मुलुक र जनता प्रति अगाध प्रेम थियो। अन्तिम मा जेल जिवन बिताउनुपर्यो, र भोलि तिम्रो श्रीमती लाई नाङ्गै शहर घुमाउदै छन भन्ने खबर सुनेर राती नै झ्याल को सिसा फुटाएर आत्महत्या गर्न पुगे, भोलि आफ्नो श्रीमती को नाङ्गो रूप देख्नु नपरोस भनेर। तसर्थ जन्म काखमा सबैको हुन्छ तर मृत्यु धेरैको रागमा हुन्छ।

हाम्रो जिवन को जन्म, जिवन र मृत्यु पक्कै सरल रेखा हुँदैन। जुन मानिस सबैको प्रिय बन्न खोज्छ भने उ एउटाको पनि प्रिय नबन्न पनि सक्छ। जसरी द्रौपदी पाँचपाण्डवहरुकै राम्रो बन्न खोजिन अन्तमा निरबस्त्र हुँदा कसैको पनि राम्रो बन्न सकिनन्। महाभारत को युद्धमा धिृतश्राष्ट अभिभावक थिए। उनी स्वयम इच्छा मृत्यु को वरदान प्राप्त व्यक्ति थिए उनलाई युद्धमा बान लागेर ५६ दिन सम्म गम्भीर चोटमा परेका थिए। उनले कृष्णलाई सोधे मैले कसैलाई केही गरेको थिइन तर मलाई नै किन यस्तो पिडा भयो भनेर सोध्दा कृष्ण ले भने हे पिता मह तपाई सामर्थवान हुँदा पनि द्रौपति लाई नग्न बनाउँदा तपाई केवल दर्शक मात्र भएकाले तपाई रोक्न सक्ने सामर्थ हुँदा पनि रोक्ने प्रयास गर्नु भएन तसर्थ आफु सक्षम शक्तिवान अभिभावक भएर पनि कमजोर अशक्त प्रति न्याय दिन नसक्ने लाई पनि दण्ड र सजाय भोग्न पर्ने भएकाले यो पिडा सहनु को विकल्प नभएको कुरा कृष्ण ले बताएका थिए।
तिमी जिवनभरी नै अर्को को लागी बाच्ने प्राणी भयौ मानौ खेत जोत्न पालेको गोरु। किनकी त्यो पालेको गोरु को स्वतन्त्रता छैन। उ केवल मालिकको निगाहमा नै उसको दिनचर्या चलेको छ। बल्ल आज मरेर गयो बल्ल स्वतन्त्रता प्राप्त ग¥यो अब उसलाई मेरो घरमा के भन्छन, छिमेकीले के सोच्लान समाजले कुन दृष्टीकोण ले हेर्छन भनेर सोच्न पर्दैन। आज जे भयो उसको लागी ठिक भयो।
आज बाट उसका अभाव, तनाव, पिडा, इज्जत, डर, त्रास, नैतिकता, इमान्दारीता का लागी अनिदो रहनु परेन, भोक लाग्यो भन्न परेन, मनभित्र असंख्य पिडा र वेदना भए पनि ठिकै छु, जाती छु, राम्रो छु भनेर कृत्रिम मुस्कान देखाउन परेन। जे गर्यो उसले उसैका लागि मात्र नभएर हामी सबै को लागी अब सधै का लागी राम्रो भयो।
हामीले पनि उसको पिडा र दुख अभाव का गित घर घरमा टोलटोलमा गाउन नपर्ने भयो। हाम्रो पनि काम घट्यो।
तसर्थ कोही रुनुहुन्न, कसैले आसु निकाल्नु हुँदैन। यति धेरै दुख पाउछ भनेर थाहा पाएको भए उ जन्मदा खेरी नै रुने थियौ किन कि अब यो दुखी संसार मा आएर कति दुःखका क्षणमा जिवन विताउन पर्ने भयो भनेर । चाहे जेहोस राम्रो भयो अब सुख पायो। हामीले पनि उसले पाएको दुुख देख्न परेन अव धेरै मलामी पनि जानु पर्दैन किन कि उ गरिब छ । जिउँदो हुदा प्रसंसा गर्न नसक्ने समाज ले मरेपछि धेरै चर्चा गरेर समय पनि खेर नफालौ। उसको शोक सभा गर्नु, फोटो सहित को फ्रेम र चिनी पनि नलैजाउ, किन की १५ दिन पछी त्यति धेरै फ्रेम राख्ने घर पनि छैन उसको लागी चिनी पनि आवश्यक छैन अव उसको याद आउने सबै चिज हटाई सकिएको छ फेरी समाजले थप सम्झना आउने बस्तु लानु पर्दैन मृत्यु पछि गरिने प्रशंसाले खाली समयको बर्वाद मात्र हो, शब्दको खर्च मात्र हो ।
आज गरिने सहयोग, आज गरिने प्रसंसा जिवित हुँदा गरेको भए केही दिन बाच्ने रहर पलाउथ्यो होला। त्यति वेला हामी सँग समय थिएन, शब्द थिएन तसर्थ अब ढिलो गरिदिएको न्याय र मृत्यु पछी गरेको प्रसंसा पनि काम लाग्ने छैन। पिडितको लागी उपयोगी हुदैन। जिवन भरी नै पुर्व जन्मको कर्म र भाग्यको खेल फेरी पुर्व जन्ममा राम्रो कर्म नगरेको परिणाम लगायतका अनेकौ उपहारले सजाउने आफन्त छिमेकी र समाज आज मृत्यु पछीको १ घण्टाको शोक मन्तव्यमा, प्रेरणादायि शब्द मात्र गोहीको आसु भन्दा फरक छैन। परीवारजनमा खाटा वसेको घाउ बल्झाउने विषय मात्र हो। मृत्यु पछी खर्चिने सम्पत्ति, समय र शब्द मरेकाको लागि अर्थहिन रहन्छ। सायदै यिनै कारणले होला पछिल्ला दिनमा मृत्यु भएका व्यक्तिहरुले मृत्यु हुनुपूर्व नै म मरेपछि फोन गरी गरी मलामी नबोलाउनु, शोक सभा नगर्नु, मेरो लासमा झण्डा नओढाउनु, क्रिया खर्च पनि धेरै नगर्नु, मृत्यु जिवनको शास्वत सत्य भएकोले त्यसलाई धेरै सन्देह गरि राख्नु पर्दैन ।
तसर्थ बाच्नेहरु प्रति चिन्ता गर अरु बढी कसरी बचाउनको लागि कसरी सघाउन सकिन्छ भनेर तर मृत्यु प्रति फगत चिन्ता नगर, हिजो हाम्रो समाज बाच र बचाऊ भन्थ्यो तर अहिले नयाँ पुस्ताको नाममा मर या मार सहितको संकल्पले समाजलाई अध्यारो सुरु· तिर डोर्याउदै छ । वर्तमान समाज भन्छ, देशको लागि मर, समाजको लागि मर, तिम्रो झण्डाको लागि मर, तिम्रो जातको लागि मर, तिम्रो धर्म रक्षाको लागि मर, तिम्रो मन्दिर, मस्जितको लागि मर, तिम्रो गुम्बा, चर्चको लागि मर तर तिमी बाच र बचाऊ भन्दैनौ, तिमीलाई बचाउन तिम्रो भविष्य सजाउन मेरो समाज र देशले के गर्नपर्छ भन्दैन, मानिस जन्मे दखि मृत्यु सम्मको कर तन्त्रको मन्त्रले नै वर्तमानमा आत्मदाह गर्नेहरुको संख्या उकालो लाग्ने मुख्य कारण हो । मृत्यु पछिको सहयोग र सम्मानको संस्कारले म मरे भने मेरो परिवारले सहयोग पाउला भनेर परिवारको राहतको लागि भए पनि आत्मदाह गर्न बाध्य पार्ने सरकार, संस्कार र प्रवृत्ति नै बढि जिम्मेवार छन ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१