भउचप्रसाद यादव/बोमलाल गिरी , नवलपुर । बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित सडकको पूर्वी खण्डमा हालसम्म ५०.६२ प्रतिशत भौतिक प्रगति भएको जसमा १२.२३ प्रतिशत अर्थात् ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ । तर आधा काम सकिइसक्दा आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) गर्ने बेलामा गम्भीर लापरबाही भएको पाइएको छ । नवलपुरको देवचुली नगरपालिका–२, दलदलेमा रहेको चौधरी गु्रपको सिजी धाम, चौधरी उद्योग र गैँडाकोट–१२, हर्कपुरमा रहेको चौधरी फाउन्डेसन तथा सिजी उन्नति कल्चरल भिल्ला र फन पार्क अगाडिको राजमार्गको झन्डै सात सय मिटर क्षेत्रफलमा मापदण्डविपरीत चार लेनको मात्र सडक बनाइएको छ ।
सहरी क्षेत्र रहेको यो ठाउँमा हिँड्ने बाटोबाहेक छ लेनको सडक हुनुपर्ने थियो । चौधरी उद्योगले समेटेको यो क्षेत्रमा कसरी सडक खुम्चियो भन्नेमा स्थानीय नै आश्चर्यमा छन् । “त्यही राजमार्ग अन्तर्गत सहर क्षेत्रका अन्य ठाउँमा छ लेनको सडक हुँदा यहाँ कसरी खुम्चियो, हामी आश्चर्यमा परेका छौँ,” स्थानीय रामबहादुर क्षेत्रीले भन्नुभयो ।
गैँडाकोट–१२ का पूर्ववडाध्यक्ष थिरबहादुर बस्नेतले वारिपारि छ लेन र उद्योग अगाडिको झन्डै सात सय मिटर बाटोलाई चार लेनमा झार्दा त्यसले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै रहेको बताउँदै भन्नुभयो, “यस विषयमा ध्यानाकर्षण गराउन दुई पटकसम्म सडक बोर्डमा डेलिगेसन गएका थियौँ । उहाँहरूले माथिबाट जस्तो नक्सा आयो, हामीले त्यस्तै बनाएको हो । नक्सा परिवर्तन गर्न सकिन्न, त्यसका लागि केन्द्र सरकारलाई नै भन्नु पर्छ भन्नुभयो ।” यस विषयमा ध्यानाकर्षण गराउन नगरप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिसमेत बनाएर दबाब दिए पनि समाधान नभएको उहाँको भनाइ छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले पनि यो अचम्मको विषय भएको बताउनुभयो । “बाटो विस्तार गर्दा थुप्रै सर्वसाधारणको जग्गा गएको छ तर उद्योग क्षेत्रको चाहिँ जग्गा छुनै नपाइने हो र ?” नगर प्रमुख अधिकारीले प्रश्न गर्नुभयो । सडक आयोजनाले पनि आफूहरूले डिपिआर अनुसार काम गरेको जनाएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका प्रमुख आशिष थापाले भन्नुभयो, “सम्झौता अनुसारको स्वीकृत दस्ताबेज जे थियो, हामीले त्यसै अनुसार काम गरेका हौँ ।” सडक विभागले भने गैँडाकोटको हर्कपुर र देवचुलीको दलदलेमा रहेको चौधरी गु्रपका उद्योग अगाडिको क्षेत्रलाई जङ्गल क्षेत्र रहेको जनाएको छ । “त्यो बाटोको सर्भे गर्ने बेला त्यहाँ जङ्गल नै थियो, त्यसैले जङ्गल क्षेत्रमा चार लेनको हुने मापदण्ड अनुसार यस्तो भएको हो,” सडक विभागका आयोजना निर्देशक चूडाराज ढकालले भन्नुभयो ।
“राजमार्ग सरकारी जग्गा हो, कसैले सरकारी जग्गा मिच्न पाउँदैन, उद्योग रहेका क्षेत्रमा अहिले ठुलै सहर भएको छ,” आयोजना निर्देशक ढकालले भन्नुभयो, “स्थानीयले छ लेनकै सडक चाहियो भनेमा त्यसलाई विस्तार गर्न पनि सकिन्छ ।” तर चौधरी ग्रुपले भने यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । चौधरी ग्रुपका वरिष्ठ प्रशासन प्रमुख रामकाजी सिटौलाले यसबारे उद्योगलाई कुनै जानकारी नभएको बताउनुभयो । “मैले त छ लेन नै होला भन्ने सोचेको थिएँ तर हामीले बनाएको डिजाइन होइन,” सिटौलाले भन्नुभयो ।
डिपिआर स्वीकृत भएको बेला सडक विभागका महानिर्देशक रहनुभएका कार्कीले नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको डिपिआर एसियाली विकास बैङ्क (एडिबी) को संयोजनमा तयारी भएकाले आफूलाई त्यसबारे केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष देशभरि धेरै सर्भे तथा डिपिआर निर्माणका काम भइरहेका हुन्छन् । सबैको एक/एक लाइन हेरेर साध्य हुँदैन ।”
कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले सडक विस्तारको काम गरिरहेको छ । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ चैतमा शिलान्यास गरिएको यो सडकको अन्तिम पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ । तर थपिएको म्याद सकिन अब तीन महिना मात्र बाँकी छँदा काम भने बल्ल आधा मात्र सकिएको छ । यो समाचार gorkhapatraonline.com बाट साभार गरिएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१