
काठमाडौं । प्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो पन्छाउन पाँच दिन लागेको छ । गत बुधबार राति करिब १० बजे खसेको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझ करिब पाँच बजेमात्र खुलाइएको छ ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको बताए । आइतबार साँझ नै सडक खुलाइए पनि रातिमा यात्रा गर्दा जोखिम हुनसक्ने भएकाले सोमबार बिहानबाट मात्रै यातायातका साधनहरु चल्न दिइएको उनले बताए ।दाङको भालुवाङ–प्युठान सडकखण्ड फराकिलो बनाउने क्रममा भित्ता काट्दा जमिन थर्किएर कमजोर बनेको र ठूलो पहिरो झरेको अनुमान छ । सडकदेखि करिब ५० मिटर माथिबाट खसेको पहिरोले १५० मिटर सडक क्षेत्र ढाकेको थियो । सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकाले पैदल हिँड्न पनि यात्रुलाई सकस भएको थियो ।
प्युठानको बड्डाँडा–चकचके खण्ड कमजोर भौगोलिक बनावट भएका कारण पहिरो झर्ने गरेको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठ बताउँछन् । सडक विस्तारको बेला ठूला मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर जमिन थप कमजोर हुने भएकाले पहिरो झर्ने उनले बताए ।गर्जेनीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान र रोल्पा आउ–जाउ गर्ने यात्रुहरुले देवीस्थान–घोराही सडक (४८ किलोमिटर) प्रयोग गर्न बाध्य भएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१