
म्याग्दी । बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। शनिबार रातिदेखि अवरुद्ध भएको सडक मङ्गलबारसम्म पनि खुलेको छैन। सडक नियमित नहुँदा मुक्तिनाथ दर्शन गरेर फर्किएका यात्रुको सडकमै बास भएको छ। वर्षा नरोकिएका कारण सडकमाथिबाट पहिरो खसिरहेको छ। सडकमाथिबाट खसेको पहिरोका कारण रघुगङ्गा गाउँपालिका–२, बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा बन्द भएको छ । सडकमाथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन। सडकमा सवारीसाधनको लामो लाइन छ।
तीन दिनसम्म सडक खुलाउने प्रयास गरे पनि खुलाउन नसकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो। उहाँले भन्नुभयो, “सडक खुलाउने प्रयास गरे पनि माथिबाट पहिरो खसिरहेको छ। सडकमाथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव छैन।”
सडकमाथिको पाखोमा भूमिगत पानी र पहिरोले जमिन चिराचिरा भएर सडकमा पहिरो खसिरहेको उहाँले बताउनुभयो। वर्षा नरोकिएका कारण पहिरो खसिरहेको छ। सडक नखुल्दा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजनको सडकमै बास भएको बसका चालक प्रकाश सुनारले बताउनुभयो। उहाँले भन्नुभयो, “तीन दिनदेखि सडकमा बसेका छौँ। बसमा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजन छन्। बाटोमा खाना र बास बस्ने होटल पनि छैनन्। सडक खुल्ने आशामा कुरेर बसेका छौँ। आज पनि सडक खुल्ने सम्भावना देखिँदैन। कतिदिन सडकमै बास हुने हो पत्तो छैन।”
सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका यात्रु र मुक्तिनाथ र जोमसोमबाट फर्किएका यात्रु बैसरीमा अलपत्र परेका छन्। बैसरीखण्डमा दुवैतर्फ करिब पाँच सय सवारीसाधन अलपत्र परेका छन्। यात्रु बिच सडकमै सुतेका छन्। बैसरीमा पर्याप्त होटल नहुँदा यात्रुलाई खानाको समस्या भएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१