डुबिसकेको जेठो बैंकलाई स्मार्ट बनाउने स्वप्नकार !


२ मंसिर, काठमाडौं । नेपाल बैंक लिमिटेड अर्थात नेपालको पहिलो बैंक । नेपालको जेठो बैंक भए पनि यो बैंक नम्बर वान हुन भने सकेन । अझ दुःख लाग्दो कुरा त एक पटक झण्डै डुब्नै लागेको थियो । अन्तिम अवस्थामा पुगिसकेको पुगेको सरकारी स्वामित्वको यस बैंकलाई २०५९ सालमा विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो ।

विदेशी व्यवस्थापनले ४ वर्ष चलाएपछि नेपाल राष्ट्र बैंकले बैंक व्यवस्थापनमा हस्तक्षेप गर्यो । राष्ट्र बैंकले आफ्ना कर्मचारी पठाएर ७ वर्षसम्म चलायो र थोरै भए पनि लाइन ल्यायो । विदेशीले ४ वर्ष र केन्द्रीय बैंकले ७ वर्ष व्यवस्थापन जिम्मा लिएको यस बैंक २०७१ सालमा शेयर होल्डरबाट निर्वाचित सञ्चालक समितिलाई व्यवस्थापन जिम्मा लगाइएको थियो ।

सञ्चालक समितिले २०७१ सालमा देबेन्द्र प्रताप शाहलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्‍यो । शाहले नेतृत्व गरेपछि नेपाल बैंक एक उत्कृष्ट वाणिज्य बैंकमा परिणत भयो । उनै साहको बैंकिङ यात्राका विषयमा यहाँ चर्चा गर्दैछौं ।

बैंकिङ नेतृत्व

खास मानिसका खासखास सपना हुन्छन् । उनीहरु आ–आफ्ना सपना साकार लागि पर्छन् । आफ्नो सपना विपनामा अनुवाद हुन नसक्दा मानिसहरु बाँकी जीवनलाई त्यही हारमुनि राखेर जिउँछन् । देबेन्द्रप्रताप शाह भने पहिले नसोचेको क्षेत्रमा लागेर सफल भएका मानिसमा पर्छन् ।

शाहले पूर्ण सरकारी स्वामित्वको कृषि विकास बैंकमा शाखा अधिकृत स्तरबाट बैंकिङ करियर शुरु गरेका थिए । स्थापना पछिको लामो समयसम्म कृषि विकास बैंकमा कमर्सियल बैंकिङ कारोबार हुँदैनथ्यो । शाह सम्झन्छन्, ‘रुरल डेभलपमेन्टका कामहरु भएकै बेलामा कृषि बैंकमा ३० वर्ष बिताएँ ।’

०२९ सालदेखि बैंकिङ करियर शुरु गरेका शाह कृषि विकास बैंकमा केहि वर्ष काम गरेर चार्टड एकाउन्टेन्सी अध्ययनका लागि भारत गए । उनी चार्टड एकाउन्टेन्ट बनेर फर्कदा कृषि विकास बैंकले कमर्सियल बैंकिङ कारोबार समेत शुरु गर्न लागेको थियो । बैंकले कमर्सियल बैंकिङ कारोबार गर्ने विभागको प्रमुख शाहलाई नै बनायो । ३० मा पछिल्लो ५ वर्ष प्रमुख कार्यकारी अधिकृत रहेका शाह ४५ वर्षको उमेरमा कृषि विकास बैंकबाट रिटायर्ड भए ।

देवेन्द्रप्रताव धादिङको मैदीमा जन्मिएका हुन् । जन्मघर धादिङ भए पनि उनले सानैदेखि राजधानी काठमाडौंमा पढ्न पाए । त्यसबेला गाउँघरमा बालबच्चा पढाउनु पर्छ भन्ने चेतना कमै थियो । शिक्षित परिवारमा जन्मिएका कारण शाहका लागि भने शिक्षा आर्जन सहज भयो । उनले उच्च शिक्षा पनि काठमाडौंमै लिए । शाहले त्रिभुव विश्वविद्यालयबाट कमर्शमा स्नातकोत्तर र कानूनमा स्नातक गरेर भारतबाट चार्टड एकाउण्टेन्सीको अध्ययन गरे ।

उच्च शिक्षा अध्ययनका क्रममा शाह साहित्यकार र साहित्यिक पत्रकारसमेत बने । ०२७ सालतिर उनी कविता लेखनमा सकृय बने । ०३८ सालमा साझा प्रकाशनले उनको कथा संग्रह अपरिचित देश प्रकाशन गर्‍यो । त्यस अवधिमा उनले विभिन्न पत्रकापत्रिकाका लागि चर्चित साहित्यकारहरुको अन्तरवार्ता लिने पनि गरे, जुन पछि संग्रहको रुपमा प्रकाशित भयो । उनी भन्छन्, ‘२०२७ सालमा त्रिचन्द्र क्याम्पसमा पढ्दा साहित्य र पत्रकारिता क्षेत्रमा रुची बढ्यो ।’ तर, उनको प्रारब्धमा अर्थोकै लेखिएको रहेछ । त्यसैले, बिचैमा सुरु भएर सफल पनि भयो उनको बैंकिङ जीवन ।

जागिरमा उतार चढाव

०६४ साल भदौमा शाहलाई सरकारले बीमा समितिको अध्यक्षमा नियुक्त गरेर नियमनकारी निकायमा काम देखाउने अवसर दियो । शाहकै कार्यकालमा ४ वटा बीमा कम्पनीहरुले सञ्चालन अनुमति पाएका थिए । आफू अध्यक्ष भएका बेला फाइनान्सीयल सुधारहरु धेरै भएको शाह बताउँछन् । समितिको नेतृत्व राम्रैसँग गरिरहेको भए पनि सकार परिवर्तनको असर स्वरुप उनले राजिनामा दिनु पर्‍यो ।

तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला डा. बाबुराम भट्टराई अर्थमन्त्री बने । भट्टराई अर्थमन्त्री बनेसँगै राजिनामा दिन मन्त्रालयकै अधिकारीहरुले उनलाई सुझाएका थिए । शाह भन्छन्, ‘प्रत्यक्ष नभने पनि त्यस्तो आशय व्यक्त गर्न थालिएपछि अध्यक्ष पदबाट राजीनामा दिएँ ।’

बीमा क्षेत्र सुधारका कतिपय विषयमा उनले चाल्न खोजेका कदमहरु बोर्डकै सहयोगका कारण सफल हुन सकेनन् । खासगरेर जीवन विमा र निर्जिवन बीमा कम्पनीहरुले प्रस्तुत गर्ने वित्तीय विवरणमा सुधार गर्ने गर्ने शाहको प्रयासमा बोर्ड सदस्यहरुले असहयोग गरे । उनले बीमा क्षेत्रमा वित्तीय विवरणको ढाँचामा भने परिवर्तन गरेरै छाडे ।

थोरै समय नेतृत्व गरे पनि बीमा समितिमा शाहका पालामा भएका सुधारहरु अहिले पनि स्मरणीय छन् । कतिपय काम दक्ष जनशक्तिको अभावका कारण पनि गर्न नपाएको उनको अनुभव छ । ‘विदेशबाट प्राविधिकहरु ल्याएर भए पनि बीमा क्षेत्र सुधारमा धेरै काम गर्ने सोच बनाएको थिए’ उनी भन्छन्, ‘यस बिषयमा विश्व बैंकसंग कुरा गर्दा सहयोगको प्रतिवद्धा जनाएका थिए ।’

तत्कालीन अर्थमन्त्री भट्टराईले आफू माताहतका सबै निकायमा नयाँ मान्छे ल्याए राम्रो काम हुन्छ भन्ने रणनीति बनाएर गल्ती गरेको उनको ठम्याइ छ । पुरानै मान्छे भए पनि सहकार्य राम्रो भए काम हुने उनी बताउँछन् । भट्टराईले नयाँ रणनीतिअनुसार माताहतका कार्यालयहरुमा नयाँ मान्छे ल्याए पनि परिवर्तन हुन नसकेको उनको ठम्याइ छ ।

शाहको नेतृत्वमा नेपाल बैंकमा फड्को

साह ०७१ सालमा नेपाल बैंक प्रवेश गरेका हुन् । ०५९ साल साउनदेखि ०६४ साउनसम्म विदेशी व्यावस्थापनले जिम्मा लिएको बैंकको व्यवस्थापनमा सुधार आउन सकेन । त्यसपछिको ७ वर्ष राष्ट्र बैंकले हस्तक्षेप गरेर २०७१ सालमा फिर्ता गरेको थियो, जहाँ देबेन्द्रप्रताव शाह बोर्डबाट नियुक्त हुने पहिलो सीईओ बने ।

नेपाल बैंकमा निक्षेप र ब्याज आम्दानी ऋणात्मक रहेको र घाटा पनि अत्यधिक भएको अवस्थामा शाहले सीईओको जिम्मेवारी पाएका थिए । नाफा नभएको, पुँजी पनि एकदमै थोरै रहेको अवस्थामा नेतृत्वमा पाएका उनले बैंकमा धेरै सुधार गरे ।

नेपालको बैंकिङ इतिहास ढड्डाबाटै शुरु भएको हो । सरकारी बैंकहरु त अहिले पनि प्रविधिमा निकै पछाडि छन् । नेपाल बैंकले पनि निकै पछि मात्र प्रविधि अपनाएको हो । शाह सीईओ भएर आएको एक वर्षमा अर्थात २०७२ सालमा नेपाल बैंकबाट ढड्डाको कारोबार विसथापित भयो । शाहले ढड्डा विस्थापन मात्र गरेनन्, सफ्टवेयरलाई अत्याधुनिक र एकै किसिमको पनि बनाए । ४ वर्षको अवधिमा बैंकको चोला नै फेरिएको उनको दाबी छ । अहिले उत्कृष्ट वाणिज्य बैंकहरुको सूचीको शीर्ष तीन स्थानमा नै नेपाल बैंक रहेको छ ।

नेपाल बैंकमा निक्षेप र ब्याज आम्दानी ऋणात्मक रहेको र घाटा पनि अत्यधिक भएको अवस्थामा शाहले सीईओको जिम्मेवारी पाएका थिए । नाफा नभएको, पुँजी पनि एकदमै थोरै रहेको अवस्थामा नेतृत्वमा पाएका उनले बैंकमा धेरै सुधार गरे ।
नेपाल बैंकमा शाह आएपछि क्रमशः नाफा बढाउँदै लगे । नाफाका हिसाबले गत आर्थिक वर्षमा नेपाल बैंक तेस्रो नम्बरमा छ । गत आर्थिक वर्षमा यसले ३ अर्ब ३९ करोड रुपैयाँ भन्दा बढी मूनाफा कमाएको थियो । चालु आवको पहिलो त्रैमासमा मात्रै ९१ करोड मुनाफा यस बैंकले कमाएको छ । आज मूनाफाकै दृष्टिले पनि धेरै गुणा सुधार भएको छ ।

पुँजी तरलता अनुपात १० भन्दा माथि हुनुपर्ने राष्ट्र बैंकले तोकेको छ । शाह आएको बेला ४.५८ प्रतिशत थियो । अहिले २३ दशमलव ९ छ । यो नेपालका बैंकहरुको मध्ये सम्भवतः सबैभन्दा धेरै हो । अब नेपाल बैंकलाई स्मार्ट बैंक बनाउने आफ्नो चाहाना रहेको उनी बताउछन् ।

शाहको नजरमा वर्तमान बैंकिङ

यतिबेला बैंकहरुमा (लगानी योग्य रकम) तरलता समस्या व्यापक छ । तरलता अभाव भएका कारण बैंकहरुले यतिबेला लगानी गर्न सकेका छैनन् । दशैं अगाडि कर्जा लगानीमा आक्रामक बनेका यतिबेला तरलता अभाव सिर्जना भएको हो । नेपाल बैंकमा भने यो समस्या नरहेको बैंकर शाह बताउँछन् । उनी भन्छन्– ‘हामीले समयमा नै बुद्धि पुर्‍याएर एफपीओ जारी गर्‍यौं, अहिले हामीलाई तरलताको कुनै समस्या छैन ।’

एफपीओबाट साढे ५ अर्ब रुपैयाँ आएको र निक्षेप पनि राम्रै भएको कारण वर्तमान अवस्थामा लगानी योग्य पुँजीको अभाव नरहेको उनको दाबी छ ।

मुलुकमा बैंकहरुको संख्या अधीक भएका कारण अस्वस्थ प्रतिस्पर्धासमेत बढेको शाह बताउँछन् । उनले भने, ‘पुँजी बढाएको हुनाले मुनाफा आर्जनमा बैंकहरुलाई दबाव छ । प्रतिशेयर आम्दानी बढाउनु पर्छ भन्ने बैंकलाई छ । नाफामा बैंक केन्द्रित हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । यस्तै–यस्तै समस्याका कारण लगानीयोग्य पुँजीको अभाव भएको छ ।’

पहिले गैरसरकारी संस्था (एनजीओ) दर्ता गरे जसरी बैंकलाई लाइसेन्स दिएका कारण समस्या परेको उनी बताउँछन् । बैंकहरुको संख्या अधिक भएको भन्दै यो संख्या घटाउनुपर्ने उनको भनाई छ । मुलुकमा स्थिर सरकार आएकाले धेरैले विजनेश गर्ने मनस्थिति बनाएका कारण बैंकमा कर्जाको माग बढेको उनी बताउँछन् ।

सीआरआर रेसियो ६ बाट घटाएर ४ मा ल्याइएको छ । यसले तरलता ल्याएको छ । तर, सीसीडी रेसियो ८० प्रतिशत नै भएका कारण लगानी गर्न नपाएको उनी बताउँछन् । यद्यपि बैंकहरुको चुक्ता पुँजी ८ अर्ब भने पर्याप्त भएको उनी बताउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
  • कृषि सेवाहरुको पहुंच बढाउनका लागि मध्यविन्दु नगरपालिकामा अन्तक्रिया
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution