सोलुखुम्बु । पर्यटन सिजनको सुरुमै मौसम प्रतिकुलताका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र भएका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरी मौसमले चुनौती दिएको हो । तीन दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटकहरू मौसम सुधारको पखाईमा बसिरहेका छन् ।
भिजिबिलिटी कम भएकाले उडान ठप्प रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज द्वारिकालाल अछामीले बताउनुभयो । अछामीका अनुसार रामेछापबाट लुक्ला आउनका लागि करिब दुई हजार पर्यटक पखाईमा रहेका छन् । उडान नहुँदा अलपत्र यात्रीका लागि रामेछापमा अस्थायी बासको प्रबन्ध पनि भइरहेको छ । अधिकांश विदेशी पर्यटकलाई यतिखेर रामेछापदेखि मुलकोटका होटल, टेन्टमा बसोबासको व्यवस्था गरिएको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।
दैनिक दुई वटा ट्विनअटर जहाजमार्फत १५ वटा उडान गर्दै आएको कम्पनीले चार दिनयता कुनै उडान गर्न नसकेको उहाँले बताउनुभयो ।
आइतबार दिउँसोसम्म रामेछाप–लुक्ला तीनवटा हेलिकोप्टरले मात्र उडान गरेको लुक्ला विमानस्थलले जनाएको छ ।बडादसैँको महाअष्टमीका दिनसम्म तारा, सीता र समिट एयरका रामेछाप–लुक्ला दैनिक ३० वटा नियमित तथा नन–सेडुल उडान हुँदै आएको थियो । तीन दिनदेखि मौसम प्रतिकुलताका कारण फिक्स विङतर्फका तीन वटै कम्पनीको जहाज उड्न नसकेको समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताउनुभयो ।बाक्लो कुइरोका कारण भिजिबिलिटी अत्यन्त न्यून रहेकोले हवाईजहाज तथा हेलिकप्टर कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटरभन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ । सिजनको सुरुमा नै मौसमले साथ नदिँदा समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१