सल्यान । सल्यान दार्मा गाउँपालिका ५ बछेलाकी १९ वर्षीय विन्दु खड्काको एक महिनाको बच्चा छ ।
एक महिना नपुगेकी सुत्केरी खड्का न्यानोमा बसेर झोलिलो खानेकुरा खानु पर्ने समयमा घरबाहिर त्रिपालमुनि रात कटाउँदै आइरहनु भएको छ ।
त्रिपालमुनिको असुरक्षित बास थाहा हुँदा हुँदै पनि उहाँ १ महिनाको सानो बच्चा लिएर मङ्सिरको चिसो सिरेटोमा पनि रात कटाउँदै आइरहनु भएको छ । गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले घर बस्न नमिल्ने गरी चर्काएपछि उहाँ त्रिपालमुनि बस्दै आउनु भएको हो । एक महिनाकी सुत्केरी खड्कालाई पालमुनिको रात निकै लामो लाग्छ ।
एक त पालमुनिको असुरक्षित बास, त्यसमा पनि एक महिनाको बच्चाको साथमा, चिसोका कारण बच्चालाई रुघा लाग्नुका साथै आफू समेत बिरामी पर्न थालेको बताउनु भयो । उहाँले भन्नु भयो ‘आफूमात्र भएको भए जसोतसो रात काट्थे होला तर एक महिनाको छोरी साथमा हुँदा रातको समयमा राम्रोसँग निदाउन पनि सक्दिन । जति नै आगो बाले पनि तातो नै हुँदैन खुट्टा सुनिएका छन् ।’
दार्मा ५ कै तीन महिनाकी सुत्केरी पुष्पा केसी पनि भूकम्पले घर भत्काएपछि पालमुनि रात कटाउँदै आइरहनु भएको छ । घर अघिको आँगनमा पाल टाँसेर बस्दै आइरहनु भएको छ । राहतस्वरुप पाएको त्रिपाल टाँगेर बस्न मिल्ने बनाए पनि सुत्केरीलाई भने निकै कष्टकर हुँदै आइरहेको उहाँको भनाई छ । न पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने लत्ताकपडा नै छन् न सुत्केरीमा खाने मिठो मसिनो नै । भूकम्पले सबै सपनामाथि पानी खन्याइदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले खाने भन्दा पनि सानो सानीलाई चिसोबाट कसरी बचाउने भन्ने मात्र पिर रहेको छ । घर भित्रै बस्दा त चिसोले छाडेको थिएन पालमुनि बस्दा कतिको चिसो भएको होला आफै अनुमान गर्नुस ।’ दिनमा खासै समस्या नभए पनि रातको समयमा निकै समस्या हुने गरेको छ उहाँले भन्नुभयो । ‘बिहान शीत चुहिएर ओछ्यान भिजेको हुन्छ । सानो बच्चालाई रातभर कति चिसो हुन्छ होला ।’
सुत्केरीसँगै यहाँका गर्भवतीलाई समेत समस्या भएको छ । चिसोमा रात काट्न निकै समस्या हुने गरेको खिमा खड्काले बताउनुभयो । सुत्केरी हुने समय आइसकेको बताउँदै उहाँले यो चिसोमा बच्चा र आफूलाई कसरी सुरक्षित राख्ने भनेर अहिलेदेखिनै चिन्ताले सताउने गरेको बताउनुभयो । चिसोका कारण २ वर्षको छोरालाई रुघाखोकीले सताइरहेको खड्काको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१