


नवलपुर। नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती स्थित फलफूल चोक– बालुवाडाँडा – बोझापोखरी सडक निर्माणको काम सुरु भएको सात वर्ष बितेको छ । जिल्लाको पहाडी क्षेत्रलाई सदरमुकामसँग जोड्ने सडकका रुपमा रहेको यस सडक सात वर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न हुन नसकेको हो । फलफूल चोक – बालुवाडाँडा – बोझापोखरी बीस किलोमिटर सडक निर्माणको काम बिस २०७४ मा अघि बढेको थियो । बीस किलोमिटर मध्य १४ किलोमिटरसम्म कालोपत्रे गर्ने र ६ किलोमिटरमा सबबेस सम्मको काम गर्ने गरि सन्तोषी – रौताहा – हरिहरि जेभिले सम्झौता गरेको थियो । करिब रु. ४० करोडको लागतमा स्तरोन्नतिका काम अघि बढाएको यो खण्डमा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर हिमांशु कुँवरले बताउनुभयो ।
यस खण्डको पछिल्लो पटक थपिएको म्याद गत चैतमा सकिएको छ । अहिले म्याद थप नभएपनि निर्माण कम्पनीले काम गरिरहेको इन्जिनियर कुँवरले बताउनुभयो । म्याद थपको कुनै प्रक्रिया नबढेमा नियमानुसार ढिलो गरेकोमा क्षतिपूर्ती तिराइने उहाँले बताउनुभयो । बीस किलोमिटर मध्य करिब ७ किलोमिटरमा कालोपत्रेको काम भएको छ । ७ किलोमिटरमा नाला निर्माण गर्ने र सब बेसको काम भएको उहाँले बताउनुभयो । बाँकी ६ किलोमिटरमा केही क्षेत्रमा पहिरोले क्षति पुर्याएकोले सफा गरेर काम सबबेसको काम गर्न बाँकी रहेको छ ।

निर्माण कम्पनीले नियमित काम गरे असार सम्ममा निर्माण सम्पन्न हुन इन्जिनियर कुँवरले बताउनुभयो । ‘ बिचमा छ/सात महिना ठेकेदार सम्पर्क नआएर काम रोकिएको हो, नियमित काम गरे असार सम्ममा सक्ने सम्भावना रहेको छ’ उहाँले भन्नुभयो । एकैपटक निर्माण सुरु भएको पोखरी – कोखेटार सडक भने गतवर्ष निर्माणको काम सकिएको छ ।
पहिलो खण्डमा पाङ्ग्रे क्षेत्रमा पहिरोका कारण काम गर्न असजिलो रहेको इन्जिनियर कुँवरले बताउनुभयो । यस खण्डमा हालकै सम्झौताबाट पहिरो नियन्त्रणको काम गर्न नसकिने उहाँले बताउनुभयो । ‘पाङ्गे्र खण्डमा पहिरोको जोखिम छ, यसको नियन्त्रणका लागि छुट्टै अध्ययन तथा लागत अनुमान गरि काम गर्नुपर्ने देखिएको छ’ कुँवरले भन्नुभयो ।
कावासोतीको फलफूल चोकबाट सुरुहुने यो सडक बालुवाडाँडा , कुमसोत, पोखरी हुँदै बुलिङटार स्थित कालिगण्डकी करिडोरको कोखेटारमा जोडिन्छ । यस सडक निर्माण सम्पन्न हुँदा जिल्लाको पहाडी क्षेत्रका पालिकाहरू बुलिङटार , बौदीकाली र हुप्सेकोटको केही वडाका बासिन्दालाई सदरमुकाम कावासोती आउन सहज हुने छ । साथै कावासोतीबाट कालिगण्डकी करिडोर पुगेर तनहुँको भिमाद ,खैरेनीटार हुँदै पोखरा जान समेत सहज हुनेछ ।
जिल्लाका लागि महत्वपूर्ण सडक भएकाले निर्माणको काम जतिसक्दो चाँडो हुनुपर्ने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो । केहिदिन अघि मात्रै आफूले बालुवाडाँडा क्षेत्रमा बाटो निर्माणको निरीक्षण गरि सक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गरेको उहाँले बताउनुभयो । यो बाटो निर्माणको काम सकिँदा पहाडी क्षेत्रबाट सिधै सदरमुकाम आउन सहज हुने हुँदा यसले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा सुविधा मात्रै नभएर सो क्षेत्रका कृषि उपजको बजारीकरणमा समेत सहयोग पुग्ने जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१