
कावासोती । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार साँझ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको आयोजनामा मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जलि दिइएको हो । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सागर न्यौपाने सहित उपस्थित विद्यार्थीहरुले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मैनबत्ती बालेका थिए ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य न्यौपानेले विमान दुर्घटनाको छानविन गर्न समिति गठन भइसकेको भन्दै चाँडो भन्दा चाँडो छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने माग गरेका छन् । यस्तो दुःखद् घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ । अनेरास्ववियु नवलपुर अध्यक्ष बिष्णु पौडेलको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रम जिल्ला सचिव प्रशान्त सिग्देलले सञ्चालन गरेका थिए ।
आइतबार काठमाडौंबाट पोखराको लागी उडेको यति एयरको जहाज पोखरा सेतीनदीको खोँचमा दुर्घटना भएको थियो । जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए । जसमध्ये ६९ जनाको शव फेला परेको छ । भने ३ जना अझै बेपत्ता छन् । गण्डकी अस्पतालमा मृतकको सनाखत गर्ने काम भइरहेको छ । प्रहरीले सनाखत भएका शवको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१