
जनकपुरधाम । धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या भएको छ ।आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुबै युवकको शव फेला परेको छ । दुईसाता अघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए ।गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमवारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।अपहरणकारीले बिष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।भारतीय प्रहरी र नेपाल प्रहरी दुबै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए ।
तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडयो ।आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।‘अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रिय पूर्वक लागेका थियौं । अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले मात्र सुनेर हामीलाई समयमा जानकारी दिएनन् । त्यसकारण दुर्भाग्यवस हामी बचाउन सकेनौं’, एसपी खड्काले भने ।
घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका एसपी खड्काले जानकारी दिए । उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।‘शव कानुनी प्रक्रिया पुर्याएर ल्याउन यहाँबाट प्रहरीटोली उत्ता पुगेको छ । को को घटनामा संलग्न छ भने डिटेल खुलिसकेको छ । पाँचजना पक्राउ परिसकेका छन्’ एसपी खड्काले अनलाइनखबरसँग भने ‘चारजना फरार छन् । उनीहरुको खोजीकार्य जारी छ ।’जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा बिष्णुको हत्या भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१