
३० वैशाख, काठमाडौं । नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्र्दै विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको धारणा राखे ।
बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए । उनले क्षणिक स्वार्थमा अहिलेका नेताहरुले काम गरिरहेको र देश अफ्ठ्यारोमा पर्दा विदेश भागेर जाने आरोप लगाए ।प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताइन् । उनले सरकारले जनतालाई आँखामा छारो हालिरहेको बताए ।प्रदर्शनकारीहरुले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरुले ठगिरहेको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१