
चितवन ।भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए ।अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा रु १२ करोड रकम बढी भुक्तानी भएको हो । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका सम्पर्क व्यक्ति लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको अझै रु १० करोड दाबी गरेर पठाइएको रकम आउन बाँकी छ । अघिल्लो आवमा अस्पतालले बीमा कार्यक्रममार्फत रु ३० करोड ७९ लाख भुक्तानी पाएको थियो ।अस्पतालको तथ्याङ्कअनुसार आठ हजार तीन सय ९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै स्वास्थ्य बीमामार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी आठ हजार रहेका छन् । राज्यको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा जति प्रत्यक्ष राहत दिने महत्वपूर्ण कार्यक्रम अन्य नदेखिएको उहाँले बताउनुभयो ।अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बिरामी स्वास्थ्य बीमाबाट सेवा लिने गरेका छन् । उनान्तीस प्रतिशतले मात्रै शःशुल्क सेवा लिने गरेको उहाँले बताउनुभयो । विसं २०७४ भदौ १ गतेदेखि अस्पतालमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म आठ लाख पटक सेवा दिइएको छ ।
सेवाग्राहीको आकांक्षा र सेवा प्रदायकको कार्यक्रम समन्वय नहुनु, औषधिको उपलब्धता र गुणस्तरमा समस्या देखिनु, दाबी भुक्तानीमा समस्या देखिनु, सेवाग्राहीले सेवा लिन आउँदा आफू अपमानित भएको महसुस गर्नुजस्ता कारणले सेवामा अझै चुनौती रहेको उहाँले बताउनुभयो ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले सङ्घीय सरकारले दिने बजेटभन्दा बीमा कार्यक्रमबाट प्राप्त दाबी भुक्तानी रकम बढी भएको बताउनुभयो । कार्यक्रमलाई अझै सेवाग्राहीको चाहनाअनुरुप गर्न नसकिएको भन्दै उहाँले बिरामीका लागि थप संरचना निर्माण गरेर सेवा दिइने बताउनुभयो । यसका लागि आवश्यक जमिनसमेत अस्पतालसँग नभएको उहाँको भनाइ छ । उहाँले आगामी दिनमा बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजान अस्पताल लागि पर्ने बताउनुभयो । अस्पतालमा एमआरआइसमेत ल्याइँदै छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा दिन सुरु गरिएसँगै रेफर भएर अन्यत्र निजी अस्पताल जानुपर्ने बिरामीको बाध्यता घटेर जाने उहाँको भनाइ छ ।अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले देशकै अस्पतालमा बीमा कार्यक्रम सबैभन्दा प्रभावकारी भरतपुर अस्पतालमा भएको बताउनुभयो । यससँगै देखिएका समस्याको खोजी गरी निराकरणका लागि पहिलो पटक आजदेखि सबै विभागका कर्मचारी समावेश हुने गरी तीन दिने योजना तर्जुमा गोष्ठी गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालका राम्रा पक्षलाई अघि बढाउँदै लैजाने र समस्याको निराकरण गरेर सेवाग्राहीलाई सेवा दिने काममा हामी जुटेका छौँ ।” चितवनसहित छिमेकी जिल्लाबाट समेत बिरामीले स्वास्थ्य बीमामा प्रथम विन्दु भरतपुर अस्पताललाई बनाउने गरेका छन् । रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१