
नारायण शर्मा , नवलपुर ।गण्डकी प्रदेशको त्रिवेणीधामबाट चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम जाने बाटो बन्ने भएको छ । त्रिवेणीधामबाट झोलुंगे पुल तरेपछि नारायणी नदीको किनारैकिनार वाल्मीकि आश्रमसम्म पैदलमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालका अनुसार प्रदेश सरकारबाट प्राप्त रकमबाट त्यहाँ ढुंगा ओछ्याएर पैदलमार्ग बनाइने भएको हो ।
करिब १६ सय मिटर लामो सडक निर्माण भएपछि तीर्थालुहरु नेपाली भूभाग हुँदै सोझै वाल्मीकि आश्रम आउजाउ गर्न सक्छन् । नारायणी नदीपारिको चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम पुग्ने नेपाली भूभागबाट सडक नभएका कारण त्यहाँ तीर्थालुहरु भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्रिवेणीधाम गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका-६ र ७ मा पर्दछ भने वाल्मीकि आश्रम वाग्मती प्रदेशअन्तर्गत चितवन निकुञ्जभित्र पर्दछ ।
चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा नगरपालिकाको ध्यान पुगेको छैन । त्यहाँ हालै निर्माण सम्पन्न भएको झोलुंगे पुल तरेर नदी किनारैकिनार पैदलमार्गबाट भक्तजनहरु पुग्ने व्यवस्था मिलाएपछि वाल्मीकि आश्रममा पर्यटकीय चहलपहल हुने विश्वास छ ।
परापूर्वकालमा वाल्मीकि ऋषिले तपस्या गरेको स्थललाई वाल्मीकि आश्रम भनिन्छ । त्यहाँ सीता पाताल गएको, राम सीताका छोरा लव र कुशले अब्वमेग यज्ञ गरेको लगायतका ऐतिहासिक स्थल रहेका छन् । ‘ट्र्याक निर्माण भए पनि नारायणी नदीमा पुल नभएकाले गाडी र मोटरसाइकल लैजान मिल्दैन,’ स्थानीय राम सुवेदी भन्छन्,’पैदलयात्रुलाई सुविधा पुग्छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१