
चितवन।भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६–५९७००३ मा फोन गरेर ‘रिङ्गटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ ।यो सेवाअन्तर्गत रोग र उपचारसम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकसँग परामर्श लिन सकिने उहाँले बताउनुभयो । अर्को महिनादेखि भिडियोबाट समेत सेवा दिने योजना अस्पतालले बनाएको उहाँले जानकारी दिनुभयो ।यो सेवाअन्तर्गत रोग, उपचार र अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी परामर्श लिन सकिने उहाँको भनाइ छ । सामान्य समस्या लिएर अस्पतालसम्म बिरामी आउन नपरोस् भन्नका लागि सेवा सुरु गरिएको पौडेलले बताउनुभयो । यसको प्रभावकारितालाई हेरेर सेवा विस्तार गरिनेछ ।अस्पतालले फोनबाटै औषधिसम्बन्धी जानकारीसमेत दिन सुरु गरेको छ । पौडेलका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म यो सेवा दिन सुरु गरिएको छ । उहाँका अनुसार औषधिसम्बन्धी साधारण परामर्शका लागि ९८०९१८१३०० वा ०५६–५९७००३ मा फोन गरी १६६ मा डायल गर्न सकिनेछ ।बिरामीले औषधिसम्बन्धी जिज्ञासा वा जानकारी फोनबाट लिन पाउने भएपछि सानातिना समस्याका लागि अस्पताल धाउन नपर्ने उहाँले बताउनुभयो ।
अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार घरमा वृद्धवृद्धा मात्रै भएका ठाउँमा औषधि सेवनमा समस्या आउने गरेको छ ।ज्येष्ठ नागरिकहरुले एकैजनाले धेरैथरी औषधि खानुपर्ने र छुट्याउन नसक्दा कतिपय थप समस्या लिएरसमेत अस्पताल आउने गरेको उहाँले बताउनुभयो । यो सेवाबाट पूरै समाधान नभए पनि केही हदसम्म सहयोग पुग्ने उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, “परिवारमा ज्येष्ठ नागरिक मात्र हुँदा औषधि खुवाउने विषयमा जान्ने बुझ्ने मान्छेले नियमित परामर्श दिन जरुरी छ ।” कतिपयले एउटै औषधि दुई पटक खाने, कुनै समय औषधि खान भुल्नेजस्ता समस्याले रोग बल्झने गरेको चिकित्सकहरु बताउँछन् ।वरिष्ठ फिजिसियन महेन्द्र अग्रहरीले छोराछोरी विदेशमा रहेर वृद्ध बाबुआमा मात्रै यहाँ भएकामा औषधिको धेरै समस्या आउने गरेको बताउनुभयो । तोकिएको मात्राअनुसार औषधि नखाँदा समस्या हुने गरेको उहाँको भनाइ छ । रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१