
गोरखा । गण्डकी गाउँपालिका–८ बाट दुई वन्यजन्तुको उद्धार भएको छ । एक साताको अवधिमा एक एक वटा शालक र हुचिलको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।गत भदौ ३० गते शालक जंगलबाट बस्ती पसेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा सबडिभिजन वन कार्यालय सिउरेनटारको प्राविधिक टोलीले शालकको उद्धार गरेको हो ।उद्धार पश्चात उक्त शालकलाई उपयुक्त वासस्थानमा छाडिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । उनका अनुसार नेपालमा चाइनिज र इण्डियन गरी दुई प्रकारका शालक पाइन्छन् ।उद्धार गरिएको शालक चाइनिज प्रजातिको हो । ‘गोरखा जिल्लाको वन क्षेत्र शालकका लागि उपयुक्त वासस्थान मानिन्छ’, उनले भने, ‘त्यसैले यहाँ धेरै शालक भेटिने गर्छन् ।’उनका अनुसार शालकलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अति संकटापन्न वन्यजन्तुमा राखेको छ । नेपालले भने संरक्षित स्तनधारी वन्यजन्तुको सूचीमा राखेको छ ।
त्यस्तै गत बिहीबार कार्यालयले हुचिलको पनि उद्धार गरेको छ । घ्याल्चोकमा घरभित्र पसेको हुचिललाई सव डिभिजन वन कार्यालय सिउरेनटारको टोलीले उद्धार गरेको हो । ‘स्थानीयको घरमा पसेपछि हामीलाई खवर भयो,’ कार्यालयका सूचना अधिकारी पौडेलले भने, ‘हाम्रो टोली गएर उद्धार गरेर ल्यायो ।’घाइते अवस्थामा भएकाले सिउरेनटारको कार्यालयमा सुरक्षित साथ राखेर उपचार भइरहेको उनले बताए । केही दिन पश्चात उचित वासस्थानमा लगेर छाडिने उनले जानकारी दिए ।उनका अनुसार हुचिललाई पाल्न र किनबेच गर्न प्रतिवन्ध लगाइएको छ । खेतीवाली नष्ट गर्ने मुसा यसको मुख्य आहार भएकाले पनि यसलाई किसानको साथीको रुपमा लिइन्छ । कार्यालयका अनुसार नेपालमा २३ प्रकारका हुचिल पाइन्छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१