
छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित कानपुरमा अनौठो घटना भएको छ । त्यहाँका एकजना किसान बाख्राको विरुद्धमा फूल चोरीको उजुरी गर्नका लागि प्रहरी चौकीमा पुगेपछि प्रहरीहरु नै तिनछक परे ।केही बाख्राहरु आफ्नो खेतमा पसेर सयपत्री फूल खाइदिएको ती किसानले बताएका छन् ।उनले फूल खाँदै गरेको अवस्थामा दुईवटा बाख्रालाई रंगेहात पक्रिएका थिए । र, तिनै बाख्राहरुलाई अटो रिक्सामा राखेर उनी प्रहरी चौकी पुगे । फूल चोरीको आरोपमा अभियुक्त बाख्रासहित किसान उजुरी गर्न आएपछि प्रहरी पनि असमञ्जसमा परेको छ । आखिर ती बाख्राविरुद्ध कुन अभियोगमा कारबाही गर्ने?यो घटना भीतरगाउँ इलाकाको गौरी काकरा गाउँमा भएको हो । त्यस क्षेत्रमा फूलको खेती हुने गर्दछ । स्थानीय किसान शैलेन्द्र निषादले पनि फूल खेती गर्दै आएका छन् । यो वर्ष उनले सयपत्री फूल लगाएका थिए आफ्नो खेतमा । तर, पछिल्ला दिनहरुमा शैलेन्द्र चिन्तित थिए । किनकि उनको खेतमा फूलेका फूलहरु बेलुकीको समयमा कसैले सुटुक्क टिपेर लैजाने गरेको रहेछ ।
उनले गाउँलेहरुलाई आफ्नो फूल कसैले टिपेको पो हो कि भनेर सोधनी पनि गरे । तर, केही पत्ता लागेन । अन्ततः उनले आफ्नो खेतका फूलहरु चोर्ने फूलचोर पत्ता लगाउने निधो गरे । गत सोमबार शैलेन्द्र फूल बेच्न सहर गएनन् । उनी सुटुक्क लाठी लिएर फूल रोपेको खेतमा गएर निगरानी गर्दै लुकेर बसे । त्यस क्रममा उनले साँझपख चार पाँचवटा बाख्राको बथान आएर फूल खान थालेको फेला पारे ।आफूले दुःख गरेर हुर्काएका फूलहरु बाख्राले कपाकप खाइदिन थालेपछि शैलेन्द्रको रिसको पारो तात्यो । उनी दौडिएर ती बाख्रा समाउन गए । तर बाख्राहरु भागे ।अन्तिममा उनले दुईवटा बाख्रालाई चाहिं समाइछाडे । उनी तिनै दुईवटा बाख्रालाई लिएर सडकमा आए अनि अटोरिक्सामा राखेर सीधै प्रहरी चौकीमा गए ।चौकीमा बाख्रालाई लिएर तिनै बाख्राविरुद्ध उजुरी गर्न आएका शैलेन्द्रलाई देख्दा प्रहरीलाई पनि अनौठो लाग्यो । शैलेन्द्रको गुनासो सुनेपछि प्रहरीले ती बाख्राको मालिकको खोजीनीति गर्यो । ती बाख्राहरु गाउँकी एक महिलाका रहेछन् ।
अन्ततः ती महिलालाई पनि चौकीमा बोलाएर केरकार गरियो । त्यसक्रममा ती बाख्रालाई बाँधेको दाम्लो कोही मानिसले फुकाइदिएका कारण बाख्राहरु खेतमा पसेको खुल्न आयो । प्रहरीले आगामी दिनमा आफ्नो घरमा पालेका बाख्राहरुलाई राम्रोसँग सम्हाल्न भन्दै पुनः त्यसरी फूल खाइदिएमा कारबाही गर्ने भन्दै बाख्राधनीलाई चेतावनी दियो ।बाख्राधनी महिलाले सो घटनाका लागि फूलधनीसँग माफी मागेपछि फूलधनी शैलेन्द्रले प्रहरीमा कुनै लिखित उजुरी दर्ता गराएनन् । तथापि सो घटना स्थानीय क्षेत्रमा निकै चर्चाको विषय बन्न सफल भयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१