
‘सरकारले हामी जस्ता गरिबलाई न आफ्नो देशमा रोजगारी दिन्छ न त अरुको देशमा कमाएको पैसाले ढुक्कसँग बाँच्न दिन्छ । हामी जस्ता मजदुरहरुलाई लुट्नकै लागि भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाइएको छ’, खत्री आक्रोशित सुनिए ।खत्रीले वनगाउँमा खोका राखेर भारतीय रुपैयाँ सटही गरिराखेका विचौलियाले सुरु १० प्रतिशतका दरले दुई लाख साट्दा २० हजार मागेपनि अन्तिममा १० हजारमा मानेको बताए । नेपालमा भारतीय रुपैयाँ नचल्ने भएका कारण बाध्य भएर विचौलियालाई कमिसन तिरेर साट्नुपरेको खत्रीले सुनाए । ‘अब यो साट्नैपर्ने बाध्यता भइहाल्यो नि ?’, खत्रीले भने, ‘त्यहाँ नसाटे नेपालमा चल्दैन । सटही काउन्टरहरुले पनि हिजोआज के गर्ने गरेका छन् थाहा छैन । यो बाध्यताको अन्त्य गर्न सरकार गम्भीर बनोस् ।’ धान रोपेर उत्तराञ्चल प्रदेशको कुल्लु मनाही गएका उनी घरपरिवारसँग दशैँ मनाउन स्वदेश फर्किएका हुन् ।लम्कीकै जनकबहादुर शाहीले सीमा क्षेत्रमा निकै दुःख पाइएको सुनाए । भारतीय रुपैयाँ सटही, सुरक्षाकर्मीले चेकजाँचका नाममा दिने दुःखका कारणले सास्ती खेप्नुपरेको उनको गुनासो छ ।‘तपाईंले जति भारतीय पैसा साट्नुहुन्छ त्यसको १० प्रतिशत कमिसन हामीलाई चाहिन्छ नभए नेपालमा यो नोट चल्दैन लगेर के गर्नुहुन्छ ? भनेर हामीलाई विचौलियाले दुःख दिए’, शाहीले भने, ‘बाध्यताले नोट उनीहरुसँगै साटियो । अलि वर पुग्दा चेकिङका नाममा भारतीय एसएसबीले अनावश्यक केरकार गरेर दुःख दियो । हामीले भारत आउँदाजादा कहिलेसम्म उहाँहरुले दिने सास्ती खेप्नुपर्ने हो ?’

दार्चुलाको शैल्यशिखर नगरपालिका–३ का मनोज धामीले पनि उस्तै गुनासो गरे भारतको सीमावर्ती बजार वनगाउँदेखि गौरीफन्टा नाकासम्म विचौलियाहरुको बिगबिगी रहेको उनको भनाइ छ । भारतीय रुपैयाँ साट्ने मात्र नभइ अनेक बहानामा ठग्ने, दुःख दिने र चर्को भाडा असुल्ने समूह नाका क्षेत्रमा सक्रिय रहेको उनी बताउँछन् ।‘म विगत पाँच वर्षदेखि भारतको दिल्लीमा एउटा होटलमा काम गर्दै आएको छु । सीमा नाकामा दुःख पाइन्छ भनेर घर, परिवारका लागि मनि ट्रान्सफरबाट पैसा पठाएको थिएँ,’ धामीले भने, ‘अलिअलि बाटो खर्च लिएर आएका कारण सटही गर्नेहरुबाट ठगिएन तर भारतीय र नेपाली सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिने गरेका छन् ।’ नेपाली अटो रिक्सा चालकहरुले गौरीफन्टा नाकाबाट धनगढी चौराहसम्म लगेको एक सयदेखि डेढ सय रुपैयाँसम्म असुल्ने गरेको नेपाल फर्किनेहरुको गुनासो छ ।
प्रजिअ भन्छन् ट्ठ नेपालभित्रै साट्ने व्यवस्था गर्छौं
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँ सटहीको विषय दुई पक्षको आपसी समझदारीको भएको बताए । तर भारतबाट फर्किरहेका नेपालीलाई खल्तीमा नगद बोकेर नआउन र सकभर भारतबाटै नेपालमा रहेका आफन्तको खातामा पैसा जम्मा गर्न आग्रह गरेका छन् ।‘यो कुरा दुई पक्षको आपसी सहमतिमा हुने होला । हामी कहाँ त्यसरी कसैले पनि उजुरी वा गुनासो गर्नुभएको छैन’, डीएसपी चन्दले भने, ‘तर दशैं मनाउन भारतबाट फर्किने दाजुभाइहरुलाई सकभर नगद नल्याउन आग्रह गर्छौं । उतैबाट पठाउनुस्, ल्याउनै परेमा मनी एक्सचेन्ज सेन्टरमा गएर साट्नुस् ।’कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दशैं मनाउन घर फर्किने नेपाली नोट सटहीका नाममा चर्को रकम लिएको विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले नेपाल राष्ट्र बैँकमा गएर भारतीय रुपैयाँ साट्न सकिने भएकाले सबैलाई विचौलियासँग कारोबार नगर्न आग्रहसमेत गरे ।‘अहो ! यो निकै गम्भीर कुरा हो । अहिलेसम्म कतैबाट गुनासो आएको थिएन । अब हामीलाई जानकारी भयो । त्यसरी नेपाली मजदुरबाट सटहीका नाममा चर्को रकम लिनेहरुलाई कारवाहीको दायरामा ल्याउन पहल गछौं’, उनले भने ।
प्रजिअ कट्टेलले राष्ट्र बैँकसँग समेत यो विषयमा कुराकानी गर्ने र सटहीको सहज व्यवस्था गर्ने बताए ।कट्टेलले दशैं मनाउन भारतबाट स्वदेश फर्किनेहरुको जानकारीका लागि भारतीय नोट सटहीको व्यवस्थाबारे सूचनामार्फत जानकारी गराउने समेत बताए ।भारतबाट फर्किने नागरिकले अनावश्यक दुःख नपाउन् भनेर नाका क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको, चोरी तस्करी नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।