


काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न आफू तयार रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

प्रवक्ता जयसवालले कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि सञ्चालन हुँदै आएको उल्लेख गर्दै लिपुलेक लगायतका क्षेत्रमा नेपालको एकतर्फी दाबी स्वीकार्य नभएको बताएका छन् । “भारत र नेपालबीच रहेका बाँकी सबै विषयमा हामी छलफल गर्न तयार छौँ । यदि सीमा विवाद छ भने पनि वार्तामार्फत समाधान खोज्न सकिन्छ,” उनले भने, “तर एकतर्फी रूपमा कुनै क्षेत्र आफ्नो भएको दाबी गर्नु उपयुक्त तरिका होइन ।”

भारत र चीनले जुनदेखि अगस्टसम्म भारत नियन्त्रित नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर तीर्थयात्रा पुनः सञ्चालन गर्ने तयारी गरेपछि नेपालले आपत्ति जनाएको थियो । त्यसपछि नेपालको परराष्ट्र मन्त्रालय ले आइतबार विज्ञप्ति जारी गर्दै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जानकारी दिएको थियो ।
नेपालले सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली नदीपूर्व पर्ने नेपालको अभिन्न भूभाग रहेको अडान दोहोर्याएको थियो । नेपालको उक्त विज्ञप्तिपछि भारतको विदेश मन्त्रालयले पनि प्रतिक्रिया जनाउँदै लिपुलेक आफ्नो भूभाग भएको दाबी गरेको थियो । त्यसै सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले सीमा विवादमा संवाद र छलफलका लागि भारत तयार रहेको बताएका हुन् ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१