


मानिसको जीवनको सुरुवात आमाको गर्भ हुदै काखबा जिवनको उदय हुन्छ । आमाको काखमा रहँदा आफ्ना दुई वटा सन्तान नै समान रूपले वृद्धि विकासको आशा गरेकी हुन्छिन् । तर पनि दुई सन्तान मध्ये एक सन्तान स्वास्थ्यको कारणले अब्वल, सक्षम भएन भने उसलाई निर्बलियोलाई अतिरिक्त आहार, स्वास्थ्य स्याहार बढि गर्दिन्छिन् । अर्थात समय विकासको लागि समतामूलक व्यवहार गर्दै सकारात्मक विभेद व्यवहार अपनाउ छिन् । त्यो मातृवात्सल्यको स्थापित रूप हो । त्यसले के सिकाउँछ भने कमजोरलाई थप प्रेरणा, हौसला बढाउँदै जीवनलाई आशामुखी बनाउन मद्दत पुर्याउँछ । जब तिनै दुई विद्यार्थीको रूपमा विद्यालयमा पढ्न जान्छन् तब एउटा विद्यार्थी विद्यालयले सीमित गरेको अध्ययनलाई कागजी रुपमा अब्बल बन्दछ । तब उसलाई सम्मान र धन्यवाद, अबिर–माला र पुरस्कारले विजेता घोषणा गरिन्छ । त्यसैसँगै गएको अर्को विद्यार्थी विद्यालयले तोकेको प्रतिस्पर्धीको पर्खाल पार गर्न सक्दैन अनि उसलाई तिरस्कारको तिरले विद्यालय, साथी, सङ्गी, छिमेकी र परिवारले समेत तिरस्कारको तिरको प्रहार सहन बाध्य छ । विचार गर्न सक्दैन तर बाच्नको लागि र बाच्ने आधार स्कुलको किताबका अक्षरबाट मात्र होइन, त्यो भन्दा बाहिर पनि विशाल संसार छ भनेर वैकल्पिक सम्भावनाको ढोका खुल्ला छ । तिम्रो स्कुलको एउटा ढोका बन्द भएर केही हुँदैन भनेर बाच्नको लागि भविष्य साच्न अझ धेरै सम्भावनाको ढोका खुल्ला छन् भन्नेहरु पनि उसले नपाउन सक्छ । त्यो कथित फेल बनाएको विद्यार्थीलाई यता जाँदा पनि फेल भएको, उता जाँदा पनि त्यति पनि पास गर्न नसकेको, घरमा गयो आजसम्मको मेहेनत, लगानी खेर गयो । उ फलानोको छोराको कत्रो इज्जत छ, सम्मान छ ।

आज स्कुलले सम्मान गर्यो रे, पालिकाले गर्यो रे, यति पुरस्कार पायो धेरै भनेर गिज्याउँछन् । त्यो पास हुन नसकेको विद्यार्थीलाई पागल मात्र होइन मर्न बाध्य बनाउने कारण नै प्रतिस्पर्धाको कथित खेल हो । उ पास नभएर के भो त? उसले खेतबारीमा श्रम गर्न जानेको छ, गोठमा गाई–भैंसीलाई घास–पानी दिने, दुध दुहुने काम गर्छ । घरमा बा वा आमा बिरामी हुँदा साथ सहयोग गर्छ । अतिथि सत्कार, सामाजिक काममा समेत निपुण छ । उ श्रम गरेर पनि बाच्न मात्र होइन बचाउन पनि सक्छ भनेर हौसला दिने थलो उसले भेटेको छैन । परिवारमा नभएको प्रतिस्पर्धा उसले विद्यालय गएर थाहा पाएको छ । जहाँ ज्ञान, सृजनशील बनाउने, जीवनलाई आशामुखी बनाउने, उर्जावान बनाउने ठाउमा प्रतिस्पर्धाको नाटक गरेर मर्ने वातावरण बनाउने स्थानलाई नै विद्यालय भन्नु पर्ने ।

पुँजीवादी शिक्षा प्रणालीले खाली प्रतिस्पर्धी गराउन बाध्य बनाउँछ । प्रतिस्पर्धाकै कारणबाट विभेद जन्मायो । कमाउने र थुपार्ने प्रतिस्पर्धाकै कारण धनी र गरिबको खाडल फराकिलो बन्दै गयो । शिक्षामा पनि प्रतिस्पर्धाकै कारणले सँगै पढ्ने साथीले एउटाले पुरस्कार पाउँछ भने अर्कोले तिरस्कार पाउँछ । प्रतिस्पर्धा भनेको सक्नेले नसक्नेलाई मर्न बाध्य पार्ने अघोषित विष हो । अर्थात् सक्नेले नसक्नेलाई सिध्याउने खेल हो । पुँजीवादले प्रतिस्पर्धा गराउँछ भने समाजवादले सृजनशील र सहकार्य गराउँछ । राइट दाजुभाइले कसको प्रतिस्पर्धाको लागि जहाज बनाए ? सिङ्गो मानव समुदायको लागि सृजनशीलताको लागि बनाएका थिए । सम्पति कमाउने प्रतिस्पर्धाको नाममा संसारभरीका मानिसलाई पुग्ने सम्पति एलन मक्स जस्ता पाँच जना पुँजीपति व्यक्तिले कब्जा गरेका छन् । तिनै सीमित व्यक्ति अर्थात् पुँजीपतिहरू सङ्गठित छन् र तिनीहरुले नै संसार कब्जा गर्ने संस्था बनाएका छन — जुन अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क, एसियाली विकास बैङ्क यी सबै सीमित पुँजीपतिहरूकै हितको पक्षमा योजना बनाउँछन् । वर्तमान अवस्थामा ९ करोड न्युरोन भएका मानिस २४ घण्टा श्रम गर्दा पनि भोकमरी, अभाव, रोगबाट पीडित छन् । र ८ अर्ब मानिसलाई पुग्ने अन्न उत्पादन भएको छ, तर सीमित धनाढ्यहरूले थुपारेर कुहिएपछि समुद्रमा फाल्छन्, तर मूल्य घट्न दिँदैनन् । एसिया, अफ्रिका लगायत देशमा भोकमरी सृजना गर्ने काम पनि प्रतिस्पर्धाकै कारणबाट भएको छ । ८ अर्ब जनसंख्यालाई पुग्ने अन्न उत्पादन गर्ने प्रविधि छन, उत्पादन पनि भएको छ, तर वितरण प्रणालीको संयन्त्र मुठीभर धनाढ्यसँग छ ।
कतिपय अवस्थामा नेपाल सरकारले खाद्यान्नको न्यूनतम मूल्य तोक्छ । उक्त मूल्यमा व्यापारीले खरिद नगरेको अवस्थामा सरकारले खरिद गर्ने व्यवस्था नभएको कारणबाट कृषकले आफ्नो गर्जो टार्नका लागि भएपनि भारतीय व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य छन् । यस्तो अवस्थामा नेपाल खाद्य संस्थानले खरिद गरेर खाद्यान्न अभाव हुँदा सस्तो मूल्यमा अनुदान सहित वितरण प्रणाली नअपनाउनु भनेको तिनै बहुराष्ट्रिय पुँजीपतिको पक्षपोषण गर्नु नै हो । अर्थात् अब नागरिकलाई भोकभोकै मर्न बाध्य पारिएको छ । नेपाली समाजलाई सपना बिहिन उपभोक्तावाद तर्फ उन्मुख गराइँदै छ । वर्तमान सरकार नवउदारवादको कारणले यसले भुमि सुधारका मुद्दा उठाउँदैन । अब समुदाय नै शक्तिशाली नभएसम्म हाम्रो लागि हुने परिवर्तन अरूबाट सम्भव छैन । नागरिकलाई आत्मनिर्भर बनाउन सके देश स्वतः आत्मनिर्भर बन्दछ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रका विद्यार्थीले निश्चित समयसम्म किताबी ज्ञान प्राप्त गर्ने र बाँकी समय उत्पादनका कार्यमा सहभागी हुने । राष्ट्रिय सड्ढट पर्दा सेना, प्रहरी वा सुरक्षाको काममा भुमिका निर्वाह गर्ने, सामान्य अवस्थामा खाद्यान्न, वस्तु उत्पादनमा संलग्न हुने व्यवस्था मिलाउने । हामीसँग विभिन्न धर्म मान्ने समुदायहरू छन् । ती धार्मिक समुदायहरू धर्म प्रचारमा प्रतिस्पर्धा भन्दा बढी उत्पादन कसरी गर्ने भन्ने प्रतिस्पर्धा गर्न सक्यौ भने हामीले मानव/जीवजन्तु सबैको कल्याण गर्न सक्छौँ । अन्यथा धर्मको नाममा समुदायलाई उत्पादनबाट विमुख बनाउने कामले शान्ति स्थापना गर्दैन, अझ बढी अभाव, लडाईँ, झगडा र विद्रोहको सामना गर्नुपर्ने हुन्छ । चिनमा बौद्ध धर्म गुरुहरुले प्रत्येक घर–घरबाट एक–एक जना बौद्ध भिक्षु बनाउनु पर्छ भनेर अनिवार्य गर्न थाले । त्यसपछि माओत्सेतुङले सबै नागरिक धर्म प्रचारमा मात्र हिँड्ने हो भने तिनै धर्म प्रचार गर्नेलाई, बालबालिका, वृद्ध लगायतलाई कसरी खाद्यान्न प्राप्त गराउन सकिन्छ? भनेर भनेपछि बौद्ध भिक्षुको संख्यामा ह्रास/कटौती गरी खाद्यान्न उत्पादनका लागि नागरिकलाई विशेष सुविधा सहित प्रोत्साहन गर्ने व्यवस्थाको कारणले अहिले चीन आत्मनिर्भर बन्न पुगेको छ । व्यक्तिगत प्रतिस्पर्धा भन्दा पनि सामूहिक प्रोत्साहनको कार्यले समान विकास र विस्तारमा योगदान पुग्दछ । सामूहिक विकासबाट नै सामूहिक नेतृत्व विकास हुन्छ भने, सामूहिक नेतृत्वबाट नै नव प्रवद्र्धन, सृजनशीलता, नविनतम विचारको जन्म भई व्यक्ति नेतृत्व क्षमताको पनि अतिरिक्त विकास हुन पुग्दछ । जस्तै माहुरी, ध्याकुरी/कमिला कर्याङकुरुङ नामका चरा/कीराहरू कहिल्यै एउटाले अर्कोलाई सिध्याउने खालको प्रतिस्पर्धा गर्दैनन् र प्रतिशोधको आगो पनि सल्काउदैनन । अब हाम्रो लडाईँ पनि नागरिकलाई भोकभोकै मर्न बाध्य पार्नेहरूको विरुद्धमा एकबद्धता हुनुपर्दछ । हामी आपसमा जातको लागि, धर्मको लागि, वर्गको लागि होइन, हाम्रो गरिबी, अभाव, दबाब, पछौटेपन, अन्धविश्वास र रुढिवादको विरुद्धमा हो । हाम्रो मुख्य शत्रु भोकमरी, असुरक्षित बसोबास, अस्वास्थ्य र अशिक्षा नै हो ।
वर्तमान अवस्थाको गरिबीलाई विज्ञान, प्रविधि र सामाजिक न्यायले मात्र मेट्न सक्छ । धर्मका ठेकेदार, पुरोहित वर्गहरूबाट कहिल्यै मेट्न सकिदैन । किनकि विज्ञान भन्दा धर्म धेरै पहिले नै उत्पत्ति भएको भएपनि धर्मले हाम्रो भोकमरीको अन्त्य गर्न सकेन । विज्ञान प्रविधिको कारणले नै निर्माण, उत्पादन र उपचारमा विकास तथा विस्तार भएको छ । हामीहरूलाई विद्यालय र अस्पतालमा राज्यको पहुँच चाहिएको हो, मन्दिर, चर्च, गुम्बा र मस्जिदमा होइन । तसर्थ प्रतिस्पर्धा पनि व्यक्ति–व्यक्ति बीच धर्म धर्म बीच, जात जात बीच होइन। हाम्रो साझा शत्रु भोकमरी, अभाव, स्वास्थ्य, शिक्षा बिहिन बनाउने प्रणाली र प्रथा नै हुन्। तसर्थ यिनीहरुको अन्त्य हाम्रा पुस्ताले गर्न सक्यौँ भने हाम्रा भावी पुस्ताले न्याय पाउन सक्छन्।
मानिसको जीवनमा कहिल्यै आवश्यक नपर्ने रक्सीको स्टक कहिल्यै सकिँदैन, सधैँ भइरहन्छ। अन्न उत्पादनको लागि चाहिने मलको स्टक सधैँ सकिन्छ । अनि यो देश कृषि प्रधान देश हो कि रक्सी प्रधान देश हो? रक्सी र चुरोट उत्पादन गर्ने सधैँ मालामाल, अन्न उत्पादन गर्ने सधैँ बेहाल छ। गरिबले एक गिलास दुध समेत खान नपाएर कुपोषणले बालक ग्रसित छ, तर पशुपतिमा दैनिक माटोको साँढेलाई हजार लिटर दुध खुवाइन्छ। अस्पतालमा बिरामी उपचार गर्न नसकेर मृत्यु कुरेर बस्न बाध्य छन, तर मन्दिर, चर्च, मस्जिद र गुम्बामा सुनको छानो छ। अब हामी दल, धर्म, जातको पछि लाग्ने कि यो बेथितिको विरुद्धमा लाग्ने? तसर्थ प्रतिस्पर्धा व्यक्ति–व्यक्ति बीच होइन प्रतिस्पर्धा साझा शत्रु भोकमरी, अभाव, पछौटेपन, गरिबी, रुढिगत मान्यता, विभेद (जात, धर्म, लिङ्ग, वर्ण, वर्ग विरुद्धमा) र शिक्षा र स्वास्थ्यको प्राप्तिको लागि प्रतिस्पर्धा गर्नुपर्ने छ। व्यक्तिगत प्रतिस्पर्धा, दलीय प्रतिस्पर्धा, धार्मिक प्रतिस्पर्धा, जातिगत प्रतिस्पर्धाबाट माथि उठ्न नसक्नु नै हाम्रो लागि साझा चुनौती हो।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१