


नवलपुर। नेकपा (एमाले) मध्यविन्दु नगर कमिटीले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने उद्देश्यसहित ‘मिसन पार्टी जागरण अभियान’ सुरु गरेको छ। अभियानको औपचारिक शुभारम्भ शुक्रबार मध्यविन्दु नगरपालिकाबाट गरिएको हो। आगामी दिनमा नवलपुरका सबै स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी एमालेले गरेको जनाएको छ।
पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने, नेता–कार्यकर्ताबीचको आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउने तथा आम जनतासँग प्रत्यक्ष संवाद विस्तार गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको एमालेले जनाएको छ। अभियानमार्फत पार्टीका नीति, कार्यक्रम र आगामी कार्यदिशाबारे जनस्तरसम्म जानकारी पुर्याउनुका साथै स्थानीय तहमा संगठनलाई थप क्रियाशील बनाउने उद्देश्य रहेको बताइएको छ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज तिलक महतले पार्टीलाई जनताको भावना र आवश्यकतासँग अझ नजिक जोड्न यस्ता अभियान प्रभावकारी हुने बताए। उनले संगठनलाई समयानुकूल थप गतिशील बनाउन नेता–कार्यकर्ताले गाउँ–टोलसम्म पुगेर जनताका समस्या, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्नुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र वैचारिक स्पष्टता, अनुशासन र संगठनात्मक एकतालाई थप मजबुत बनाउन अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जनताको विश्वास जित्न पार्टीका हरेक तहका नेता–कार्यकर्ता जनताबीच निरन्तर सक्रिय हुनुपर्ने बताए। उनले स्थानीय सरकार र पार्टीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै विकास, सुशासन र जनसेवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी नेकपा (एमाले) नवलपुर जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले पार्टीको संगठनात्मक सुदृढीकरण अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै अभियानले प्रत्येक वडा र टोलसम्म पार्टीलाई थप सक्रिय बनाउने विश्वास व्यक्त गरे। जिल्ला सचिव भीमलाल कँडेलले अभियान केवल औपचारिक कार्यक्रम नभई संगठन विस्तार, सदस्यता व्यवस्थापन, जनसम्पर्क वृद्धि तथा पार्टीको नीति–विचार जनस्तरसम्म पुर्याउने दीर्घकालीन अभियान भएको बताए।
एमालेका अनुसार ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत स्थानीय तहमा अन्तरक्रिया, घरदैलो, टोलभेला, संगठन विस्तार, सदस्यता नवीकरण तथा जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम सञ्चालन गरिनेछन्। अभियानमार्फत स्थानीय तहमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउनुका साथै जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
मध्यविन्दुबाट सुरु भएको यो अभियान क्रमशः नवलपुरका सबै नगरपालिका र गाउँपालिकामा विस्तार गरिने एमालेले जनाएको छ। पार्टीले अभियानलाई संगठन निर्माणसँगै जनताका समस्या बुझ्ने, सुझाव संकलन गर्ने तथा आगामी राजनीतिक रणनीतिलाई जनमुखी बनाउने अवसरका रूपमा लिएको जनाएको छ।
कार्यक्रम नेकपा (एमाले) मध्यविन्दु नगर कमिटी अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा तथा नगर कमिटी सचिव कृष्ण गैरेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, नगर, वडा तथा जनसंगठनका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१