


कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान करिब १०ः५५ बजे देवचुली नगरपालिका–१७ स्थित झरहेखोलामा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २३०३ नम्बरको बसले बेल्डिहाबाट रजहरतर्फ आउँदै गरेको ग प्र ०४००२ प ४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका–१२ निवासी ३५ वर्षीय हेमलाल लामिछाने गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएकोमा उपचारकै क्रममा दिउँसो १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरमा सवार स्याङ्जा रापाकोट निवासी करिब ६७ वर्षीय लिलाधर चापागाईं घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले स्कुटर, बस र बस चालक देवचुली नगरपालिका–१४ निवासी ४२ वर्षीय ध्रुवनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१