नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास ।


दयाराम आचार्य  ।कावासोती।  जिल्लामा सोमबार एकै दिन तीन वटा अस्पतालको शिलान्यास गरिएको छ । नवलपुरमा बौदिकाली गाउँपालिका, गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास गरिएको हो । जिल्लाको बौदिकालीमा रकुवा प्राथामिक स्वास्थ्य केन्द्र,देवचुलीको दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्र र गैंडाकोटमा रहेको पितौजीघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गरिएको हो ।

पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिकाको वडा नम्बर २ डेढगाउँको रकुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । देशै भरि ३ सय ९६ वडा अस्पताल शिलान्यास गर्ने क्रममा बौदिकालीमा समेत १५ शय्याको अस्पतालको शिलान्यास गरिएको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल शिलान्यास गरिएको हो ।

बौदिकालीमा अस्पतालको आज गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले शिलान्यास गर्नुभएको छ । अस्पताल शिलान्यास गर्दै अध्यक्ष रानाले अस्पताल निर्माणले पहाडी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवालिन सहजता हुने बताउनुभयो ।

बौदिकालीमा अस्पताल निर्माणकालागि ३ करोड २३ लाख रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भने ३० लाख विनियोजन गरिएको छ । शिलान्यास गरिएको अस्पताल दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो । पहाडी क्षेत्रकालागि अस्पताल निर्माण हुनु महत्वपूर्ण कुरा भएको भन्दै दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी आफूहरू लागि पर्ने उहाँले बताउनुभयो । जति सक्दो चाडो अस्पतालबाट आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले निर्माणको कार्यलाई अगाडि बढाइने उहाँले बताउनुभयो । भवन निर्माणको लागि आवश्यक प्रक्रिया गाउँपालिकाले सुरु गरिहाल्ने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो ।

शिलान्यास कार्यक्रमको अध्यक्षता रकुवा प्राथामिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एँव वडा अध्यक्ष बाल प्रसाद ठाडाले गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा नेकपा बौदिकालीका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, नेपाली कांग्रेस गाउँपालिका सभापति भानु ओझा लगाएत विभिन्न व्यत्तित्वको उपस्थितिरहेको थियो ।

१५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कावासोतीमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु
  • २५ वर्षपछि नेपाल गण्डक नहरको बृहत सरसफाई
  • कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ
  • भ्रष्टचार नियन्त्रणका लागि नागरिक सचेत हुनुपर्छ : प्रजिअ पंगेनी
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution