कावासोती । भदौ २४ गतेको आन्दोलनले कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसाललाई गहिरो व्यक्तिगत क्षति पुर्याएको छ। उहाँले २०५० सालमा आफ्नै श्रम र साधनले बनाएको घर आज भग्नावशेष बनेको छ। आन्दोलनको दोस्रो दिन घरमा भएको नियोजित आक्रमणपछि उहाँको निजी जीवनमा ठूलो बज्रपात आएको छ। श्रीमती र बुहारीका गहना लुटिएका छन्, नातिहरूका स्कुलका किताब र जुत्ता खरानी भएका छन्, र घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट भइसकेका छन्।
नगरप्रमुख भुसालले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोख्दै भनेका छन्— “२०५० सालमा बनाएको मेरो घर आज भग्नावशेष बनेको छ। श्रीमती–बुहारीका गहना लुटिएका छन्, नातिहरूका स्कुलका किताब–जुत्ता खरानी भएका छन्, घरभित्र सबै चिज नष्ट भइसकेका छन्।” उहाँले यस घटनालाई केवल व्यक्तिगत क्षति मात्र नभई, लोकतान्त्रिक मुल्य–मान्यतामाथिको चोटको रूपमा पनि बुझ्न आग्रह गर्नुभएको छ। नगरप्रमुख भुसालले आन्दोलनको पहिलो दिन ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। तर दोस्रो दिन भने उहाँ आफैंको घरमाथि नियोजित आक्रमण भएको दाबी गर्नुभएको छ। भदौ २४ गते मंगलबारको साँझ, एक आक्रोशित भिडले घरको तल्लो तलामा रहेका सटरमा ठूला ठूला आवाज गर्दै प्रहार गरिरहेको अनुभव उहाँले गर्नुभयो। त्यतिबेला उहाँ आफ्नी श्रीमती, छोरा, बुहारी तथा सात र ११ वर्षका नातिनातिनीहरूसँग घरमै हुनुहुन्थ्यो। ती भिडलाई सम्झाउने कुनै अवस्था नभएको भन्दै उहाँले तत्काल जिल्ला प्रशासन कार्यालय र प्रहरीसँग सम्पर्क गर्नुभएको थियो, तर तत्काल सहयोग नपाएपछि आफूले परिवारसहित ज्यान जोगाउन भाग्नु परेको उहाँको अनुभव छ।
आफ्नै घर छाड्नुपरेको क्षणलाई स्मरण गर्दै नगरप्रमुख भुसाल लेख्नुहुन्छ— “सानो सात वर्षको नाति मस्त निदाइरहेको थियो। हामी आत्तियौं, जसरी थियौं त्यसरी नै नातिलाई बोकेर घरबाट निस्कन सक्यौं। त्यसपछि एउटा कोठामा कैदीझैं चार घण्टा लुकेर बस्यौं।” उहाँका अनुसार ती क्षणले साना नातिनातिनीहरूको मानसिक स्थितिमा गहिरो असर पारेको छ। घरमा भएका भौतिक क्षतिका साथै भावनात्मक धरोहरमाथि पनि प्रहार भएको गुनासो नगरप्रमुख भुसालले गर्नुभएको छ। सीसीटीभी फुटेजमार्फत केही अनुहार चिनिएका देखिएको उल्लेख गर्दै उहाँले एक व्यक्तिले आफ्ना दिवंगत बुबा–आमाको तस्बिर रहेको फ्रेममा लात हानेको दृश्य देखेर भक्कानिनु परेको उल्लेख गर्नुभएको छ। “म दुई वर्षको हुँदा आमा गुमाएको व्यक्ति हुँ। त्यही तस्बिर बजारिरहेको सहनै सकिन,” उहाँले लेख्नुभएको छ।
घरका धाराहरू भाँचिएका छन्, शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ, सबै कोठामा क्षति पुगेको छ। श्रीमती र बुहारीका गहना लुटिएको, सम्पूर्ण सामग्री नष्ट भएको, र नातिहरू त्रसित बनेको भन्दै उहाँले आजको अवस्थालाई “सन्नाटा मात्र बाँकी रहेको घर” भनेर वर्णन गर्नुभएको छ। घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी कारबाहीको माग गर्दै नगरप्रमुख भुसालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई तुरुन्त कदम चाल्न अनुरोध गर्नुभएको छ। उहाँले क्षणिक आवेगमा गरिएको तोडफोड कसैको आक्रोशको शान्ति त हुन सक्छ तर त्यो समाधान होइन भन्दै सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आह्वान गर्नुभएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१