



खेम नारायण महतो
कावासोती । नेपाल लोकतान्त्रिक थारु संघ कावासोती नगर कमिटीको निर्वाचन लक्षित नगरस्तरीय बैठक बिहीबार सम्पन्न भएको छ। बैठक कावासोती नगरपालिका–७ रामनगरस्थित खुला चौरमा आयोजना गरिएको थियो।

आयोजकका अनुसार नवलपुरका निर्वाचन क्षेत्र नम्बर १ र २ का सहभागीहरूलाई सहज पहुँच हुने तथा थारु समुदायको बाक्लो बसोबास रहेको स्थान भएकाले सो स्थानमा बैठक आयोजना गरिएको हो।

बैठकका प्रमुख अतिथि नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय उपाध्यक्ष चिन्तामणि चौधरीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो गाउँ–ठाउँमै रहेर नेकपा (एमाले) को मत सुरक्षित गर्न आग्रह गरे। उनले गण्डकी प्रदेशमा थारु समुदायको जनसंख्या करिब ४७ हजार रहेको उल्लेख गर्दै थारु समुदायको प्रतिनिधित्व गर्ने दल एमाले भएको बताए।

चौधरीले नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा भागिरथ सापकोटा र क्षेत्र नम्बर २ मा तिलक महतलाई अत्यधिक मत दिएर विजयी गराई संसदमा पठाउनु थारु समुदायको दायित्व भएको बताए। विभिन्न दल निर्वाचन प्रतिस्पर्धामा रहेकाले अन्य दलबाट भ्रम सिर्जना हुन सक्ने भन्दै उनले सूर्य चिन्हमा मतदान गर्न समुदायलाई आग्रह गरे।
बैठकका अध्यक्ष तथा नेपाल लोकतान्त्रिक थारु संघ कावासोती नगर कमिटीका अध्यक्ष देवेन्द्रकुमार गुरौले पनि अन्य कम्युनिष्ट दलहरूले भ्रम फैलाउन सक्ने भएकाले सूर्य चिन्हमै मतदान गर्न आह्वान गरे।
बैठकमा थारु संघका केन्द्रीय सदस्य पुष्परत्न महतो, जिल्ला सदस्य टंकराम थनैत, नेकपा (एमाले) कावासोती नगर कमिटी अध्यक्ष राजेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन थारु संघ कावासोती नगर कमिटीका सचिव टपेन्द्र महतोले गरेका थिए।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१