


कावासोती। स्थानीय तह स्थापना भएको करिब १० वर्षपछि विनयी त्रिवेणी गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणको औपचारिक सुरुवात गरेको छ। २०७३ साल फागुन २७ गते स्थापना भएको गाउँपालिकाले हालसम्म स्थायी प्रशासकीय भवन बनाउन नसकेको अवस्थामा गत आइतबार १० करोड ५८ लाख रुपैयाँ लागतको भवन निर्माण कार्यको शिलान्यास गरिएको हो।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले विधिवत् पूजा–आराधनासहित भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। स्थानीय तह स्थापना भएदेखि नै आफ्नै प्रशासकीय भवन निर्माण गर्ने योजना रहे पनि उपयुक्त सरकारी जग्गाको अभाव, सामुदायिक वनको जग्गा प्राप्तिसम्बन्धी कानुनी प्रक्रिया तथा स्रोत व्यवस्थापनका कारण अघिल्ला कार्यकालमा निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। आवश्यक प्रक्रिया पूरा भएपछि वर्तमान कार्यकालमा भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष गिरीका अनुसार भवन निर्माणको ठेक्का काठमाडौंस्थित बञ्जारा एण्ड कम्पनी प्रालिले प्राप्त गरेको छ। निर्माणका लागि २०८२ पुस २२ गते सम्झौता भएको थियो। भवन निर्माणका लागि संघीय सरकारबाट ५ करोड ४० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैयाँ तथा बाँकी रकम गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ।
हाल गाउँपालिकाले साविक गाविस भवनबाट सेवा प्रवाह गर्दै आएको छ। पर्याप्त कार्यकक्ष नहुँदा केही शाखा स्थानीय क्याम्पस तथा विद्यालयका कोठा भाडामा लिएर सञ्चालन गर्नुपरेको अवस्था रहेको अध्यक्ष गिरीले बताउनुभयो। उहाँका अनुसार प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाका सबै शाखा एउटै भवनबाट सञ्चालन हुनेछन्, जसले सेवाप्रवाहलाई थप व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउनेछ। निर्माण कार्य आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१