


नवलपुर। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको एकसिङ्गे गैँडाले धानबालीमा ठूलो क्षति पुर्याएपछि स्थानीय किसान चिन्तित बनेका छन्। धानबाली गैँडाले खाइदिने र कुल्चिएर नष्ट गरिदिएपछि किसानको वर्षभरिको मेहनत जोखिममा परेको हो। स्थानीय बुद्धराज विश्वकर्माका अनुसार निकुञ्जबाट गाउँमा प्रवेश गरेको गैँडाले असारमा रोपिएको धानबाली खाएर र कुल्चिएर नष्ट गरेको हो।
गैँडाले स्थानीय किसान टकबहादुर बयम्बु, लोकबहादुर बयम्बु, मीनबहादुर कुमाल, लिना कुमाल, रुमिसार खरु, सीता सोमै, रामबहादुर सोमै, गम्मरसिंह सोमै र धनकुमारी सोमैको धानबालीमा क्षति पुर्याएको छ । किसानका अनुसार धानबाली नष्ट हुँदा यस वर्षको उत्पादनमा उल्लेख्य कमी आउने अवस्था सिर्जना भएको छ। स्थानीय किसानहरूले बगुवन क्षेत्र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले गैँडा, हात्ती, बँदेल, हरिण र बाँदरलगायत जङ्गली जनावरका कारण हरेक वर्ष खेतीबालीमा क्षति बेहोर्नुपरेको गुनासो गरेका छन्। उनीहरूले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी उपाय अपनाउन तथा पीडित किसानलाई समयमै क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
गैँडाले पुर्याएको क्षतिबारे डिभिजन वन कार्यालय, गाउँपालिकाको कृषि शाखा तथा अन्य सरोकारवाला निकायलाई जानकारी गराइएको स्थानीयले बताएका छन्। प्राविधिक टोलीले क्षतिको स्थलगत निरीक्षण गरी यथार्थ विवरण सङ्कलन गर्ने तयारी भइरहेको जनाइएको छ। बगुवनसहित निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तु–मानव द्वन्द्व वर्षेनी दोहोरिने समस्या बन्दै आएको छ। स्थानीयवासीले वन्यजन्तुको संरक्षणसँगै किसानको जीविकोपार्जन र खेतीबालीको सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले विद्युतीय तारबार, वन्यजन्तु नियन्त्रणका दीर्घकालीन उपाय तथा क्षतिपूर्ति वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१